close

भारतीय टेलिकम कम्पनी जियोको स्वामित्व लिन खोज्दै फेसबुक

टेकपाना टेकपाना

चैत १४, २०७६ १८:१४

भारतीय टेलिकम कम्पनी जियोको स्वामित्व लिन खोज्दै फेसबुक

एजेन्सी । भारतीय दूरसञ्चार कम्पनी जियोको स्वामित्व लिन फेसबुक इच्छुक देखिएको छ । जियोको १० प्रतिशत स्वामित्व लिनेबारे हाल फेसबुकले कुराकानी थालेको फाइनाइन्सियल टाइम्सले लेखेको छ । 

पत्रिकाले उल्लेख गरे अनुसार उक्त डिल अर्बौं डलरको छ । बर्निस्टेनका विश्लेषकले जियोको मूल्य ६० अर्ब डलर रहेको विश्लेषण गरेका छन् । 

भारतका धनाढ्य मुकेश अम्बानीले सञ्चालन गरिरहेको जियोमा हालसम्म उनले २५ अर्ब डलर लगानी गरिसकेका छन् । 

जियोले सन् २०१६ को दोस्रो अर्धवार्षिकदेखि व्यवसायिक सेवा सुरु गरेको थियो । रिलायन्स जियोले टेलिकम बजारमा ६ महिनासम्म आक्रामक रुपमा फोरजी डेटा र भ्वाइस कल उपलब्ध गराएको थियो । 

जियोले आफ्नो सेवाको मूल्य घटाएपछि प्रतिस्पर्धी कम्पनी भोडाफोन र एयरटेलले पनि दबाबमा आफ्नो डेटा प्लान र मोबाइल ट्यारिफको मूल्य पुनरावलोकन गरेका थिए । 

तर ३७ करोड प्रयोगकर्ता बनाइसकेको टेलिकम सेवाप्रदायक जियोसँग ती दुई कम्पनीले प्रतिस्पर्धामा उत्रिन सकेनन् । तिनै प्रयोगकर्ता देखेरै फेसबुकले जियोको स्वामित्व लिने तर्फ आकर्षित भएको हो । 

पछिल्लो चौमासिकमा बाइटड्यान्सको टिकटकसँग भारतीय बजारमा प्रतिस्पर्धाको सामना गरिरहनु परेको फेसबुकले अहिले स्थानीय स्टार्टअपहरुमा रुची देखाउन थोलेको छ । 

गत वर्ष फेसबुकले सोसल कमर्श मेसोमा लगानी गरेको थियो । यस्तै गत महिना उसले एडटेक स्टार्टअप अनएकेडेमीमा चेक लेखेको थियो । तर यसबारेमा फेसबुक र जियो कसैले पनि कुनै आधिकारिक प्रतिक्रिया भने दिएका छैनन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६