close

जहाँ पुनः जीवित हुने आशामा जम्मा गरिएका छन् १७० भन्दा धेरै लास

टेकपाना टेकपाना

साउन १२, २०७७ १६:२३

जहाँ पुनः जीवित हुने आशामा जम्मा गरिएका छन् १७० भन्दा धेरै लास

काठमाडौं । एकछिन सोच्नुहोस् त, हामी अल्पायुमै मर्दैछौं । मृत्युबाट जोगिने उपाय के होला ? हामीले मिलेर मृत्युलाई झुक्याउन सक्यौं भने क‍स्तो होला ? 

हामीलाई केही समयमा फ्रिज गरेर सम्पूर्ण समस्या अन्त्य भइसकेपछि बाहिर ल्याउँदा के होला ?  मानिसको शरीरलाई कायोस्लिप (एकदमै चिसो तापमानमा मानिसको शरीरलाई राखेर संरक्षण गर्ने तरिका) मा राखेको हामी धेरैले साइन्स फिक्सनमा देख्दै आइरहेको विषय हो । 

हान सोलो कार्बोनाइटमा ट्र्याप भएको होस् वा क्याप्टेन अमेरिका आइसमा फ्रिज भएको, यस्ता दृश्य हामीले फिल्महरुमा देख्दै आइरहेका छौं । तर वास्तविक जीवनमा के हुन्छ ? के हामी कायोनिक्स प्रविधिको शक्तिबाट मृत्युलाई परास्त गर्न सक्छौं होला त ?

यो प्रश्नको सम्भावित उत्तर अमेरिकाको एरिजोना राज्यको स्कटडेटमा पाउन सकिन्छ । एलकोर लाइफ एक्स्टेन्सन फाउण्डेसन, कायोनिक्स प्रविधिको क्षेत्रमा स्वघोषित वर्ल्ड लिडर हो । केही लाख डलरको मूल्यमा एलकोरले मृत्यु भइसकेका मानिसहरुलाई दोस्रो जीवनको अवसर बिक्री गरिरहेको छ ।

एलकोर टिमले अहिले १७० लासहरुको हेरचाह गरिरहेको छ, जो जीवनको त्यो दोस्रो अवसरको पर्खाईमा छन् । यहाँ संरक्षण गरिएका सबै मृत शरीरहरु एकपटक क्लिनिकल्ली मृत घोषित भइसकेका छन्  । तर एल्कोरले यसलाई एउटा प्राविधिक प्रक्रिया मात्र भन्ने गरेको छ ।  

एलकोर लाइफ एक्स्टेन्सन फाउन्डेसनकी संस्थापक लिण्डा च्याम्बरलियन भन्छिन्, ‘हामीले अनुमान गरेका छौं कि पचासदेखि सय वर्षको अवधिमसम्ममा हाम्रा बिरामीहरुको शरीरलाई स्वस्थ र कार्यमूलक रुपमा पुनर्जीवित गर्न आवश्यक पर्ने मेडिकल प्रविधि हामी तयार पारिसक्नेछौं ।’

एलकोरले आफ्ना सेवाग्राहीलाई शव भन्दैन, पेसेन्ट (बिरामी) भन्ने गर्दछ । अस्पतालमा जस्तै यी सम्पूर्ण बिरामीहरु भविष्यमा स्वस्थ भएर पुनर्जीवित हुनेछन् भन्ने उसको अपेक्षा छ । 

एलकोरमा जब कुनै शव ल्याइन्छ, तब उनीहरुको जीवित फर्किन सक्ने सम्भावना बढाउन एउटा प्राविधिक प्रक्रियामा उनीहरुलाई लगिन्छ । उनीहरुलाई विभिन्न रसायन तथा ड्रग्सहरुको माध्यमबाट उपचार गरिन्छ र भविष्यमा एक दिन पुनर्जीवित हुने आशामा लिक्विड नाइट्रोजनले भरिको बडेमानको स्टिल ट्यांकमा माइनस १९६ डिग्री सेल्सियसको तापमानमा राखिन्छ ।

एलकोर फाउन्डेसनका कर्मचारी र कार्यालय सामान्य छन् । तर त्यो भवनको बीचको भागमा सबैभन्दा आश्चर्यजनक चीज छ, जुन कुनै पनि व्यक्तिले आफ्नो जीवनमा कहिल्यै देखेका छैनन् । त्यहाँ धेरै स्टेनलेस स्टिलको ट्यांक छन्, जसमा १७० भन्दा धेरै मृत मानिसहरुको शरीर र टाउको फ्रिज गरेर राखिएको छ ।

