close

सञ्चालनमा आए टूटल-पठाओ, राइड शेयर सेवामा जोर बिजोर प्रणाली हटाउन आग्रह

टेकपाना टेकपाना

भदौ २५, २०७७ १३:६

सञ्चालनमा आए टूटल-पठाओ, राइड शेयर सेवामा जोर बिजोर प्रणाली हटाउन आग्रह

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि राईड शेयरिङ सेवा टूटल र पठाओ सेवा सञ्चालनमा आएका छन् । निषेधाज्ञा खुकुलो भएसँगै बाइक र ट्याक्सीमार्फत् यात्रुलाई ओसारपोसार गर्ने यस्ताे व्यवसाय सुचारु भएको हो ।

टूटल र पठाओले चैत ११ देखि सुरु भएको लकडाउनलगत्तै आफ्नो सेवा बन्द गरेका थिए भने लकडाउन खुकुलोसँगै सेवा सञ्चालनमा ल्याएका थिए । तर एकमहिनामै निषेधाज्ञा लागू भएपछि सेवा पुनः बन्द भएको थियो ।

पठाओका नेपाल प्रमुख तथा क्षेत्रिय निर्देशक असिममानसिंह बस्नेतका अनुसार कम्पनीले राइडरका लागि पीपीई र मास्क अनिवार्य गरेको छ भने ग्राहकलाई सेवा दिनुअघि र सेवा दिइसकेपछि स्यानिटाइजरकाे प्रयाेग गर्ने व्यवस्था ल्याएकाे छ । पठाओले राइडरका लागि बिमाको समेत व्यवस्था ल्याएको छ ।

हाल जोरबिजोर प्रणाली लागू भइरहेको अवस्थामा पठाओले प्रशासनसँग राइड शेयरिङका लागि यस्तो व्यवस्था नगर्न अनुरोध समेत गरेको छ । प्रशासनले सकारात्मक प्रतिक्रिया दिएपनि केही निर्णय भने नगरेकाे बस्नेतले जनाए ।

टूटलले पनि स्वास्थ्य प्रोटोकललाई ध्यान दिएर आजदेखि सेवा सुचारु गरेकाे जानकारी दिएकाे छ । टूटलका संस्थापक शिक्षित भट्टका अनुसार अपग्रेड सहितको एपबाट सेवा सुचारू भएकाे छ । साथै टुटलले राइडरबाट कुनै पनि कमिसन नलिने बताएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०