close

सफ्टवेयरको सोर्स कोड चोरी गरी बिक्री गर्ने ३ जना प्रक्राउ

टेकपाना टेकपाना

चैत २, २०७७ १४:६

सफ्टवेयरको सोर्स कोड चोरी गरी बिक्री गर्ने ३ जना प्रक्राउ

काठमाडौं । सफ्टवेयरको सोर्स कोड चोरी गरी त्यसैका आधारमा अन्य ग्राहकलाई सेवा बिक्री गर्ने तीन जनालाई प्रहरीले प्रक्राउ गरेको छ । नेशनल सफ्टवेयर एण्ड आईटी सोलुसन प्रालिले निर्माण गरेको सफ्टवेयरको सोर्स कोड/युजर इन्टरफेस चोरी गरी प्रिफेस टेक्नोलोजी प्रालीले दूरुपयोग गरेको आरोप लागेको छ ।

प्रहरीका अनुसार प्रिफेस टेक्नोलोजीले नेशनल सफ्टवेयरले निर्माण गरेको सफ्टवेयरमा सामान्य परिवर्तन बाहेक हुवहु नक्कल गरी विभिन्न संघ संस्थालाई बिक्री वितरण गरेको हो । यस विषयमा प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोमा सुरुमा निवेदन प्राप्त भएको थियो ।

उक्त निवेदनका आधारमा ब्यूरोले विशिष्टीकृत प्राविधिक विश्लेषण तथा अनुसन्धान गर्दा प्रिफेस टेक्नोलोजीले सोर्स कोड तथा युजर इन्टरफको दुरुपयोग गरेको पाइएको जनाएको छ । त्यसैका आधारमा उक्त कार्यमा संलग्न तीन जना कम्पनी सञ्चालकलाई प्रहरीले प्रक्राउ गरेको हो ।

उनीहरुलाई विद्युतिय कारोवार ऐन २०६३ विपरित कार्य गरेको भन्दै काठमाडौ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई तीन जना सञ्चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रक्राउ पर्नेमा दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ५ का बिमल केसी, रुपन्देही जिल्ला मायादेवी गाउपालिका वडा नम्बर ५ का श्याम बहादुर चौधरी र नवलपरासी (पूर्व) जिल्ला कावसोती नगरपालिका वडा नम्बर ७ का शंकर ज्ञवली रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुमाथि काठमाडौं जिल्ला अदालतको आइतबारको आदेशले ६ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । अन्य सञ्चालकहरु भने फरार रहेकाले खोजी कार्य जारी रहेको उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१