close

परीक्षण अवधिमा सित्तैमा फाइभजी अनुभव गर्न पाइने

टेकपाना टेकपाना

मंसिर १५, २०७७ १५:२१

परीक्षण अवधिमा सित्तैमा फाइभजी अनुभव गर्न पाइने

काठमाडौं । फाइभजी पछिल्ले सयम विश्व दूरसञ्चार क्षेत्रमा चर्चाको विषय हो । द्रुत गतिको मोबाइल इन्टरनेट फाइभजीमा गएको दुई वर्षको अवधिमा धेरै प्रविधिको विकास भएको छ ।

चीन, अमेरिका लगायतका विश्वका केही देशमा फाइभजी सेवाको सुरुवात भइसकेको छ । पछिल्लो प्रतिवेदन अनुसार चीनमा कुल जनसंख्याको २० प्रतिशत जनसंख्याको पहुँचमा फाइभजी मोबाइल ब्रोडब्याण्ड रहेको देखाएको छ ।

यो हिसाबले हेर्ने हो भने फाइभजीको प्रयोग दिनानुदिन बढिरहेको छ । यसको प्रयोग हाल नेपालमा नभएतापनि बेलाबेला चर्चा हुने गरेकाे छ ।

यसअघि नेपाल टेलिकमले फोरजी सेवा विस्तारको क्रममा पाँच सहरमा फाइभजी सेवा परीक्षण गर्नुपर्ने शर्तका साथ चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकम र एनसेललाई फाइभजी परीक्षणका लागि फ्रिक्वेन्सी दिन आवश्यक प्रक्रिया अगाडि बढाएको हो ।

अर्कोतर्फ मन्त्रालयले पनि फाइभजीका लागि कुन फ्रिक्वेन्सी उपयुक्त हुन्छ भन्ने विषयमा हाल अध्ययन गरिरहेको छ । यसरी हेर्दा नेपालमा पनि फाइभजीको विषय अघि बढेको छ भन्न सकिन्छ ।

अझ त्यतिमात्रै नभएर सेवा प्रदायकले फाइभजी परीक्षण गर्दा ग्राहकलाई नि:शुल्क रुपमा फाइभजी अनुभव लिने अवसर प्रदान गर्नुपर्ने खालको प्रावधान अघि बढेको छ ।

प्राधिकरणका अनुसार यसअघि नै फ्रिक्वेन्सी नीति निर्धारण समितिमा फाइभजी परीक्षणका लागि निःशुल्क रुपमा सेवा प्रदायकलाई फ्रिक्वेन्सी उपलब्ध गराउन पाउने गरी फ्रिक्वेन्सी नीति निर्धारण समितिमा प्रस्ताव पठाइसकेको छ ।

यसरी निःशुल्क रुपमा प्राप्त फ्रिक्वेन्सीमा फाइभजी सेवा परीक्षण गर्दा सेवाप्रदायकले समेत ग्राहकबाट शुल्क लिन नपाउने खालको प्रस्ताव प्राधिकरणबाट भएको प्राधिकरण स्रोतले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०