गूगलका नेपालीः जसले कोर्दैछन् नेपालको नयाँ नक्सा

काठमाडौं । नेपालमा धेरै सम्भावना बोकेका ठाउँहरु प्रशस्तै छन् । तर यी ठाउँहरुले ग्लोबल एक्सपोजर पाउन भने सकिरहेका छैनन् । यी ठाउँहरुलाई विश्वमाझ प्रस्तुत गर्न सकियो भने यसले देशको अर्थतन्त्रमा नै ठूलो मद्दत पुर्‍याउन सक्छ । 

घुमफिर वा काम विशेषले हामी त्यस्ता विभिन्न ठाउँहरुमा पुगिरहेका हुन्छौं । त्यहाँका फोटोहरु फेसबुक र इन्स्टाग्राम जस्ता प्लेटफर्ममा शेयर गर्छौं । इन्स्टाग्राम र फेसबुकमा शेयर गर्दा तपाईंको नेटवर्कमा भएका सीमित व्यक्तिहरुले मात्र यी ठाउँहरुको बारेमा थाहा पाउन सक्छन् ।

तर तपाईंले विकिपेडिया र गूगलले दिएको ग्लोबल प्लेटफर्ममा यस्ता कुराहरु अपलोड गर्नु भयो भने त्यसको भिजिबिलिटी विश्वव्यापी हुन्छ । यसबाट नेपालका ठाउँहरुले ग्लोबल कभरेज पाउन सक्छन् । 

अर्कोतर्फ हामीले गूगलमा प्रयोग गर्ने गूगल ट्रान्सलेसन तथा भ्वाइस असिस्टेन्ट टूलहरुले राम्रोसँग नेपाली भाषा बुझ्न सकिरहेका हुँदैनन् । कतिपयले सुरुमा अंग्रेजीलाई हिन्दीमा अनुवाद गरी त्यसबाट नेपालीमा अनुवाद गरेर काम चलाइरहेका छन् । 

भ्वाइस असिस्टेन्ट टूलमा ‘हेलो गूगल’ भनेर कुनै कामको लागि अंग्रेजी भाषामा कमाण्ड दिदाँ गूगलले तत्काल त्यसलाई शिरोपर गर्दछ । तर नेपाली भाषामा यो सम्भव छैन । 

हामीले गूगलका सामग्रीहरु निःशूल्क प्रयोग गर्न पाइरहेका हुन्छौं । त्यसलाई अझ सुधार गरेर लैजान सक्ने क्षमता, अधिकार र जिम्मेवारी गूगलले हामीमाथि नै छाडेको हुन्छ । गूगलले तपाईंको स्थानीय भाषा, देशको तस्वीरलाई आफ्ना कर्मचारी खटाएर संकलन गरी तपाईंका लागि उपलब्ध गराउँदैन । 

प्रयोगकर्ताहरुले नै गूगललाई प्राथमिकतामा राखेको खण्डमा उसले पनि त्यसैगरी महत्व दिँदै जान्छ । अहिलेको समयमा सबैजसो मानिसहरु आफ्नो आवश्यकता पुरा गर्न गूगल सर्चमै निर्भर छन् । 

तर तपाईंले खोजेको कुरा सबै सधैं गूगलमा पाउन सकिन्छ भन्ने ग्यारेन्टी भने हुँदैन । तपाईंले त्यति मात्र कुरा गूगलमा पाउन सक्नुहुन्छ, जति कुरा तपाईं जस्तै अन्य प्रयोगकर्ताहरुले गूगलमा फीड गरेका हुन्छन् । 

गूगलले यति धेरै जानकारी कहाँबाट संकलन गर्छ होला ? कसरी प्रशोधन गर्छ होला ? यस्ता प्रश्न तपाईंको मनमा स्वभाविक उठ्न सक्छ । त्यसका लागि तपाईंले गूगलले सूचना संकलन गर्ने विधिबारे थाहा पाउनु पर्ने हुन्छ ।

