close

इन्टरनेटका नेपाली ‘डाक्टर’

रन्जन कोइराला रन्जन कोइराला

असोज २, २०७७ २०:४२

इन्टरनेटका नेपाली ‘डाक्टर’

नेपाल इन्टरनेट एक्सचेञ्ज (एनपीआईएक्स) का बोर्ड सदस्य, एनआईटिभीका संस्थापक, जिनियस सिस्टमका सह–संस्थापक, नेपाल दूरसञ्चार प्राधिकरणका सल्लाहकार, इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन ईन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएसन अफ नेपाल(आइस्पान)का सदस्य ।

समित जनको परिचय यी जुनसुकैबाट गराउँदा हुन्छ । हरपल इन्टरनेटको संसारसँग रमाइरहने उनी वर्ल्डलिङ्कका चिफ टेक्नोलोजिष्ट पनि हुन् । आफ्नो अध्ययनसँग असम्बन्धित क्षेत्रमा कसरी जोडिए त यी इन्टरनेटका किरो ?

त्यो विगत

परिवारको आर्थिक अवस्था राम्रो नहुँदा उनको बाल्यकाल गरिबीमै बित्यो । पढाईमा सानैदेखि अब्बल समितले कमजोर आर्थिक अवस्थाका बीच पनि बोर्डिङ पढ्ने अवसर पाए ।

गणितमा निकै रुची राख्ने उनी शिक्षकले गरेका गल्ती केलाएर बसिरहन्थे । जुन उनलाई निकै रमाइलो लाग्थ्यो । तर, शिक्षक भने उनीसँग रुष्ट हुन्थे ।

गणितमा राम्रै उनी प्लस टु साइन्स लिएर पढ्ने निर्णय गरे । ‘ अनि अमृत साइन्स कलेजमा भर्ना भए । आर्थिक अवस्था खासै राम्रो नहुँदा त्यही समयमा बुबाले चलाएको मोटर वर्कशपमा काम पनि गर्थे । पछि वर्कशप पनि बन्द भयो ।

पढाइ केही समय त राम्रै थियो । ‘विस्तारै साथीहरुको संगतमा परियो । संगीतमा रुची बढ्दै गयो । गिटार बजाउने, कपाल पाल्ने, गाउँदै हिड्ने गर्न थालियो ’ उनी आफ्नो विगत कोट्याउँछन् ।

बिग्रदै गएको पढाइपछि साइन्स पास गर्न नसकिने ठहरमा पुगे उनी । त्यसपछि हानिए पिपुल्स क्याम्पस । त्यहाँ व्यवस्थापनमा भर्ना भए ।

पिपुल्स क्याम्पसमा बिहान व्यवस्थापन र अमृत साइन्स कलेजमा दिउँसो विज्ञान, यसरी दुवै विषय पढ्न थाले । अनी अन्त्य पनि उनले सोचे जस्तै भयो । प्लस टु व्यवस्थापनमा सकियो । यद्यपि उनको संगीतको यात्रा भने रोकिएको थिएन । यसमा उनी आफ्नो भविष्य देखिरहेका थिए ।

‘संगीत बजाउने, ब्याण्ड बनाउने, गाउँदै हिड्ने, मेरो रुटिन यस्तै थियो,’ उनी भन्छन्, ‘सँगै अल्कोहल पनि जोडियो । बारमा गएर एक दिन कार्यक्रम गरेको १५ सय आउँथ्यो ।

त्यसबाट आफ्नो भागमा पर्ने जम्मा ती सय र निःशूल्क रक्सी नै मेरो जिन्दगी थियो । तर, मैले पढाइलाई भने जसोतसो गरेर सँगै बढाइरहेकै थिएँ । ब्याचलरको अन्त्तिम वर्षमा भने मैले परीक्षाका लागि केही मेहनत नै गरेको थिएँ ।’

बीस बर्ष अगाडि अर्थात सन् २००० मा उनको ब्याचलर पनि पुरा भयो । अनी संगीतको यात्रा पनि । उनले संगितबाट जीवन चल्दैन भन्ने त्यही बेला बुझे । ‘सन् २००० मा हिमालयन होटलमा भएको सांगितिक कार्यक्रम नै मेरो सांगितिक यात्राको अन्त्य थियो’ उनी सुनाउँछन् ।

