close

भर्चुअल रियालिटीमा काम गर्न १० हजारलाई रोजगारी दिँदै फेसबुक

टेकपाना टेकपाना

कात्तिक २, २०७८ ७:४१

भर्चुअल रियालिटीमा काम गर्न १० हजारलाई रोजगारी दिँदै फेसबुक

काठमाडौं । फेसबुकले मेटाभर्समा काम गर्ने १० हजारलाई अवसर प्रदान गर्ने भएको छ । युरोपियन मुलुकलाई लक्षित गर्दै मेटाभर्समा ठूलो लगानी गर्ने तयारी गरिरहेको फेसबुकले यसबाट १० हजारले रोजगारी पाउने बताएको हो ।

मेटाभर्स अर्थात यस्तो अनलाइन दुनियाँ, जहाँ भीआर हेडसेट प्रयोग गरी मान्छेले एकअर्कासँग कुराकानी गर्न, गेम खेल्न तथा काम गर्न सक्नेछन् । फेसबुकका मालिक मार्क जुकरबर्गले यो अवधारणाको नेतृत्व गरिरहेका छन् ।

यसलाई फेसबुकले महत्वपूर्ण परियोजनाको रुपमा अघि बढाएको छ ।

पछिल्लो समय सम्पूर्ण सेवा नै डाउन हुने, अदालत फेस गर्नुपर्ने जस्ता झन्झट झेलिरहेको फेसबुकले युरोपियन बजारलाई लक्षित गर्दै मेटाभर्समा ठूलो लगानी गर्ने विषय बाहिर आएको हो ।

‘मेटाभर्सले नयाँ रचनात्मक सामाजिक र आर्थिक अवसरहरू सिर्जना गर्नेछ । यस्तोमा युरोपले सुरुदेखि नै यसलाई आत्मासाथ गर्दै आएको हो । त्यसैले पनि युरोपमा यसको थप विस्तार गर्ने तयारी कम्पनीले गरेको हो,’ फेसबुकले ब्लग पोस्टमा भनेको छ ।

साथै युरोपमा लगानी गर्दा ठूलो बजारको अवसर पनि रहन्छ । फेसबुकले भनेको छ, ‘यहाँ विश्वका उत्कृष्ट विश्वविद्यालय र प्रतिभाहरू छन् । उनीहरूलाई लक्षित गर्दै मेटाभर्स युरोप लक्षित गरिएको हो ।

फेसबुकका अनुसार नयाँ रोजगारीको अवसर आगामी ५ वर्षभित्र परिपूर्ति भइसक्नेछन् । त्यसमा यस क्षेत्रमा विज्ञ तथा साधारण इन्जिनियर समेतले काम गर्ने अवसर प्राप्त गर्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२