ती प्रत्येक ट्यांकमा  करिब नौ जना मृत शरीर राखिन्छ । जसमा चारवटा होल बडी पेसेन्ट (पूर्ण शरीर भएका शव) र बीचमा र्‍याक बनाएर पाँचवटा न्युरो पेसेन्ट राखिन्छ । न्युरो पेसेन्ट ती हुन्, जो आफ्नो टाउकोलाई मात्र प्रिजर्भ (संरक्षण) गरेर राख्न चाहन्छन् ।

न्यूरो पेसेन्टका लागि त्यहाँ होल बडी पेसेन्टको तुलनामा सस्तो मूल्यमा स्पेस (स्थान) पाइन्छ । ती ट्यांक र क्यानको बाहिरपट्टी पेसेन्टको पहिचान खुलाइएको हुन्छ । 

ती भेसल ट्यांकहरुलाई डुवर भनिन्छ । यी टयांकहरु कस्टम डिजाइन ट्यांक हुन्, जुन लिक्वीड नाइट्रोजनले भरिएका हुन्छन् । लिक्वीड नाइट्रोजन र कम्प्युटर कन्ट्रोलको मद्दतले भित्र राखिएका शरीरलाई संरक्षण गरिन्छ । यी ट्यांकहरुले एलकोरका पेसेन्टलाई दशकौंसम्म संरक्षण गरेर राख्दछन् ।

ब्याकअप जेनेरेटरबाट कम्प्युटर सञ्चालन भइरहने हुँदा विद्युत नहुँदाको अवस्थामा समेत यसको काममा कुनै अवरोध उत्पन्न हुँदैन । यो प्रविधिलाई हेर्दा धनाढ्य अर्बपतिहरुले मात्र यसको सेवाका लागि साइनअप गर्छन्, भन्ने लाग्न सक्छ ।

तर जब एलकोरको भित्ता हेरिन्छ, तब त्यहाँ एकदमै सामान्य सर्वसाधारणले यो सेवाका लागि साइनअप गरेको देख्न सकिन्छ । अहिलेसम्म १२ सयभन्दा धेरैजनाले एलकोरको सेवाका लागि साइनअप गरिसकेका छन् । 

hta-cryo-refill
तस्वीरः सीनेट

फाउण्डेसनकी संस्थापक लिण्डा च्याम्बरलियनका श्रीमान् पनि यो कूलिङ डूवरमा राखिएका छन् । तर कायोनिकभित्र प्रवेश गर्ने पहिलो व्यक्ति भने जेम्स बेडफोर्ड हुन् । उनलाई एल्कोर स्थापना हुनुभन्दा पाँच वर्ष अघि अर्थात सन् १९६७ मा कायरोक्याप्सुलभित्र राखिएको हो ।

कायोनिकभित्र प्रवेश गर्ने पहिलो व्यक्ति जेम्स बेडफोर्डः तस्वीर सीनेट

 कायोनिक्स पछाडिको विज्ञान पूर्णरुपमा अप्रमाणीत नै छ । यो एउटा प्रयोग भइरहेको विज्ञान हो । विज्ञहरुका अनुसार मानिसको मस्तिष्कलाई संरक्षण गर्ने कुनै पनि उपयुक्त माध्यम वा विधि छैन, जसले शरीरको जैविक अन्त्यलाई रोक्न सकोस् । संस्थापक च्याम्बरलियन भन्छिन्, ‘वैधानिक मृत्युको अर्थ तपाईंको फोक्सो र मुटुले कुनै पनि हस्तक्षेपबिना काम गर्न छोड्यो भन्ने हो ।

तर यति हुँदैमा तपाईंको शरीरका कोशिका र अन्य अंगहरुले काम गर्न छाडेका हुँदैनन् । ३०, ४० वर्ष अघि मानिसहरुले मृत्युलाई एउटा अन अफ स्वीच भन्ने गर्दथे । तर पछिल्लो समय मानिसहरले बुझ्न थालेका छन् कि, यो एउटा प्रक्रिया हो । शरीरको पूर्णरुपमा अन्त्य हुन समय लाग्छ ।’

वियर्ड साइन्स (अचम्मको विज्ञान)

यदि तपाईंको शरीरलाई मृत्युपछि चाँडोभन्दा चाँडो संरक्षण गरियो भने भविष्यमा विज्ञानमा सुधार आएपछि यो शरीर बिउँतिन सक्दैन भन्ने सकिने कुनै कारण हुँदैन । तर यो प्रक्रिया कुनै शवलाई नाइट्रोजन लिक्वीडले भरिएको ट्यांकमा राख्नु जस्तो सजिलो भने छैन ।

यसका लागि मृत मानिसको मस्तिष्क र शरीरलाई सकेसम्म कुनै क्षति नहुने गरी संरक्षण गर्न आवश्यक छ । जब कुनै पेसेन्टलाई एल्कोरमा ल्याइन्छ,  तब उनीहरुलाई कानूनी रुपमा मृत घोषित गरिसकिएको हुन्छ ।

