close

मोबाइल इन्टरनेट प्रयोग गर्दैनन् विश्वका ४ अर्ब मानिस

टेकपाना टेकपाना

असोज ४, २०७८ १६:२

मोबाइल इन्टरनेट प्रयोग गर्दैनन् विश्वका ४ अर्ब मानिस

काठमाडौं । विश्वव्यापी रुपमा अझै चार अर्ब मानिसले मोबाइल इन्टरनेट प्रयोग नगर्ने गरेको पाइएको छ । जीएसएमएले हालै प्रकाशित गरेको मोबाइल इन्टरनेट प्रयोगलाई बढावा दिन आवश्यक नीतिगत विषय (एक्सिलेरेटिङ मोबाइल इन्टरनेट एडप्सन पोलिसी कन्सिडरेसन) सम्बन्धी प्रतिवेदनले यस्तो तथ्य बाहिर ल्याएको हो ।

यद्यपि ती चार अर्ब मानिसमध्ये ३.४ अर्ब अर्थात ८५ प्रतिशतमा यसअघि नै मोबाइल ब्रोडब्यान्ड नेटवर्क कभरेज (पहुँच क्षेत्र) पुगिसकेको छ । मोबाइल इन्टरनेटबाट वन्चित हुनेहरूमा मुख्यतः अति गरिब, ग्रामीण क्षेत्र, महिला र अपाङ्गता भएका व्यक्तिहरू छन् ।

यसले डिजिटल विकासका लागि पूर्वाधार नीति मात्र अपर्याप्त हुने देखाएको छ । प्रतिवेदनले डिजिटल डिभाइड (डिजिटल विभेद) लाई मेट्न मोबाइल इन्टरनेट आत्मसाथ र प्रयोगलाई मुख्य चुनौतीको रुपमा उल्लेख गरेको छ ।

प्रतिवेदनले न्यून र मध्यम आयस्तर भएका देशहरूमा मोबाइल इन्टरनेट आत्मसाथ गर्ने दिशामा रहेका विभिन्न पाँच व्यवधानसँग जुध्न नीतिगत सुझाव समेत प्रस्तुत गरेको छ । जसमा इन्टरनेट चल्ने मोबाइल र डेटाको सर्वसुलभतालाई मुख्य रुपमा जोड दिइएको छ ।

त्यस्तै जनचेतना तथा मोबाइल इन्टरनेटको ज्ञान, यसको फाइदा र उनीहरूको जीवनको आवश्यकता तथा लक्ष्य प्राप्तिमा सहयोग पुग्ने डिजिटल सीप सम्बन्धी रणनीति समेत आवश्यक छ ।

सान्दर्भिक किसिमका सामग्री तथा सेवाहरू सहित लोकल डिजिटल इकोसिस्टमको विस्तार र सुरक्षाको सरोकारलाई समेत सम्बोधन गर्न आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।

यसका साथै नेटवर्क तथा नेटवर्क सक्षम बनाउने आधार (विद्युत, तालिम तथा खरिदबिक्रीको सुविधा, परिचयपत्र आदि), मोबाइल उपकरणको उपयोगिता, सामग्री र सुविधाको विस्तारमा समेत ध्यान दिनुपर्ने देखिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१