गूगलले यी अथाह जानकारी तथा सूचनाहरु क्राउडसोर्सिङ विधिबाट संकलन गर्दछ ।  गूगलको पहुँच विश्वभर नै छ । संसारभर छरिएका गूगलका प्रयोगकर्ताहरुले नै आफ्नो आफ्नो ठाउँबाट आफूले जानेका र सिर्जना गरेका जानकारीहरु विभिन्न एपको माध्यमहरुबाट गूगलको सर्च इंजिन र असिस्टेन्ट टूल्सहरुमा फीड गर्छन् । 

वास्तवमा यस किसिमको योगदान समुदायस्तरबाट हुने गर्दछ । विश्वका सबैजसो मुलुकमा गूगल कम्युनिटी भनिने यस्ता समुदायहरु सक्रिय छन् । गूगलका विभिन्न टूल्स तथा असिस्टेन्सहरुमा स्वेच्छाले योगदान दिन चाहनेहरु यस्ता समुदायमा आबद्ध भएर समूहगत रुपमा सक्रिय हुन सक्छन्  ।

व्यक्तिले फीड गरेका जानकारी तथा विवरणहरु समुदायभित्रकै सदस्यहरुले भेरिफाई गरेर सच्याउने काम गर्दछन् । नेपालमा पनि यस्ता समुदायहरु सक्रियरुपमा क्रियाशिल छन् । यी समुदायहरुले विभिन्न टूल्स तथा प्लेटफर्मका लागि धेरै किसिमका योगदान दिने गरेका छन् ।  

No description available.
गूगल क्राउडसोर्स कम्युनिटी नेपालका स्वयम्‌सेवी

अहिले नेपालमा पनि गूगल र ओपनसोर्स टेक्नोलोजीमा काम गर्ने धेरै क्लब र कम्युनिटी छन् । यीमध्ये गूगल डेभलपमेन्ट ग्रुप (काठमाडाैं, वीरगञ्ज, दाङ) , गूगल बिजनेश ग्रुप, गूगल डेभलपर एक्सपर्ट, गूगल लोकल गाइड, गूगल क्राउडसोर्स, वुमेन टेकमेकर्सजस्ता कम्युनिटीले सक्रिय रुपमा गूगल सर्च इंजिन तथा असिस्टेन्टहरुमा योगदान दिनुका साथै गूगल प्लेटफर्म प्रयाेग गरी व्यापार व्यवसाय फस्टाउन प्राेत्साहन गरिरहेका छन् । 

यस्ता कम्युनिटीहरुमा गूगल र ओपन सोर्स टेक्नोलोजीलाई माध्यम बनाएर काम गर्न चाहने जोसुकै आबद्ध हुन सक्छन् । लामो समयदेखि गूगल टेक्नाेलाेजीमा काम गरिरहेका र नेपालका लागि गूगलकाे इन्जिनियरिङ कन्सल्ट्यान्टसमेत भएर काम गरेका सरोज ढकाल यस्ता कम्युनिटीहरुको संख्यासँगै स्वेच्छाले आउने नेपाली युवाहरुको संख्या बढेकोमा खुशी व्यक्त गर्छन् ।

No description available.

‘नेपालमै बसरे क्वालिटी काम गर्ने व्यक्ति र बिजनेशहरु धेरै छन् । वार्षिक रुपमा आईटीसम्बन्धी कामहरु पनि बढ्दै छ । यसले गर्दा गूगल कम्युनिटीहरुमा रही याेगदान गर्न चाहनेहरुकाे संख्या पनि बढिरहेकाे छ,’ उनले भने ।

गूगलमा काम गर्नुअघि पनि यस्ता कम्युनिटीमा क्रियाशील थिए उनी । त्यतिबेला गूगल लोकलाइजेशन, गूगलमा नेपाली टाइपङि, नेपाली भ्वाइस रिकग्निसन, गूगल म्यापमा काठमाडौंको डेटा दर्ता लगायतको काम भएको उनले सुनाए ।

