close

टेलिकमको सर्भर ह्याक गर्ने कम्प्युटर अपरेटर पक्राउ

टेकपाना टेकपाना

साउन १, २०७७ १५:५०

टेलिकमको सर्भर ह्याक गर्ने कम्प्युटर अपरेटर पक्राउ

काठमाडौं । नेपाल प्रहरी अन्तर्गतको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल टेलिकमको मोबाइल एपको सर्भर सिस्टम ह्याक गर्ने व्यक्तीलाई पक्राउ गरेको छ । नेपाल टेलिकमको प्याकेज प्रयोग तथा बिक्री समेत गरी आर्थक लाभ लिएर कम्पनीलाई हानिनोक्सानी पुर्‍याएको भन्दै सीआईबीले धनकुटाकुटाका दिवाकर देउजालाई पक्राउ गरेको हो ।

 कम्पनीको राजस्व तथा व्यावसायिक छवीमा समेत गम्भीर क्षति पुर्‍याएको भन्दै नेपाल टेलिकमले गत असार १२ गते कारबाहीका लागि ब्यूरोमा पत्र पठाएको थियो । सीआईबीको अनुसन्धानको सिलसिलामा ह्याकरले अनट्रेसेबल इन्टरनेट प्रविधिको प्रयोग गरी अनधिकृत रुपमा टेलिकमको सर्भर प्रणालीमा पटक-पटक पहुँच बनाएको देखिन आएको बताइएको छ ।

प्राप्त सबुत प्रमाण र डिजिटल इन्टेलिजेन्सको माध्यमबाट उक्त कार्यमा संलग्न रहेका धनकुटा, पाख्रिबास नगरपालिका स्थायी घर भई हाल धनकुटा नगरपालिका वडा नम्बर ४ मा बस्दै आएका देउजालाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

पक्राउ परेका देउजा सहरी विकास तथा भवन कार्यालय, धनकुटामा कम्प्यूटर अपरेटर पदमा कार्यरत रहेको बताइएको छ । सीआईबीका अनुसार असार ३१ गते धनकुटाबाट पक्राउ परेका २८ वर्षिया देउजालाई विद्युतीय कारोवार ऐन २०६३ अनुसार आवश्यक कारबाही प्रकृया अगाडि बढाउनका लागि बुधबार नै नेपाल प्रहरी साइबर ब्यूरोमा पठाइएको छ ।

उनको साथबाट दुई थान ल्यापटप, दुई थान मोबाइल समेत बरामद गरिएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४