घरको आर्थिक अवस्था पनि सन्तोषजनक नहुँदा उनी संगित छाडेर ठमेलमा छिमेकी दाइले खोलेको रेस्टुरेन्टमा काम गर्थे । त्यही रेस्टुरेन्टका मालिक छिमेकी दाइ (उद्धव श्रेष्ठ) उनका लागि टर्निङ प्वाइन्ट भए ।

अनि मोडियो बाटो

‘रेस्टुरेन्टमा काम गर्दै गर्दा एक दिन दाइले अबको जमाना आईटीको हो, आईटीको एकदम डिमान्ड छ । तिमीले पनि यसो सिक्दा हुन्छ भन्नुभयो’ विगत केलाउँदे समित भन्छन् ‘आफै ओराकल, डिजाइन लगायत विषय पढाउने भएकाले होला उहाँबाट यस्तो सुझाव आएको थियो ।

उहाँकै सिफारिसमा एनआईआईटी कम्प्युटर इन्स्टिच्युटमा दुई बर्षको डिप्लोमा कोर्ष सुरु गरें । त्यसका लागि आवश्यक पर्ने २५ हजार रुपैयाँ जसो तसो जुटाएको थिएँ । जसमा ई–कमर्सको प्रोग्रामिङ, डेटाबेसलगायत कुरा सिकाइन्थ्यो । मैले कम्प्युटर र कम्प्युटरसँग सम्बन्धित ज्ञान नै पहिलापटक त्यति बेला पाएको थिएँ ।’

उनले दुई वर्षको उक्त कोर्ष ६ महिनामात्रै पढे । त्यसपछि एकजना चिनजानको दाइसँग मिलेर सफ्टवेयर बनाउने जाभामा काम गर्न थाले । ‘त्यतिबेलासम्म मेरा आर्थिक अवस्था अति नै नाजुक थियो,’ समित सुनाउँछन, ‘मसँग ट्याम्पो भाडा तिर्न १० रुपैयाँ पनि हुँदैन थियो ।

महाराजगंजदेखि जमलसम्म दैनिक हिंडेरै ओहोर दोहोर गर्थें । म ठमेलमा बनेको सय रुपैयाँको टाउजर लगाएर हिड्थें । मलाई याद छ मैले यात्रा गर्दा १० जना साथीहरुसँग पैसा उठाएर ट्रेकिङ सुज किनेको ।’

चरम गरिबीको त्यो समय समितले जसोतसो कटाए । त्यहीबेला हो करिब ६ महिना उनले सफ्टवेयरमा बिताए । आम्दानी कम हुने अनि निरन्तर कम्प्युटरमा बसेर कोडिङ गर्नुपर्दा त्यो काम गर्ने जाँगर उनको मर्दै थियो । त्यसपछि उनले हार्डवेयरतिर ध्यान मोडे ।

‘मलाई कम्प्युटरले नै कसरी काम गर्दो रहेछ भनेर जान्न मन लाग्न थाल्यो । अनि मैले सफ्टवेयर छाडेर हार्डवेयरको तालिम लिन सुरु गरें । तीन महिनाको तालिम मेरो लागी नयाँ अनुभव थियो ।

कम्प्युटर भित्रका पार्टहरुलाई खेलाउँदा रमाइलो लाग्दै गएको थियो । सिक्दै गर्दाकै समयमा छिमेकी र आफन्तले कम्प्युटर बिग्रिँदा बोलाउन गर्न थाले । उनीहरुको घरमा गर केही समय बिताउँदा चार पाँच सय आम्दानी हुन थाल्यो’ आफ्नो फेरिएको कथानक सुनाउँछन् उनी ।

उनी यसबाट प्रभावित भए । उनको आम्दानी पनि चाँडो चाँडो हुन थाल्यो । आर्थिक अवस्था विस्तारै सहज हुँदै थियो । उनले त्यसैमा थप एक बर्षको एडभान्स कोर्ष लिने निधो गरे । भर्ना पनि भए ।

भर्ना भएको केही समयमै दरबारमार्गमा वेब्स ग्रुप ट्रेडिङ भन्ने कम्पनीमा काम गर्ने मौका पाए र उता छाडिदिए । ‘त्यहाँ कम्प्युटरको एसेम्बल हुन्थ्यो,’ उनी भन्छन् ‘मैले त्यहाँ महिनाको १५ सय रुपैयाँ पाउँथे । त्यसबेला पैसा भन्दापनि राम्रो अनुभव बटुलिरहेको थिएँ ।’

