close

यूभी लाइटबाट कोरोनाभाइरस मार्ने प्रविधि विकास गर्ने रुसको दाबी

टेकपाना टेकपाना

जेठ २५, २०७७ १५:५२

यूभी लाइटबाट कोरोनाभाइरस मार्ने प्रविधि विकास गर्ने रुसको दाबी

एजेन्सी । सूर्यको अल्ट्राभायोलेट (यूभी) रे अर्थात परावैजनी किरणबाट कोभिड १९ को उपचार गर्न रुसका वैज्ञानिकहरु नयाँ प्रविधिको विकासमा जुटेका छन् । रुसको सरकारी परमाणु संस्था  रोसाटमका एन्ड्रेइ गोभरडोभस्कीले शरीरको भित्रीभागमा रहेका कोरोनाभाइरसका कीटाणूलाई यूभी रेद्धारा मार्न सकिने प्रविधि विकास भइरहेको बताएका हुन् ।  

इन्स्टिच्युट अफ फिजिक्स एण्ड पावर इञ्जिनियरिङ आईपीपीईका भौतिकशास्त्रीहरुले सार्स कोभ टु भाइरस मेटाउन त्यस्तो प्रविधिको विकास गरिरहेका छन् । यो परियोजनालाई ‘लुमिनियस ग्याँस’ नाम दिइएको छ ।

‘अहिलेसम्म मानिसको शरीरभित्र यूभी रेबाट डिस्इन्फेक्सन अर्थात् कीटाणूरहीत गर्न सकिएको छैन । यसलाई कसरी सम्भव तुल्याउने भनेर हामी काम गरिरहेका छौं,’ गोभरडोभस्कीले भनेका छन्, ‘हामी यसका लागि मलिक्युल तथा ग्याँस तत्वहरुलाई प्रयोग गर्नेछौं । जब यो शरीरभित्र छिर्छ तब सक्रिय हुन्छ र यसले सिधै फोक्सोमा परावैजनी किरणलाई फ्याँक्छ । आशा छ, कोरोना भाइरससँगै यो प्रविधिबाट हामी क्षयरोग, क्यान्सर तथा अन्य रोगको पनि उपचार गर्न सक्नेछौं ।’

कोरोना भाइरसको उपचारमा परावैजनी किरणको प्रयोग गर्ने अवधारणा पहिलोपटक गत अप्रिल २३ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबाट आएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०