पछिल्लाे समय गूगलकाे एक कम्युनिटी गूगल लोकल गाइड नेपालले देशका हरेक कुना कन्दाराका नक्सा, लोकेसन र त्यस्ता ठाउँका फोटोहरुलाई गूगल म्यापमा चढाउन सहयाेग गरिरहेकाे छ । यस्तै गूगल क्राउडसोर्स कम्युनिटीले तस्वीर, भ्वाइस असिस्टेन्ट, गूगल ट्रान्सलेसन आदिलाई सपोर्ट गर्न डेटा फीड गर्ने काम गरिरहेकाे छ। 

नेपालमा यी दुवै कम्युनिटीको सुरुवात गर्ने श्रेय निरज भुसाल लगायतलाई जान्छ । निरज गूगल लोकल गाइड कम्युनिटी नेपालका संस्थापक, गूगल डेभलपर कम्युनिटी दाङका संस्थापक तथा गूगल क्राउडसोर्स नेपालका इन्फ्ल्युएन्सर हुन् ।

निरज भुषाल

यो समुदायले गूगल कम्युनिटीमा दर्ता भएर गूगलबाट आधिकारिक सम्बन्धन समेत पाइसकेको छ । विश्वभर मुलुकलाई चिनाउन र ग्लोबल प्लेटफर्ममा नेपालका विवरण र जानकारीहरु फीड गरेर लोकलाइज गर्न आफूहरुले यो कम्युनिटीको सुरुवात गरेको निरज सुनाउँछन् ।  

कनेक्टिभिटीको अहिलेको युगमा गूगलमा लोकल डेटालाई फीड गर्नु भनेको गूगल जस्तो ग्लोबल प्लेटफर्मको असिस्टेन्ट टूल्समा नेपाललाई समृद्ध बनाउनु हो । सांस्कृतिक विविधताको परिणामस्वरुप देखा परेको सञ्चार अवरोधलाई गूगल क्राउडसोर्सले घटाउन मद्दत गर्ने उनको विश्वास छ । 

गूगलका यी सपोर्ट टूलहरुमा अहिले नेपालको अवस्था क्रमशः सुधार हुँदै गइरहेको निरजको अनुभव छ । अहिले नेपालमा लोकल गाइडतर्फ करिब २० हजार योगदानकर्ता र गूगल क्राउडसोर्समा पनि थुप्रै स्वयम्‌सेवीहरु सक्रिय छन् ।

यी स्वयम् सेवकहरुले गूगलको म्यापमा नेपालभित्रका ठाउँहरुको लोकेसन तथा तस्वीर फीड गर्ने तथा भ्वाइस असिस्टेन्ट, ट्रान्सलेसन जस्ता टूलहरुमा नेपाली भाषाको शुद्धता बढाउने, तस्वीर र युट्युव सामग्रीहरु फीड गर्ने जस्ता कामहरु गरिरहेका हुन्छन् ।  

‘हामी गूगल म्याप चलाउँछौं । त्यसको एक्युरेसी बढाउन ब्याकईण्डमा बसेर कम्युनिटीले काम गर्छ, ‘निरज भन्छन्, ‘ ‘कुनै ठाउँको विवरण हुन्छ, तर फोटो हुँदैन । कुनै ठाउँको विवरण नै गलत हुन्छ । त्यस्ता कुराहरु लोकल गाइडहरुले बनाउँछन् ।

जस्तै नयाँ ठाउँमा जाँदा गूगल म्यापमा त्यो ठाँउ देखिएन भने त्यसको एड प्लेस (स्थानलाई थप्ने) गरिदिन्छौं र गलत विवरणलाई हटाइदिन्छौं । गूगल म्यापमा प्रोफाइल हुन्छ । त्यसभित्र रहेको कन्ट्रिब्यूट ट्यावमा क्लिक गरियो भने ज्वाइन्ट प्रोग्राम खुल्छ । त्यसमा कन्ट्रिब्यूट लेभल हुन्छ । जसमा तपाईंले गरेको सबै योगदान त्यसमा देखिन्छ ।’ 

लोकल गाइडहरुको एउटा फोरम लोकल गाइड कनेक्ट रहेको छ । जहाँ प्रयोगकर्ताहरुले आफ्नो ट्राभल स्टोरी, फोटो र डक्युमेन्टहरु शेयर गरिरहेका हुन्छन् ।

