close

एक्सेस वर्ल्डको सर्भर समस्याले ४ दिनदेखि विद्यालयको पठनपाठन अवरुद्ध

टेकपाना टेकपाना

फागुन ११, २०७७ २०:१३

एक्सेस वर्ल्डको सर्भर समस्याले ४ दिनदेखि विद्यालयको पठनपाठन अवरुद्ध

काठमाडौं । प्रविधिको प्रयोग सधैं फलदायी मात्रै हुँदैन भन्ने उदाहरण हो यो । रसुवा जिल्लामा रहेको कालिका हिमालय माध्यामिक विद्यालयमा विगत ४ दिनदेखि पठनपाठन र व्यवस्थापन कार्य अवरुद्ध भएको छ । जसको कारण डेटा सर्भर कम्पनी हो ।

विद्यालयको पठनपाठन, सञ्चालन तथा व्यवस्थापनका लागि तयार गरिएको सिस्टमको डेटा स्टोरेज गरिएको सर्भरमै समस्या आएको छ । जसका कारण विद्यालयले सार्वजनिक गर्नुपर्ने परीक्षाको नतिजा प्रकाशन समेत अन्याैलमा परेको छ ।

‘हामी ई–जोनले विद्यालयहरुका लागि उपलब्ध गराउँदै आएको सिस्टम प्रयोग गरिरहेका छौं,’ विद्यालयका एक प्रतिनिधिले टेकपानासँग भने, ‘ई–जोनले एक्सेस वर्ल्ड नामक कम्पनीको सर्भरमा डेटा स्टोरेज गरेको रहेछ । अहिले एक्सेस वर्ल्डमा देखिएको समस्याले हाम्रो सिस्टम ४ दिनदेखि चलिरहेको छैन ।’

विद्यालयले परीक्षाको नतिजा यही फागुन १४ गते शुक्रबार सार्वजनिक गर्ने भनी निर्णय नै गरिसकेको छ । उनी थप सुनाउँछन, ‘तर, हालसम्म परीक्षामा विद्यार्थीले प्राप्त गरेको तथ्याङ्क सिस्टममा अपलोड गर्न सकिएको छैन । यस्तोमा परीक्षाको नतिजा सार्वजनिक गर्ने विषय नै अन्याैलमा परेको छ ।’

यो विषयमा विद्यालयले ई–जोनलाई फोन गरेर धेरैपटक गुनासो गरेको उनले बताए । तर, ई–जोनले एक्सेस वर्ल्डको सर्भरमा आएको समस्याका कारण भन्दै विगत ४ दिनदेखि समस्या समाधानका लागि काम भइरहेको मात्रै बताउँदै आएको छ ।

‘हामीले सिधै एक्सेस वर्ल्डसँग कुराकानी गरेका हौं,’ उनले भने, ‘उनीहरुबाट पनि सिस्टम बन्दै गरेको मात्रै जवाफ आउने गरेको छ । यसले विद्यालयको पठन पाठनमा समेत समस्या परिरहेको छ ।’

उक्त सिस्टममै कतिपय विद्यालयका आवश्यक डकुमेन्ट समेत रहेका छन् । तर, उक्त सिस्टममा कुनै एक्सेस प्राप्त गर्न नसक्दा कतिपय निर्णय गर्नुपर्ने काम समेत रोकिएका छन् । यस्तोमा ई–जोनबाट हरेक दिन २ घण्टामा समाधान हुन्छ, ४ घण्टामा हुन्छ, ६ घण्टामा हुन्छ भनेर म्यासेजमात्रै आइरहेको उनी सुनाउँछन् ।

भन्छन्, ‘तर, समस्याको समधान भने भएको छैन । आज अर्थात मंगलबार पनि बिहान १० बजेसम्म समाधान हुने म्यासेज आएको थियो । तर, अहिलेसम्म उक्त समस्या समाधान भएको छैन ।’

यस विषयमा ई–जोनका संस्थापक एवं सीईओ दामोदर अधिकारी भन्छन्, ‘म पनि आज अर्थात मंगलबार बिहानमात्रै मात्रै एक्सेस वर्ल्डसँग बैठकमा बसेर आएको हुँ । हाम्रो फाइलको साइज ठूलो हुँदा यस्तो समस्या भएको हो । हाम्रो डेटा विभिन्न हार्ड डिक्समा राइट हुँदै गएको रहेछ । यसरी सबै डेटालाई ठूलो साइजको एउटै हार्डडिक्समा लैजान खोज्दा यो समस्या आएको हो ।’

उनका अनुसार आइतबार साँझ एक पटक सेवा सञ्चालनमा अएको थियो । तर, सोही दिन राति ८ बजेबाट पुनः सेवा बन्द भयो । त्यसपश्चात अहिलेसम्म उक्त समस्या समाधान हुन सकेको छैन । सेवा कहिलेदेखि पुनः सञ्चालनमा आउँछ भन्ने विषयको कुनै यकिन नभएको उनी बताउँछन् ।

अर्कोतर्फ एक्सेस वर्ल्डका प्रतिनिधि उत्सव सिलवालका अनुसार स्टोरेज ‘फेलियर’ हुँदा यस्तो समस्या आएको बताउँछन् । पुरानो स्टोरेजबाट नयाँ स्टोरजमा फाइल ट्रान्सफर गर्दा नयाँ हार्ड डिक्सले डेटा एप्रुभ गरिरहेको छैन । उनी भन्छन्, ‘त्यसैले तत्कालको लागि अपग्रेडमा काम गरिरहेका छौं । त्यो भएसँगै हामी अर्को सर्भरमा डेटा ट्रान्सफर गर्छौं ।’

‘यो समस्या आज १० बजेसम्म समधान हुन्छ भन्ने थियो । त्यसका लागि हामी रातभर काम गरिरहेका थियौं । तर, माइग्रसेनको कार्य पुनः असफल भयो,’ उनले अगाडि भने, ‘अहिले पनि हामी त्यही डेटा माइग्रेसनको काम गरिरहेका छौं । सायद आज रातभरमा माइग्रेसनको काम सम्पन्न हुनेछ । त्यसो भएको खण्डमा भोलिबाट हामी सेवा सञ्चालनमा ल्याउन सक्छौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१