close

ह्वावेबाट छुट्टिएको अनर बन्यो चीनको तेस्रो ठुलो स्मार्टफोन ब्रान्ड

टेकपाना टेकपाना

कात्तिक १२, २०७८ ११:२७

ह्वावेबाट छुट्टिएको अनर बन्यो चीनको तेस्रो ठुलो स्मार्टफोन ब्रान्ड

काठमाडौं । स्मार्टफोन ब्रान्ड अनर चिनियाँ स्मार्टफोन बजारमा तेस्रो ठुलो ब्रान्डको रूपमा उदाएको छ । अनर यही वर्षको सुरुवातबाट चीनकै ठुलो प्रविधि कम्पनी ह्वावेसँगबाट छुट्टिएर स्वतन्त्र ब्रान्डको रूपमा अघि बढेको हो ।

स्वतन्त्र ब्रान्डको रूपमा अघि बढेसँगै कम्पनीले अनर फिप्टी, म्याजिक थ्री लगायतका विभिन्न उत्पादन बजारमा सार्वजनिक गरिसकेको छ । जसको प्रतिफल पछिल्लो त्रैमासिकमा स्मार्टफोन बजार पठाउने हिसाबले चिनियाँ बजारमा अनर तेस्रो ठुलो ब्रान्ड बन्न सफल भएको अध्ययन संस्था काउन्टरपोइन्टले जनाएको छ ।

अध्ययन प्रतिवेदनका अनुसार अनरले अघिल्लो त्रैमासिक भन्दा ९६ प्रतिशत बढी स्मार्टफोन बिक्री गरेको छ । योसँगै कम्पनीले चिनियाँ स्मार्टफोन बजारमा १५ प्रतिशत हिस्सा ओगट्न सफल भएको छ ।

जुन अन्य चिनियाँ ब्रान्ड भिभो र ओप्पो भन्दा केही कम हो । अध्ययन अनुसार चिनियाँ बजारमा भिभो हाल २३ प्रतिशत बजार हिस्साका साथ पहिलो र ओप्पो २० प्रतिशत हिस्साका साथ दोस्रोमा रहेको छ । भने, अर्को चिनियाँ ब्रान्ड साओमी १४ प्रतिशत बजार हिस्साका साथ चौथो स्थानमा रहेको छ ।

अध्ययन प्रतिवेदन अनुसार यो त्रैमासिकमा स्मार्टफोनको बिक्री अघिल्लो त्रैमासिकको तुलनामा ९ प्रतिशतले घटेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१