धेरै मान्छेसँग उनको चिनजान हुँदै थियो । सरकारी तथा गैरसरकारी संस्थासँग काम गर्ने अनुभव उनले त्यही बेला बटुले । त्यहाँ उनले विन्डोज एन्टी सर्भर, एक्सचेन्ज, नोभेल नेटवर्क, राउटिङ लगायत सिक्न पनि पाए ।

लहैलहैमा कोल्ड स्टोर

समितलाई केही न केही गरिरहनुपर्ने । हार्डवेयर सिकिरहँदा उनले साथीहरुको सहकार्यमा लहैलहैमा आफ्नै व्यवसाय सुरु गरे । त्यो कोल्ड स्टोरको व्यवसाय थियो ।

महाराजगंजमा थियो, त्यो । यद्यपि उनले पुरानो काम भने छोडेका थिएनन् । बिहान पसल जान्थे अनी दिउँसो घर–घरमा पुगेर कम्प्युटर बनाउँथे ।

केही समयपछि पसलको बसाई उनलाई झुर लाग्न थाल्यो । झन्डै एक डेढ लाख रुपैयाँ त्यही पसलमा डुबाए पनि । कोल्ड स्टोर बन्द भएपछि उनले हार्डवेयरसँगै नेटवर्किङ तिर पनि ध्यान दिन थाले ।

‘मैले नेटवर्किङ बेसिक कक्षा पनि लिए,’ उनी भन्छन् ‘त्यतिबेलासम्म डायलअप थियो । विस्तारै इन्टरनेट भन्ने कुरा सुरु भएको थियो । इन्टरनेट नयाँ विषय भएकाले त्यसमा चाँसो पनि थियो ।’

इन्टरनेटसँगको मिलन

दश तिरबाट पुराना पार्ट पुर्जा जम्मा पारेर उनले आफू बस्ने ठाउँमा कम्प्युटर जोडेका थिए । त्यसपछि जोडे इन्टरनेट । इन्टरनेट र कम्प्युटर भएपछि समितको दैनिकी त्यसैमा बित्न थाल्यो ।

‘म गुगलमा अति नै धेरै समय बिताउँथें,’ उनी सम्झिन्छन् ‘त्यतिबेला गुगल पनि भर्खरै आएको थियो । गुगलको अहिलेको जस्तो ब्राउजर नभएर एउटा क्लाइन्ट हुन्थ्यो ।

उक्त क्लाइन्टमा गएर सर्च गर्नुपर्ने । तर, सर्च भने अति नै फास्ट हुन्थ्यो । त्यसरी सर्च गर्न पनि मलाई रमाइलो लाग्ने । मैले धेरै कुरा गुगलबाटै सिकेँ ।’

उनलाई इन्टरनेटले कसरी काम गर्छ भन्ने लाग्थ्यो । उनी गुगलमा त्यस्तै त्यस्तै विषय खोजेर पढ्ने गर्थे । तर, अनुभव लिनका लागि काम गर्ने अवसर पाएका थिएनन् ।

यो प्रत्यक्ष बुझ्न इन्टरनेट सेवा प्रदायकसँग जोडिनुपर्छ भन्ने उनलाई थाहा थियो । उनका लागि यो पहुँचभन्दा बाहिरको विषय थियो ।

‘इन्टरनेट सेवा प्रदायकसँग जोडिन नपाएपनि म स्कुलको लागि कम्प्युटरबाट पढाउने सिस्टम दिने एउटा कम्पनीसँग (कम्प्युटर असिस्टेन्ट लर्निङ) मा जोडिएँ,’ उनी भन्छन्, ‘त्यहाँबाट मैले धेरै स्कुलमा हार्डवेयर, सफ्टवेयर, नेटवर्किङमा काम गर्ने मौका पाएँ ।

त्यही बेला लिज लाइनको इन्टरनेट प्रयोग गर्ने अवसर पनि मिल्यो । त्यति बेला भायनेट भर्खर भर्खर खुलेको थियो । मैले काम गरिरहेको कम्पनीले भायनेटसँग लिज लाइन लिएको थियो ।’

त्यहाँ काम गर्दैगर्दा उनले वर्ल्डलिङ्कमा आफ्नो साथी काम गर्दै गरेको थाहा पाए । उनी सम्झिन्छन्, ‘मैले उसलाई इन्टरनेटले कसरी काम गर्छ भनेर हेर्न मन लागेको कुरा सुनाएँ । त्यतिबेला वर्ल्डलिङ्क टेक्नोलोजी भनेर पुल्चोकमा अफिस थियो ।