त्यसपछि उनीहरुलाई स्टेबलाइजेसनका लागि एल्कोरको फेसिलिटीमा राखिन्छ । एलकोरका सुविधाहरु अस्पताल र शवगृहको समायोजन गरेर बनाइए जस्ता छन् । पेसेन्टको कति समय अघि मृत्यु भएको हो, त्यसअघि आइसमा राखिएको थियो वा थिएन भन्ने कुरामा यसको सुरुवाती प्रक्रिया निर्भर हुन्छ ।

मृत्यु हुनेबित्तिकै सकेसम्म छिटो शरीरलाई आइसमा राख्नुपर्छ । मृत्यु हुने प्रक्रियालाई ढिलो बनाउन हाइपोथर्मिया (शरीरको ताप घटेर जानु) महत्वपूर्ण हुन्छ )।

तर यसको उद्देश्य भनेको शरीरलाई चाँडोभन्दा चाँढो चिस्याउनु हो र त्यसका लागि एक किसिमको पोस्ट डेथ लाइफ सपोर्टमा लगिन्छ । यो प्रक्रियाको सबैभन्दा पहिलो चरण भनेको आइस बाथ हो ।च्याम्बरलियन भन्छिन्, ‘पेसेन्टलाई आइस बाथमा राखिन्छ र टुक्रा आइसले छोपिन्छ । 

फोक्सोलाई निरन्तर चलायमान राख्न इन्ट्युबेट गरिन्छ र रगतमा अक्सिजन दिन मेकानिकल थम्परलाई पेसेन्टको छातीमा राखिन्छ । ता कि रगत पुनः सञ्चार हुन सकोस् । संरक्षण गर्ने औषधीहरु शरीरभित्र पुर्‍याउन पनि यो आवश्यक हुन्छ । ’ मेटाबोलिक प्रक्रियालाई ढिलो गराउन ओषधीहरु पनि शरीरभित्र राखिन्छ ।

 तर वास्तविक एक्सन भने अपरेटिङ रुममा हुन्छ । मृत शरीरलाई भण्डारण ट्यांकको तापमानमा झारिन्छ । त्यसपछि शरीरलाई कायोप्रोटेक्सनका लागि राखिन्छ । त्यहाँ सर्जनहरुले पेसेन्टको नसाबाट रगत पम्प गरेर बाहिर निकाल्छन् र त्यसको साटो कायोप्रोटेक्टेन्ट राख्ने गर्छन् । 

मानिसको शरीरभित्र पानीको मात्रा ५० देखि ६० प्रतिशतसम्म हुन्छ । जब त्यो पानी फ्रिज हुन थाल्छ, तब यसले शरीरमा आइस क्रिस्टल फर्म गर्छ, जसले शरीरको अंग र नसामा क्षति पुर्‍याउँछ । तर कायोप्रोटेक्टेन्टले बिस्तारै शरीरको तापमानलाई घटाउँदै लैजान्छ र  यसले शरीरभित्रको तत्वलाई ग्लास जस्तो स्टेटमा परिणत गरिदिन्छ । यसरी शवलाई लिक्वीड नाइट्रोजनको ट्यांकमा दशकौंसम्म राख्न सकिन्छ । 

शरीरलाई चिस्याउन ६ देखि १२ घण्टासम्मको समय लाग्छ र त्यसमा कायोप्रोटेक्टेन्ट राखेर लामो समयसम्मको प्रिजर्भेसनका लागि तयार गरिन्छ । तर टाउकोका लागि मात्र यसो गरिंदैछ भने धेरै समय लाग्दैन । 

 टाउकोमात्र किन प्रिजर्भ (संरक्षण) गरिन्छ ?

एलकोर मस्तिष्कलाई इन्ट्याक्ट (क्षतिग्रस्त नभएको) राख्न चाहन्छ ।  ता कि पेसेन्टको स्मृति र व्यक्तित्व उस्तै रहिरहोस् । प्रविधि विकास भएपछि त्यो मस्तिष्कमा धेरै कुरा अपलोड गरेर विकास वृद्धि हासिल गर्न सकियोस् ।

नयाँ शरीर त यत्तिकै पनि विकास गर्न सकिन्छ । शरीर र टाउकोबाट ९९  प्रतिशत पानी निकालिसकेपछि पेसेन्टको शरीर बिस्तारै माइनस १९६ डिग्री सेल्सियसमा चिस्सिन थाल्दछ । त्यहाँबाट उनीहरुलाई लङटर्म केयर रुममा पठाइन्छ । 