हामीले प्रयोग गर्ने गूगलका सामग्रीहरु जस्तै युट्युव, गूगल म्याप, गूगल फोटो, गूगल सर्च वा गूगल भ्वाइस असिस्टेन्ट वा गूगल ट्रान्सलेट पनि यसैगरी समृद्ध हुँदै गइरहेका हुन्छन् ।

कम्युनिटीले निश्चित सेग्मेन्टमा डेटा फीड गरिसकेपछि गूगलको एआईले ती सामग्रीहरुलाई सुधार गर्दछ । केही कुरा सर्च गर्दा नभेटिने अवस्थामा सत्यताको समस्यालाई कम्युनिटीको योगदानले नै घटाउने काम हुन्छ । 

यसका लागि क्राउडसोर्समा योगदान गर्नेहरुले गूगल क्राउडसोर्स एप प्रयोग गर्छन् । यो एपमा गएर योगदान दिनेहरुले कुनै ठाउँको तस्वीर, ट्राभल स्टोरी, डकुमेन्ट्री अपलोड गर्नुका साथै भाषा अनुवादको एक्युरेसी बढाउन त्यसको अर्थ भर्ने (लेख्ने) काम गरिरहेका हुन्छन् ।

प्रयोगकर्ताको योगदान ग्रहण गर्न क्राउडसोर्सिङ एपमा ट्रान्सलेटका लागि माथि नेपाली वा अंग्रेजीमा टेक्स्ट दिएको हुन्छ । त्यसको सही अर्थ चाहिँ तपाईंले टाइप गरेर सुझाव दिनुपर्ने हुन्छ । यसैमा अर्को प्रक्रिया भनेको प्रयोगकर्ताले इन्पुट दिइसकेपछि त्यसलाई भ्यालिडेसन गर्नु पर्छ ।

भ्यालिडेसनमा प्रयोगकर्ताहरुले दिएका विभिन्न किसिमका इन्पुटमा कम्युनिटीले सही अर्थलाई सही भनेर टिक लगाउने काम गरिदिन्छ । यसरी जानकारीहरु गूगलमा गएर बस्दछन् । कतिपय कुराहरु चाहिँ गूगलको आफ्नै सिस्टमले पनि भेरिफाइ गरिरहेको हुन्छ । 

यसमा स्थानीय जानकारीहरु फीड गरेर आफ्नो स्थानीय संस्कार, संस्कृति, खाद्यान्न आदि सबै कुरालाई विश्वमाझ प्रचार गर्न सकिन्छ । नेपालमा मातृभाषालाई जगेर्ना गर्नुपर्ने मुद्दाहरु उठ्ने गरेका छन् । 

यसरी समुदायका मानिसहरुले यो विश्वसनीय ग्लोबल प्लेटपर्ममा पनि आफ्नो भाषा र संस्कृतिको जानकारी राखेर त्यसलाई जीवन्त बनाउन सक्छन् । 

गूगल भ्वाइस असिस्टेन्टलाई हामीले शत प्रतिशत प्रभावकारी बनाउन सकियाे भने स्मार्टफोन चलाउन नसक्नेहरुले नेपालीमा भ्वाइस कमाण्ड दिएर नै सबै काम कुरा गर्नसक्छन् । 

गूगल क्राउडसोर्समार्फत गूगल प्लेटफर्ममा नेपालीको अपनत्व महसुस गराउन योगदान दिनुपर्ने आवश्यकता बारे सचेतना अभिवृद्धि गराउन नेपाल लोकल गाइड्सक्राउडसोर्स बाई गूगल जस्ता फेसबुक पेज समेत बनाइएका छन् । 

यसबाहेक कम्युनिटीले स्कूल ईभेन्ट, फोटोवाक आयोजना गर्नुका साथै नेपालमा विविध किसिमका गतिविधिहरु समेत आयोजना हुँदै आइरहेका छन् । अहिले कोभिड १९ को महामारीले विश्व नै संन्त्रस्त बनिरहेको समयमा पनि कम्युनिटीले वेबनारहरु आयोजना गर्दै आइरहेका छन् ।

