close

ह्याकरले लिक गरिदियो गोड्याडीमा रहेका १२ लाख वर्डप्रेस साइटका पासवर्ड

टेकपाना टेकपाना

मंसिर ७, २०७८ २०:१६

ह्याकरले लिक गरिदियो गोड्याडीमा रहेका १२ लाख वर्डप्रेस साइटका पासवर्ड

काठमाडौं । गोड्याडीका १२ लाख ग्राहकको वेबसाइट र ई-मेलको पासवर्ड लिक भएको छ । डोमेन रजिस्ट्रार तथा वेब होस्टिङ प्लेटफर्म गोड्याडीले ठूलो सङ्ख्यामा रहेका आफ्ना ग्राहकको क्रडेन्सियल चोरी गरी ह्याकरहरूले लिक गरिदिएको जानकारी सोमबार बाहिर ल्याएको हो ।

म्यानेज्ड वर्डप्रेसका सक्रिय तथा निष्क्रिय दुवै किसिमका ग्राहकहरूका १२ लाख ई-मेल एड्रेस मात्र नभएर उनीहरूको एड्मिनिस्ट्रेटर पासवर्ड समेत बाहिरिएको छ । घटनाको विषयमा कम्पनीले निकालेको विज्ञप्तिअनुसार सेक्युरिटी एन्ड एक्सचेञ्ज कमिसनमा उजुरी गरिसकिएको जनाएको छ ।

जसअनुसार नोभेम्बर १७ तारिखका दिन अनधिकृत तेस्रो पक्षले गोड्याडीको म्यानेज्ड वर्डप्रेस होस्टिङमा पहुँच बनाएको कुरा थाहा पाएको थियो । तर ह्याकरले सेप्टेम्बर ६ तारिखमै गोड्याडीको सिस्टममा पहुँच बनाइसकेको बताइएको छ ।

कम्पनीले बताए अनुसार ‘कम्प्रोमाइज्ड पासवर्ड’ मार्फत प्रयोगकर्ताको जानकारी बाहिरिएको हो । जसले ह्याकरहरूलाई  म्यानेज्ड वर्डप्रेसको सिस्टमको लिगेसी कोडमा प्रवेश गर्ने अनुमति दिने गर्दछ ।

यसका १२ लाख प्रयोगकर्ताको म्यानेज्ड वर्डप्रेस ईमेल एड्रेससँगै ग्राहकको नम्बर समेत बाहिरिएको छ । ईमेल एड्रेस माथिको यस किसिमको पहुँचले ती ग्राहकमाथि फिशिङ आक्रमण खुला गरिदिएको गोड्याडीले बताएको छ ।

ग्राहकहरूको वर्डप्रेस एड्मिनिस्ट्रेटर पासवर्ड प्रोभिजनिङको समयमा वा आफ्नो साइट तयार पार्दाको समयमा सिर्जना हुने गर्दछ । त्यसमा समेत ह्याकरले पहुँच बनाएको उल्लेख छ । यो ह्याकिङबाट प्रभावित ग्राहकले प्रयोग गरिरहेका पासवर्ड गोड्याडीले  रिसेट गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२