close

इन्टरनेट सेवाप्रदायकले कात्तिकभित्र विद्युत प्राधिकरणसँग पोल भाडा सम्झौता गर्नुपर्ने

टेकपाना टेकपाना

कात्तिक ११, २०७८ ९:५४

इन्टरनेट सेवाप्रदायकले कात्तिकभित्र विद्युत प्राधिकरणसँग पोल भाडा सम्झौता गर्नुपर्ने

काठमाडौं । इन्टरनेट सेवाप्रदायकले कात्तिक मसान्तभित्र नेपाल विद्युत प्राधिकरणसँग पोल भाडा सम्झौता गरिसक्नुपर्ने भएको छ ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले बिहीवार एक सूचना प्रकाशित गर्दै नेपाल विद्युत प्राधिकरणसँग सम्झौता नगरी टेलिफोन तथा इन्टरनेट सेवा सञ्चालन गरिरहेका सेवाप्रदायकको नाममा यस्तो सीमा तय गरेको हो ।

यसका लागि सेवाप्रदायकहरूले विद्युत पोलहरू प्रयोग गरेको स्थान, परिणाम र अवधि स्वयम्‌ घोषणा गर्नुपर्नेछ । केही सेवाप्रदायकले प्राधिकरणसँग सम्झौता नै नगरी विद्युत पोल प्रयोग गरिरहेका छन् ।

यसअघि पोल भाडा विवाद चर्किँदै जाँदा नेपाल विद्युत प्राधिकरणले इन्टरनेट सेवा नै अवरुद्ध हुने गरी देशव्यापी रुपमा इन्टरनेट केबल काट्ने अभियान सुरु गरेको थियो ।

चर्को दबाब पछि बसेको सरोकारवाला निकायहरूको बैठकले विद्युत प्राधिकरणलाई तत्काल तार नकाट्न निर्देशन दिँदै पोल प्रयोग गरी सेवा विस्तार गरेका, तर सम्झौता नगरेका सेवाप्रदायकलाई कात्तिक मसान्तभित्र सम्झौतामा आउने समय दिइएको थियो ।

साथै पोल भाडा महँगो भएको विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव विनोद सिंहको संयोजकत्वमा अध्ययन समितिसमेत गठन भएको थियो ।

समितिलाई पोल भाडा विवाद समाधानका लागि मंसिर १५ गतेसम्म प्रतिवेदन बुझाउने म्याद दिइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१