मैले पहिलोपटक लिनक्स भन्ने कुरा त्यहीँ गएर थाहा पाएको थिएँ । बाहिर सबै माइक्रोसफ्ट विन्डोजमा काम हुने । तर त्यहाँ लिनक्स थियो । लिनक्सबाट हुने काम अझ रमाइलो लाग्यो ।

नियमित रुपमा त्यहाँ जान थाले । अनि विस्तारै मैले अब लिनक्स पनि सिक्नु पर्नेरहेछ भन्ने भयो ।’ त्यसपछि सुरु गरे लिनक्सको कक्षा ।

नक्सालमा रहेको कम्प्युटर पोइन्टमा समितले रेड ह्याट लिनक्स सिक्न थाले । उनलाई आधारभूत कक्षाकै आवश्यकता थियो । त्यहाँ त्यति नै कक्षा लिएर बाँकी फेरी गुगलमै बिताए ।

त्यहीबेला वर्ल्डलिङ्कमा नेटवर्क सिस्टम एडमिनिस्ट्रेटरका लागि भ्याकेन्सी खुल्यो । उनले सोचे त्यो त गज्जबको अवसर हो । त्यहाँ उनले अप्लाई गरे । लिखित र अन्तरवार्ता दुवैमा पास भए । आफूले खाइरहेको तलबभन्दा आधा कममा उनी त्यहाँ जोडिएका थिए ।

यो सन् २००३ सालको कुरा हो । वर्ल्डलिङ्कमा जोडिनु समितका लागि सपना पुरा भएजस्तै लागेको थियो । कतिपय कुरा नजानेकाले असहज त हुन्थ्यो । तर आफ्नै हिम्मतले उनलाई भरोसा दिइरहन्थ्यो । त्यहाँ उनले अफिस आवर भनेर काम गरेनन् ।

उनका सपनामा पनि लिनक्सका कोड दौडिन्थे । यो प्यासनलेको प्रतिफल उनी वर्ल्डलिङ्कमा जोडिएको तीन वर्षमै हेड अफ डिपार्टमेन्टको रुपमा बढुवा भए । त्यसको ६ वर्षपछि चिफ टेक्निकल अफिसर ।

वर्ल्डलिङ्कसँग काम गर्दैगर्दा उनले धेरै अवसर पनि पाए । विदेशी कम्पनीहरुसँग सहकार्य गर्ने अवसर मिल्दै गयो । इन्टरनेट र प्रविधिसँग यसरी सम्बन्ध गाँसियो कि हरेक दिन नयाँ प्रविधि के ल्याउन सकिन्छ र ग्राहकलाई सस्तोमा गुणस्तरीय इन्टरनेट प्रदान गर्न सकिन्छ भन्नेमै उनको ध्यान जान थाल्यो ।

वर्ल्डलिङ्कमा जोडिएपछि उनले कुनै दिन पनि पछाडि फर्किएर हेर्नुपरेन । उनी विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुमा आबद्ध हुन थाले । विदेश भ्रमण गर्ने र त्यहाँको नयाँ प्रविधिबारे जानकारी लिने अवसर समितलाई मिल्दै गयो ।

‘यसले मलाई परिपक्व बनाउँदै लगेको थियो,’ उनी भन्छन्, ‘मैले त्यहाँ कुनै रोकावट बिनानै काम गर्ने मौका पाएँ । सायद त्यो मेरो कामले दिएको अवसर पनि थियो ।’

नेपालको इन्टरनेटमा सिस्को, नोकिया, जुनिपर जस्ता धेरै कम्पनीको प्रविधि भित्र्याउने कामको सुरुवात समितले नै गरेका हुन् । आज धेरै इन्टरनेट कम्पनी र टेलिकमहरुले यही अपनाएका छन् ।

‘त्योभन्दा पहिले यस्ता प्रविधि नेपालले थेग्न सक्ने अवस्था नै थिएन । उनीहरुलाई कन्भिन्स गराउँदै सस्तो मूल्यमा प्रविधि भित्र्याउन सफल भएको थिएँ ’ उनी भन्छन् ।

अर्कोतिर त्यतिबेला वर्ल्डलिङ्कले रिसर्च एण्ड डेभलपमेन्टमा पनि धेरै लगानी गर्दै थियो । भेन्डरबाट मात्रै समान ल्याएर सेवा दिँदा ग्राहकलाई सस्तोमा सेवा दिन सकिँदैन भन्ने कम्पनीले बुझेको थियो । त्यसैले आफैंले विकास गर्नुपर्छ भनेर कम्पनीले काम अगाडि बढाएको थियो ।

