close

युट्युवको चिनियाँ प्रतिस्पर्धी बिलिबिलिलाई बजारको डेब्युमै झट्का

टेकपाना टेकपाना

चैत १६, २०७७ २०:३७

युट्युवको चिनियाँ प्रतिस्पर्धी बिलिबिलिलाई बजारको डेब्युमै झट्का

काठमाडौं । हङकङको शेयर बजारमा सार्वजनिक भए लगत्तै चिनियाँ भिडियो प्लेटफर्म बिलिबिलीको शेयर मूल्यमा भारी गिरावट आएको छ । शेयर बजारमा ७९० हङकङ डलरबाट कारोबारबाट सुरु गरेको कम्पनीले शेयर जारी गर्दाको मूल्यभन्दा २.२ प्रतिशतले कम भएको थियो ।

अहिले पुनः त्यो चार प्रतिशतले घटेको हो । बिलिबिली युट्युव जस्तै भिडियो प्लेटफर्म हो । तर कम्पनीले नेटफ्लिक्सको जस्तै सब्सक्रिप्सनबाट आम्दानी बढाउने अपेक्षा गरेको छ । 

हाल अमेरिकामा सूचिकृत चिनियाँ कम्पनीहरु एकाएक हङकङको शेयर बजारमा सूचिकृत हुन थालेका छन् । तिनै मध्ये पछिल्लो पटक सूचिकृत भएको कम्पनी हो, बिलिबिली । 

अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासन अन्तर्गत बढेको अमेरिकी नियामकहरुको अनुसन्धानका कारण चिनियाँ कम्पनीहरु हङकङमा सेकेण्डरी लिस्टिङको प्रयास गरिरहेका छन् ।

अमेरिकाले यसअघि नै तीनवटा चिनियाँ दूरसञ्चार कम्पनीहरुमाथि त्यस्तो प्रकार अनुसन्धान थालिसकेको छ । गत जनवरीमा न्यूयोर्क स्टक एक्सचेन्जले चिनियाँ राज्य समर्थित टेलिकम कम्पनीहरु चाइना टेलिकम, चाइना यूनिकम र चाइना मोबाइललाई निलम्बन गरेको थियो । 

बाहिर सूचिकृत कम्पनीहरु अहिले चीनमा फर्केर शेयर बजारमा सूचिकृत हुन खोजिरहेका छन् । यस्ता कम्पनीहरुले लगानीकर्तामाझ खासै उत्साह जगाउने नसकेको लगानीकर्ताहरु बताउँछन् । 

इन्टरनेटको दिग्गज कम्पनी बाइडु पनि गत हप्ता हङकङको शेयर बजारमा सूचिकृत हुँदा शेयर मूल्य थोरै थियो । यस्तै गत वर्ष जेडी डट कम पनि सेकेण्डरी लन्च हुँदा एकदमै कम मूल्यमा सूचिकृत भएको थियो । 

हाल बिलिबिली घाटामा गइरहेको कम्पनी हो । यद्यपी सन् २०१८ यता यसको आम्दानी तीन गुणाले बढेको बताइएको छ । सन् २०२० को अन्तिम त्रैमासिकमा उक्त प्लेटफर्ममा २० करोड दुई लाख औषत मासिक प्रयोगकर्ताहरु थिए । जुन २०१९ को सोही अवधिको तुलनामा ५५ प्रतिशतले बढेको थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३