ग्याँसको हुस्सु र मृत शरीरहरुले भरिएको यो कोठा कुनै समाधिस्थलभन्दा फरक छैन । यी मानिसहरु पुनः फर्केर जीवनमा आउँछन् भन्ने कुरा विश्वास गर्न सबैलाई गाह्रो हुन्छ । 

एलकोरका पूर्व सदस्य तथा न्यूरोलोजिस्ट हुन्, केनेथ हेवर्थ  । उनले न्यूरोसाइन्समा विद्यावारिधि गरेका छन् । उनले   कायोनिक्स कम्युनिटीलाई चुनौती दिन उनले ब्रेन प्रिजर्भेसन प्राइजको स्थापना गरेका छन् ।

मस्तिष्कलाई क्षति नपुर्‍याई संरक्षण गर्नका लागि उनले उक्त पुरस्कार स्थापना गरेका हुन् । तर हालसम्म कसैले पनि पुरस्कार पाउन योग्य काम गर्न सकेका छैनन् । यसको परिणाम अपेक्षाकृत आउनेमा उनी संशय व्यक्त गर्छन् । मेमोरी इन्कोड गर्ने संरचनाहरुमा क्षति पुग्न सक्ने उनी बताउँछन् । 

तर यदि भविष्यमा मृत्युदेखि बिउँतिने एउटा मात्र उपाय कायोनिक्स हो भने यसमा गर्नका लागि अझैं एउटा आशा जीवित छ । हेइवर्थका अनुसार उनले न्युरल कनेक्सनलाई क्रियाशिल राख्न मस्तिष्कलाई संरक्षण गर्ने एउटा विधिमा प्रमाणीकता देखेका छन् ।

जुन प्रविधिलाई एल्डेहाइड स्टेबलाइज्ड कायोप्रिजर्भेसन भनिन्छ । यसको अर्थ भविष्यमा तपाईंले त्यो मस्तिष्कलाई स्क्यान, अपलोड वा सिमुलेट गर्न सक्नुहुन्छ । तर व्यक्ति जीवित हुँदै तपाईंले यो काम गर्नुपर्छ । यो विधिबाट व्यक्तिको मृत्यु हुन्छ । यो समाधान होइन । खोजी यहीँ टुंगिदैन । 

न्यूयोर्कस्थित कोलम्बिया युनिभर्सिटीको न्यूरोसाइन्स डिपार्टमेन्टमा थ्यौरिटिकल न्यूरोसाइन्सका प्राध्यापक केन मिलर कायोनिक्स एउटा सपना मात्र भएको बताउँछन् । मानव मस्तिष्कले कसरी काम गर्छ भन्ने कुरा मानिसहरुले बुझ्न अझैं धेरै बाँकी रहेको उनको भनाई छ । 

त्यसकारण यसलाई संरक्षण गर्नु र यसलाई पुनर्जीवित तुल्याउनु धेरै टाढाको कुरा भएको उनको तर्क छ । न्यूरनले कसरी काम गर्छ भनेर बुझ्न अझैं हजार वर्ष लाग्ने उनको आँकलन छ । यसमा धेरै तहहरु छन् । यो कल्पनाभन्दा बाहिरको कुरा हो । 

तर मानव मस्तिष्कको जटिलताबारे प्राध्यापक मिलरले जुन कुरा बताए, त्यसको जवाफमा एलकोरका सीईओ फरक धारणा राख्छन् । उनी भन्छन्, ‘राम्रो अवस्थामा तपाईंलाई कायप्रिजर्भ गरियो भने आज तपाईंलाई जे कुराले तपाईं बनाएको छ, भविष्यमा त्यसलाई फिर्ता ल्याउन सकिन्छ भन्ने मेरो विश्वास छ  ।

जहाँसम्म यो मस्तिष्कको संरचनालाई उस्तै राख्ने कुरा छ, हामी एक विन्दुमा आएर त्यसलाई रिस्टोर गर्नसक्छौं भन्ने मलाई लाग्छ । यसले भौतिकशास्त्रको कानूनलाई उल्लंघन गरेको छैन । यो समय र राम्रो प्रविधिको कुरा हो ।’ 

कायोनिक्स त्यस्तो सस्तो भने छैन । फूल बडीका लागि दुई लाख २० हजार डलर र न्यूरो प्रिजर्भेसनका लागि ८० हजार लागत लाग्छ । आशा र सम्भवनाकै लागि यति धेरै तिर्नु सबैका लागि सम्भव छैन । 

तर, चिहानमा शरीरलाई किराहरुको आहारा बनाउनुभन्दा कायोनिक्सको सम्भवनामाथि आशा राखेर फ्रिजमा बस्नु नै फाइदाजनक होला कि !

सीनेटबाट अनुदित सामग्री

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०