कतिपय प्रविधि कम्पनी आफैंले बनाउथ्यो । यो सबैको नेतृत्व समितले नै गरेका थिए । उनी भन्छन्,
‘यसै क्रममा हामीले भिस्याट इन्टरनेटका लागि कम्प्रेसन गर्ने प्रविधि पनि आफैंले बनाएका थियौं ।

हाल अमेरिकामा बस्ने कमल र विक्किसँगको सहकार्यमा त्यो सफ्टवेयर बनेको थियो । जसको काम लिमिटेड ब्याडविथबाट धेरै डेटा पठाउने थियो । यो प्रविधिले २५ प्रतिशत ब्याण्डविथ खपत कम गर्न मद्दत गर्दथ्यो ।

यसको प्रयोगले थोरै व्याडविथमार्फत ग्राहकलाई गुणस्तरीय इन्टरनेट दिने वातावरण पनि बन्यो । सस्तो फिक्ड वायरलेस, केबल इन्टरनेट जस्ता नयाँ नयाँ प्रविधिहरु भित्रिरेहका थिए । ‘

यसैबीच भायनेटले नेपालमा पहिलोपटक फाइबर टु दी होम इन्टरनेटको सुरुवात गर्‍यो । जुन समितले काम गरिरहेको वर्ल्डलिङ्कका लागि च्यालेन्जको विषय थियो । उनी भन्छन्, ‘हामीले पहिले पनि यसमा प्रयास गरेका थियौं । तर पनि प्रविधि महंगो भएकाले सुरु गर्न सकेका थिएनौं । जब भायनेटले सुरु गर्‍यो, अनिमात्रै हामी गम्भीर भयौं ।

अनि अहिलेका सीईओ केशव नेपालसँगै भैरहवामा सस्तो मुल्यमा फाइबर परीक्षण गर्‍यौं । त्यहा प्राप्त सफलतापछि देशभर सेवा विस्तार गर्न थाल्यौं ।’

इन्टरनेट सस्तो बनाउने ध्यान

फाइबरको परीक्षणकै क्रममा सोचेकोभन्दा सस्तो मुल्यमा धेरै ब्याण्डविथ र फास्ट इन्टरनेट दिन उनको टिम सफल भयो । विस्तारै समित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा जोडिँदै गए ।

नेपाल इन्टरनेट एक्सचेन्जमा टेक्निकल एड्भाइजरको रुपमा धेरै बर्ष काम गर्ने अवसर पाए । त्यही क्रममा इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन आईस्पानमा सक्रिय रुपमै आबद्ध भए ।

त्यसमा पनि टेक्निकल एड्भाइजर कै भूमिकामा रहे । यसरी विभिन्न संस्थासँगको आबद्धताले पनि समितलाई परिपक्व बनाउँदै लग्यो ।

समित अप्रत्यक्ष रुपमा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणमा पनि कतिपय परियोजनामा संलग्न भए । प्राधिकरणले अघि बढाएको ग्रामीण दूरसञ्चार विकास कोषबाट सञ्चालन भइरहेको अप्टिकल ब्याकबोन र ब्रोडब्याण्ड परियोजनका लागि आवश्यक आरएफपी, नेटवर्क डिजाइनमा लगायतका काममा उनले ठूलो भूमिका निर्वाह गरेका छन् ।

नेपाल इन्टरनेट एक्सचेन्जमा सुरुमा प्राविधिक सल्लाहकारको रुपमा उनले प्रवेश पाएका थिए । तर, अहिले उनी आफैं उक्त संस्थाको बोर्डको नेतृत्व गरिरहेका छन् । नेपाल इन्टरनेट एक्सचेन्जको काम भनेको नेपालको इन्टरनेट कन्टेन्टलाई नेपालमै राउट गर्ने हो ।

इन्टरनेट एक्सचेन्ज नहुँदासम्म आन्तरिक ब्याण्डविथ पनि एकपटक अमेरिका पुगेर मात्रै प्रयोगकर्तासम्म आइपुग्थ्यो । अहिले नेपालमै राउट हुँदा इन्टरनेट थप रिलायबल (भरपर्दो) भएको छ ।

अर्कोतर्फ एसिया प्यासिफिक नेटवर्क इन्फरमेसन सेन्टर -एप्निक (जहाँ मार्फत इन्टरनेटका लागि आवश्यक आईपी प्रदान गरिन्छ), एप्रिकोट, एसएएनओजी लगायतका संस्थामा आफ्ना अनुभवहरु पनि शेयर गर्ने अवसर समितलाई मिल्यो ।

