close

महामारीपछिको विकासका लागि साढे २४१ खर्ब लगानी गर्दै सामसङ

टेकपाना टेकपाना

भदौ ९, २०७८ ८:४८

महामारीपछिको विकासका लागि साढे २४१ खर्ब लगानी गर्दै सामसङ

काठमाडौं । कोरोना महामारीले निम्त्याएकाे असरबाट माथि उठ्न सामसङ ग्रुपले आउने तीन वर्षमा २०६ अर्ब अमेरिकी डलर अर्थात २४१ खर्ब ४३ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी लगानी गर्ने घोषणा गरेको छ ।

महामारीको चुनौतीलाई पार गर्दै आगामी दिनमा कम्पनीको वृत्ति विकासका लागि सामसङले वायोफर्मासिटिकलस्, आर्टिफिसियल इन्टलिजेन्स, सेमिकन्डक्टर, रोबोट लगायतका क्षेत्रहरूमा लगानी गर्ने घोषणा गरेको हो ।

सन् २०२३ सम्मका लागि यो लगानी विनियोजन गरिएकाे हाे । मर्जर र अधिग्रहणको माध्यमबाट प्रविधिको बजारमा आफ्नो नेतृत्वलाई सुदृढ बनाउने योजना रहेको सामसङ इलेक्ट्रोनिक्सले बताएको छ ।

यद्यपि यो लगानीभित्र सामसङको अमेरिकामा बन्दै गरेको चिप कारखानाको लगानी १७ अर्ब अमेरिकी डलर अर्थात् पर्छ कि पर्दैन भन्ने चाहिँ कम्पनीले बताएको छैन ।

यो रकम सामसङको सन् २०१८ मा सार्वजनिक गरेको तीन वर्षे लगानी योजनाको रकमभन्दा ३० प्रतिशतले बढी हो । अबको लगानी महामारी अथवा कुनै विपदको समयमा कसरी सस्टेन गर्ने भन्ने कुरामा केन्द्रित हुने पनि कम्पनीले बताएको छ ।

‘चिप उद्योग कोरियन अर्थतन्त्रको लागि सुरक्षा कवज जस्तै हो । आक्रमक रुपमा हामीले ल्याएको लगानी भनेको हाम्रो सर्भाइभल रणनीति हो । किनभने हामीले एकपटक बजारको प्रतिस्पर्धामा हार्‍यौ भने फेरी पुरानै लयमा फर्किन हामीलाई गाह्रो हुनेछ,’ सामसङको विज्ञप्तिमा लेखिएको छ ।

सामसङको चिप उद्योगको अर्का प्रतिस्पर्धीहरू ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ काेअपरेटिभङ लिमिटेड र इन्टेल काेर्पाेरेसनले पनि विश्वव्यापी चिप अभावलाई सम्बोधन गर्नको लागि ठूलो लगानी गर्न लागिरहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१