close

यस्ता छन्, यो साता सार्वजनिक हुने बहुप्रतिक्षित ५ नयाँ स्मार्टफोन

टेकपाना टेकपाना

असोज २७, २०७७ ८:५३

यस्ता छन्, यो साता सार्वजनिक हुने बहुप्रतिक्षित ५ नयाँ स्मार्टफोन

काठमाडौं । चाडबाडको मौसम सुरु हुनै लाग्दा स्मार्टफोन बजारमा केही नयाँ स्मार्टफोन सार्वजनिक हुँदै छन् । सार्वजनिक हुने तरखरमा रहेका स्मार्टफोन यस्ता छन्, जसलाई ग्राहकले लामो समयदेखि प्रतिक्षा गर्दै आएका छन् ।

यदि स्मार्टफोन लिने योजनामा हुनुहुन्छ भने तपाईं पनि यी आउँदै गरेका फोनमध्ये आफ्नो बजेट अनुसारको विकल्प रोज्न सक्नुहुनेछ । नयाँ आउँदै गरेका यी स्मार्टफोनमा पछिल्लो प्रविधिका साथै उन्नत स्तरका फिचर समेत समावेश गरिएको छ ।

भिभो भी ट्वान्टी

१३ अक्टुबर अर्थात आज दिउँसो भिभो भी ट्वान्टी स्मार्टफोन सार्वजनिक हुँदैछ । भिभोकाे अफिसयल वेबसाइटमा यसको सार्वजनिकीकरणको विषयमा अनाउन्समेन्ट भइसकेको छ ।

भिभो भी ट्वान्टीको मुख्य विशेषता नै यसको क्यामेरा मानिएको छ । यो फोनमा ४४ मेगापिक्सेलको क्यामेरा राखिएको छ र पछाडि भागमा तीनवटा क्यामेरा रहेका छन् ।

क्यामेराको फोकस पर्फेक्ट हुनेछ भने साथमा सुपर नाइट मोड समेत समावेश हुनेछ । यो फोनमा वाटर ड्रप नोच डिजाइन रहेको छ र यो भिभोको सबैभन्दा पातलो स्मार्टफोन हुनेछ ।

वान प्लस एट टी

१४ अक्टोबर अर्थात भोलि बुधबार सार्वजनिक हुने ‘वान प्लस एट टी’ स्मार्टफोनको हाइलाइट अमेजनमा समेत देखिन थालिसकेको छ । यो फोनमा राम्रो क्यामेरा क्वालिटी रहेको छ र साथमा नाइटस्केप मोड समेत राखिएको छ ।

यसमा १२० हर्ज को फ्लुड एमोलेड डिस्प्ले रहेको छ । फोनमा अल्ट्रा फास्ट चार्जिङ प्रविधि समेत समावेश छ ।

साओमी मी टेन टी सिरिज

चाडबाडको समयमा बिक्री बढाउने उद्देश्यका साथ साओमी पिन पछि हट्ने मुडमा देखिँदैन । कम्पनीले अफिसियल वेबसाइटमा साओमी मी टेन टी सिरिज फोन सार्वजनिक गर्नका लागि १५ अक्टुबर अर्थात आउँदो बिहीबारको भाखा राखिएको छ । यो फोन पनि पूर्णतः क्यामेरामै केन्द्रित छ ।

यसको मुख्य क्यामेरा १०८ मेगापिक्सेलको हाई क्वालिटीयुक्त रहेको छ । फोनमा गेमिङको आनन्द बढाउनका लागि १४४ हर्ज रिफ्रेश रेट भएको स्क्रिन रहेको छ ।

दाबी गरिए अनुसार यो फोनको ब्याट्री पनि निकै शक्तिशाली रहेको छ । क्वालकम स्नापड्रागन ८६५ युक्त यो फोनमा फाइभजीको पछिल्लफ प्रोसेसर समेत रहेको छ ।

ओप्पो ए फिफ्टिन

यसै साता सार्वजनिक हुने स्मार्टफोनको सूचीमा ओप्पो ए फिफ्टिन पनि रहेको छ । यसको टिजर कम्पनीले आफ्नो वेबसाइटमा राखिसकेको छ ।

अन्य स्मार्टफोन जस्तै यो फोन पनि क्यामेरामै केन्द्रीत रहेको छ । ट्रिपल रियर क्यामेरा रहेको यो फोनमा १३ मेगापिक्सेलको मुख्य लेन्स रहेको छ ।

साथमा दुई मेगापिक्सेलको माइक्रो लेन्स र दुई मेगापिक्सेलकै डेप्थ सेन्सर रहेको छ । यो फोनमा ६.५२ इञ्चको वाटर ड्रप आई प्रोटेक्सन स्क्रिन रहेको छ । ओप्पो ए फिफ्टिन निकै स्लिक समेत रहेको छ ।

आईफोन ट्वेल्भ

यस वर्षकै बहुप्रतिक्षित स्मार्टफोनको रुपमा रहेको आईफोन ट्वेल्भ आज अर्थात मंगलबार राति सार्वजनिक हुँदैछ ।

यो सिरिज आईफोन् ट्वेल्भ, आईफोन ट्वेल्भ मिनी, आईफवन ट्वेल्भ प्रो र आईफोन ट्वेल्भ म्याक्स मोडेलको रुपमा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४