close

ह्याकर धेरै हुने ‘टप टेन’ मुलुकमा नेपाल

टेकपाना टेकपाना

असार १०, २०७७ २०:४१

ह्याकर धेरै हुने ‘टप टेन’ मुलुकमा नेपाल

काठमाडौं । वितेको केही समयता बग बाउन्टी प्लेटफर्म बगक्राउडमा नेपाली ह्याकरहरुको संख्या नाटकीय रुपमा बढेको छ । बग क्राउडले बुधबार सार्वजनिक गरेको ‘इनसाइड द माइण्ड अफ अ ह्याकर २०२०’ प्रति‍वेदनमा नेपाल टप टेन मुलुकभित्र पर्न सफल भएको हो । 

त्यसो त पछिल्लो समय दक्षिण एसियाका अन्य मुलुकमा समेत ह्याकरको संख्या उल्लेख्य रुपमा बढेको छ । अमेरिकालाई पछि पार्दै पहिलोपटक बग बाउन्टीमा छिमेकी मुलुक भारत पहिलो बनेको छ । 

३,४९३ ह्याकरहरु तथा मे २०१९ देखि अप्रिल २०२० को बीचमा भएका १,५४९ बगक्राउड भल्नरेबिलिटी डिस्क्लोजर प्रोग्रामबाट प्राप्त डेटाको विश्लेषणका आधारमा प्रतिवेदन तयार पारिएको हो । यसक्रममा ७७ लाख पटक अन्तरक्रिया भएको थियो ।

प्रतिवेदनअनुसार गत वर्षको तुलनामा भारतीय बग हन्टरहरुको संख्या ८३ प्रतिशतले बढेको पाइएको छ । यसले भारतको छविलाई इन्फरमेसन सेक्युरिटी रिसर्चको क्षेत्रमा विश्व  लिडरको रुपमा स्थापित गराएको छ ।

भारतले अमेरिकालाई यस पटक पछि पारेको छ । १० प्रतिशत बगक्राउड प्रयोगकर्ताको संख्यामा सीमिति भएको अमेरिका पहिलोपटक दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ । 

‘यस्तो उल्लेखनीय गिरावटले अमेरिकी सेक्युरिटी रिसर्चर ह्याकरहरुको संख्या घटेको संकेत गर्दछ । तर डेटाले भारतीय ह्याकरहरुको संख्या भने अन्य मुलुकको तुलनामा छिटो बढिरहेको पाइएको छ । 

यो सूचीको शिर्ष पाँचमा पर्ने अन्य मुलुकमा क्रमश: पाकिस्तान, बंगलादेश र इन्डोनेशिया परेका छन् । यस्तै वेलायत छैठौं स्थानमा, इजिप्ट सातौं, अष्ट्रेलिया आठौं स्थानमा, नेपाल नवौं र जर्मनी १० औं स्थानमा पर्न सफल भएका छन् ।

बगक्राउडले सो परिणाम घोषणा गर्दैगर्दा यसले २०१९ मा मात्र करिब ८ अर्ब ९० करोड डलर बराबरको साइबर अपराधलाई रोकथाम गरेको अनुमान गरेको छ । 

बगक्राउडको प्लेटफर्ममा सेक्युरिटी रिसर्चरहरु कहाँ लाइभ छन् भनेर ट्रयाक गर्नुका साथै ह्याकरलाई परिभाषित गर्ने कारक तत्वमाथि पनि गहिरो विचार गर्ने लक्ष्य लिइएको छ । 

बगक्राउडका संस्थापक तथा प्रमुख प्राविधिक अधिकृत- सीटीओ चेस्सी एलिसले ह्याकरको नाममा रचिएका अध्याँरो कोठामा हुक लगाएको व्यक्तिको कथालाई समेत कम्पनीले मेट्न चाहेको बताए ।

एउटा रोचक कुरा यो सर्वेक्षणबाट के थाहा हुन आएको छ भने सर्वेक्षणमा सहभागी करिब ५३ प्रतिशत ह्याकरहरु २४ वर्ष मूनीका युवाहरु थिए । यस्तै ४१ प्रतिशतहरु नयाँ थिए, जो बगक्राउड प्लेटफर्ममा जोडिएको १२ महिनाभन्दा कम समय मात्र भएको थियो ।

ती ह्याकर मध्ये १३ प्रतिशतमा न्युरोडाइभर्सको रोग थियो । न्युरोडाइभर्स एउटा वृहत शब्द हो, जसभित्र अटेन्सन डिफिसिट हाइपर्‍याक्टिभ डिसअर्डर र अटिज्म जस्ता रोगहरु पर्छन् । 

एलिस भन्छन्, ‘करिब ६ प्रतिशत न्युरोडाइभर्सले एडीएचडीको सामना गरिरहेका छन् र उनीहरु सेक्युरिटी रिसर्च जस्तो तीब्र गतिमा परिवर्तन हुने क्षेत्रमा प्रगति गर्न सक्न् । बक्स बाहिरको सोच्न सक्ने उनीहरुको सिर्जनशिलतालाई सम्मान गरिएको छ ।  ’

कस्तो संस्था हो बग क्राउड ?

बगक्राउड एउटा क्राउड सोर्स प्लेटफर्म हो । क्राउड सोर्स सेक्युरिटी र साइबर सेक्युरिटी रिसर्चरहरुलाई व्यवसायिक मोडलको मूख्य कडीको रुपमा अंगाल्ने र सदुपयोग गर्ने यो पहिलो कम्पनी हो ।

२०११ मा स्थापना भएको यो कम्पनी २०१९ सम्ममा आइपुग्दा विश्वकै सबैभन्दा ठूलो बग बाउन्टी र साइटहरुको भल्नरेबिलिटी पत्ता लगाउने इन्टनेट विश्वको सबैभन्दा ठूलो कम्पनी बनेको थियो । 

बग बाउन्टी भनेको के हो ?

बग बाउन्टी भनेको कुनै पनि कम्प्युटर प्रोग्राम वा सिस्टममा इरर वा कमजोरी पत्ता लगाउने साइबर सुरक्षाकर्मीलाई प्रदान गरिने पुरस्कार हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१