यस्तै विभिन्न शहरमा गठन भएका गूगल डेभलपमेन्ट ग्रुप, गूगल बिजनेश ग्रुप, वुमेट टेकमेकर्स, गूगल डेभलपर एक्सपर्टलगायतका गूगल कम्युिनटीहरूले निरन्तर मीटअप, वर्कसप गरिरहेका छन् ।

गूगल बिजनेश ग्रुपका अमित अग्राल, गूगल एजुकेटर ग्रुपका सगुन ढुंगाना, जिडिजी काठमाडौंका सुरेश घिमिरे, जिडिजी वीरगञ्जका दिपेश दास, जिडिजी दाङका निरज भुसाल, गुगल डेभलपर एक्सपर्टका क्षितिज रिमाल, वुमेन टेकमेकर्सकी नश्ला जेशीलगायत र उनीहरूको टिम यस्ता कम्युनिटीमार्फत विभिन्न योगदान दिन लागिपरेका छन् ।

No description available.

नेपालमा गूगल कम्युनिटीका गतिविधिहरु 

  • लभ योर ल्याङ्ग्वेज नेपाल, गूगल ट्रान्सलेट-अ-थोन
  • स्पीच रिकग्निसन,  
  • गूगल क्राउडसोर्स: कम्युनिटी मीट एण्ड ग्रिट
  • इन्टरनेटमा मातृभाषालाई समृद्ध बनाउनुहोस्: वार्ता सेसन
  • गूगल क्राउडसोर्स कम्युनिटी टक
  • फोटो वाक्स
  • विद्यालय तथा कलेजहरुमा वर्कसप तथा छलफल कार्यक्रम 

‘अमेरिकामा हुने गूगल लोकल गाइडको नेसनल समिट ‘कनेक्ट लाइभ’ मा सहभागी हुन न्युनतम लेभल फाइभमा पुगेकै हुनुपर्छ,’ निरजले भने । 

आउने वर्षहरुमा नेभिगेसनलाई सुधार गर्ने, गूगलका सर्च रिजल्टहरुलाई स्थानीयकरण गर्ने, र गूगलको वृहत प्लेटफर्ममा उपलब्ध जानकारीको महासागरलाई नेपाल र नेपालीका निम्ति सान्दर्भिक र सटिक बनाउने कम्युनिटीको योजना रहेको छ ।

यद्यपि मानिसहरुले कम्युनिटीमा योगदान दिन आउँदा अपेक्षा राख्ने गरेको निरजको गुनासो छ । यो कम्युनिटी सेवाभावले देशलाई विश्वमाझ चिनाउन र गूगलको सामग्रीहरुलाई नेपाल मैत्री बनाउने स्वयम्‌सेवाको एउटा प्लेटफर्म मात्र हो ।

तर मानिसहरु विदेश घुम्न जान पाउने र अवार्ड हाँसिल गर्ने अपेक्षा राख्ने गरेको निरजको बुझाइ छ । व्यक्तिगत लाभको अपेक्षा गरेर कम्युनिटीमा नछिर्न उनी सुझाव दिन्छन् । 

तर गूगलले योगदान गर्ने व्यक्तिहरुको काम र क्षमता हेरेर प्रोत्साहन तथा पुरस्कार भने दिने गरेको उनी बताउँछन् । ‘सान फ्रान्सिस्कोमा गूगलले प्रत्येक वर्ष एउटा सम्मेलन आयोजना गर्छ । त्यसमा गूगलले योगदान देखेर तपाईंलाई सकरात्मक मूल्यांकन दिन्छ ।

सरोज ढकाल

यता गूगलका कम्युनिटी वा क्लबमा सेवाभावले आउनुपर्ने धारणा राख्दै सरोज ढकाल भन्छन्, ‘योगदान दिन चाहने जोकसै यस्ता कम्युनिटीमा आउन सक्छन् । गूगलले नै योगदानको मूल्याकंन गरी उनीहरुलाई प्रोत्साहन दिन सक्छ ।’

 

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team