close

राउटरका कारण इन्टरनेटमा आउने समस्या समाधान गर्दै प्राधिकरण

टेकपाना टेकपाना

असोज ५, २०७८ १५:७

राउटरका कारण इन्टरनेटमा आउने समस्या समाधान गर्दै प्राधिकरण

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले राउटरका कारण इन्टरनेटमा आउने समस्यालाई समाधान गर्ने गरी प्रक्रिया अघि बढाएको छ । त्यसका लागि प्राधिकरणले राउटरको मापदण्ड तय गर्ने भएको हो ।

नेपाली बजारमा इन्टरनेट सेवाप्रदायकले उपलब्ध गराउने राउटर कमसल र प्रभावकारी नभएको भन्दै धेरै गुनासो आउने गरेका छन् ।

निःशुल्क राउटर भन्दै उपलब्ध गराइने त्यस्ता राउटरको क्षमता राम्रो नहुँदा ग्राहकले तोकेजति इन्टरनेटको मज्जा लिन पाइरहेका हुँदैनन् । यो विषय स्वयं इन्टरनेट सेवाप्रदायक आफैंले स्वीकार्दै आएका छन् ।

सेवाप्रदायकले ग्राहकलाई बढी क्षमताको राउटर आवश्यक परेको खण्डमा छुट्टै किन्न सकिने भन्दै सुझावसमेत दिने गरको पाइन्छ । यसले पनि हाम्रो घरमा प्रयोग हुने राउटरको क्षमता कमसल हुने विषयलाई पुष्टि गर्छ ।

राउटर कमजोर हुँदा त्यसले आवश्यकता अनुसार काम गर्न सक्दैन । त्यो हुँदा समय-समयमा इन्टरनेट नचल्ने , एउटा काेठाबाट अर्को काेठामा वाई-फाई नटिप्ने, कहिले काहिँ इन्टरनेट स्लो हुने लगायतका समस्या आइरहेका हुन्छन् ।

प्रयोगकर्ताले भोग्ने यस्तै समस्याको समाधानका लागि प्राधिकरणले राउटरको मापदण्ड तयार पार्ने भएको हो । त्यसका लागि हाल प्राधिकरणले एउटा समिति गठन गरी अध्ययन अघि बढाएको छ ।

प्राधिकरणका निर्देशक मिनप्रसाद अर्यालको संयोजकत्वमा गठन गरिएको उक्त समितिमा बाहिरी विज्ञका साथै इन्टरनेट सेवाप्रदायक संघ नेपालका प्रतिनिधिसमेत रहेका छन् ।

उक्त समितिले नेपालमा भित्रिने राउटरको गुणस्तर तथा मापदण्ड तय गर्नेछ । जसमा राउटरको क्षमता, फिक्वेन्सी, वाई-फाई रेन्ज, गुणस्तर, वारेन्टीलगायतको विषय समेटिने अर्यालले बताएका छन् ।

अर्यालका अनुसार उक्त मापदण्डमा राउटरको विषयमा प्राधिकरणको भूमिका के हुने, सेवाप्रदायकको भूमिका के हुने, राउटर जडान गर्दा कसरी गर्ने भन्ने विषय पनि समेटिने छ ।

त्यसका लागि अन्तर्राष्ट्रिय अभ्यास तथा हाल सेवाप्रदायकको प्रयोगका विषयमा अध्ययन भइरहेको छ । उक्त अध्ययनका आधारमा अबको एक महिनाभित्रै मापदण्ड तयारी गरी कार्यान्वयनमा ल्याइने अर्यालले बताए ।

त्योसँगै ग्राहकले राउटरमार्फत भोग्नुपर्ने इन्टरनेट समस्या केही हदसम्म भएता पनि समाधान हुने प्राधिकरणको अपेक्षा छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१