साथै उनकै पहलमा एनपीनगको सुरुवात पनि भयो । यो इन्टरनेट सेवा प्रदायक र सूचना सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत व्यक्ति एवंम संस्थाहरुको समूह हो । यसको उद्देश्य नेपालको इन्टरनेट समुदायबीच समन्वय र सहकार्य गर्नु हो ।

दैनिक नयाँ प्रविधिसँग हुने जुधाई र आफ्ना अनुभव अरुसँग शेयर गर्दै जाँदा आज उनी यो ठाउँमा उभिएका छन् । भायनेटका प्रबन्ध निर्देशक विनय बोहरा भन्छन्, ‘मैले इन्टरनेटमा कुनै प्राविधिक जानकारी लिनु परेको खण्डमा सम्झिने पहिलो व्यक्ति नै उहाँ हो ।

संस्था फरक भएतापनि उहाँको अनुभव नेपालको इन्टरनेट क्षेत्रका लागि एउटा पाठ हो । म त भन्छु पढाइको पृष्ठभूमी फरक भएतापनि समित जन इन्टरनेट क्षेत्रका लागि अनुभवले खारिएका डाक्टर हुन् ।’

यो सबैको देन आखिर गुगल नै हो । समित भन्छन्, ‘मेरो अनुभव र गुगल नै मेरो गुरु हुन् । म आज जे छु, त्यो सबै गुगलको देन हो भन्दा फरक पर्दैन । मैले नेपालको इन्टरनेटलाई कसरी सस्तो बनाउने भनेर काम गर्दागर्दै यो खालको अनुभव बटुल्ने अवसर पाएँ ।’

आज उनी वर्ल्डलिङ्क र नेपालको इन्टरनेटको क्षेत्रमा हुने आविष्कारका एउटा सारथी हुन् । ‘मैले पनि सिस्को, नोकिया, फेसबुकजस्ता अन्तर्राष्ट्रिय संस्थामा काम गर्ने अवसर पाएको थिएँ । तर मैले नेपालको इन्टरनेटकै विकासमा योगदान दिनुपर्छ भन्ने भयो । २२ वर्षको उमेर इन्टरनेटमा जोडिएको यात्रा ४२ वर्षको हुँदासम्म पनि हरेक दिन ग्राहकलाई कसरी सस्तो र गुणस्तरीय इन्टरनेट दिने भन्नेमै बितिरहेको छ ।’

तर, कतै केही न केही कमजोरी छ भने कुराको उनलाई सधैं महसुस भइरहेको हुन्छ । उनी भन्छन्, ‘कम्पनीहरु अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार र सिस्टम ल्याएर सेवा दिन्छन् । तर, ग्राहकले त्यो खालको सेवा पाएको महसुस गर्दैनन् ।’

यसको मुख्य कारण उनी लास्ट माइल वाईफाई तथा फाइबर व्यवस्थित नीति नहुनुलाई मान्छन् । भएका केही नीति पनि धेरै पुराना छन् भने सेवा प्रदायकले लगानी गरेको भएपनि ग्राहकको घरमा पुग्ने तार व्यवस्थित हुन नसकेको उनको बुझाई छ ।

‘कस्तो तार राख्ने, कति दूरीमा तार राख्ने, तार राख्दा कस्ता कस्ता खालका प्रावधान पुरा गर्नुपर्ने हो, त्यस खालको स्पष्ट व्यवस्थाको अवाश्यकता छ । तर, त्यो हुने सकेको छैन ।

वाईफाई क्वालिटी, इन्टरफेरेन्स र कभरेजको समस्या ठूलो छ । अर्कोतर्फ यो क्षेत्रमा काम गर्ने प्राविधिक नै न्यून मात्रामा छन् । विशेष गरी सिस्टम र नेटवर्क विकास र सञ्चालनको काम निकै कम छ । भएकालाई पनि राक्नसक्ने अवस्था सिर्जना भएको छैन’ उनी भन्छन् ।

यदि यो क्षेत्रमा मेहनत गर्ने हिम्मत कसैले गर्छ भने, उसको भविष्य उज्वल देख्छन् समित । ‘आज म अमेरिका गएर कमाउने पैसा यहीँ कमाइरहेको छु । त्योभन्दा आज मैले पाएको सम्मान र माया सायद त्यहाँ पाउने थिइनँ’ उनी सन्तोषको सास फेर्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०