close

यस्तो हुनेछ सामसङको नयाँ फोन ‘ग्यालेक्सी एस २२’

टेकपाना टेकपाना

कात्तिक ३, २०७८ ९:३३

यस्तो हुनेछ सामसङको नयाँ फोन ‘ग्यालेक्सी एस २२’

काठमाडौं । सामसङको नयाँ उत्पादन ग्यालेक्सी एस २२ को सार्वजनिक हुने मिति नजिकिँदै गर्दा फोनको बारेमा विविध जानकारी बाहिरिरहेको छ । पछिल्लो समयमा भने फोनको डिजाइनबारे जानकारी बाहिरिएकाे छ ।

चर्चित टिप्सटर ‘आइस युनिभर्स’ ले आफ्नो ट्वीटर अकाउन्टमार्फत सामसङ ग्यालेक्सी एस २२ र एस २२ प्लसको स्क्रिन प्रोटेक्टर ग्लासको केही तस्वीर सार्वजनिक गर्दै आउने फोनको डिजाइन र साइज कस्तो हुनेछ भनेर उल्लेख गरेका छन् ।

उनका अनुसार एस २१ भन्दा एस २२ अलिकति मोटो साइजको हुनेछ र फोनको चारकुना एस २१ भन्दा अलिकति गोलो हुनेछ ।

यसले गर्दा हेर्दा खासै फरक नदेखिन सक्छ । यद्यपि फोनका अन्य फिचरहरू भने परिवर्तन हुने बताइएको छ । 

त्यस्तै फोनको डिस्प्ले ६.२ इन्चको हुने पनि अनुमान गरिएको छ । यदि यो सूचना सही रहेछ भने एस२२ र एस २२ प्लस केही ह्यान्डीभन्दा पनि अलिकति ठूलो हुनेछ ।

यी लगायत फोनमा चिपसेट र क्यामेरा पनि अपग्रेड हुने चर्चा रहेको छ । बजारकै चर्चालाई मान्ने हो भने यो फोन सेतो, कालो, रोज रेड र हरियो रङमा उपलब्ध हुनेछ ।

त्यस्तै फोनमा ३,७०० एमएएच को ब्याट्री उपलब्ध हुने बताइएको छ, जब कि ग्यालेक्सी एस२१ मा ४००० एमएएचको ब्याट्री प्रयोग गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२