close

सांसदले सोधेः एनसेलभन्दा टेलिकमको सेवा किन कमजोर ?

टेकपाना टेकपाना

चैत २०, २०७७ ११:३७

सांसदले सोधेः एनसेलभन्दा टेलिकमको सेवा किन कमजोर ?

काठमाडौं । सांसदहरूले सरकारी स्वामित्वको दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकमको गुणस्तरमाथि प्रश्न उठाएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार आयोजना गरेको एक अन्तर्क्रिया कार्यक्रममा धेरैजसो सांसदहरुले कम्पनीको सेवाको गुणस्तरमाथि असन्तुष्टि व्यक्त गरेका हुन् ।

सांसद प्रेम सुवालले निजी कम्पनीले दिनसक्ने गुणस्तरीय सेवा सरकारकै लगानी भएको कम्पनीले किन दिन नसकेको भन्दै प्रश्न गरे ।

‘सरकारले नसक्ने हो भने भोलिको दिनमा मन्त्रालय पनि निजीले नै चलाउनुपर्ने अवस्था आउनसक्छ,’ उनले भने, ‘सेवाको गुणस्तर हेर्दा टेलिकमकै कर्मचारीले पनि एनसेल लगायतका निजी कम्पनीको सेवा प्रयोग गरिरहेका हुनसक्छन् ।’

अर्का सांसद नवराज सिलवालले ललितपुरको बागमती गाउँपालिकामै मोबाइल सेवाले काम नगर्ने अवस्था रहेको बताए । ‘अर्कोतिर इन्टरनेको सुविधा नहुँदा ललितपुरकै ४२ स्कुलमा अनलाइन क्लास चलाउन सकिएन,’ उनले भने, ‘ललितपुरका गाउँपालिका बत्ती मुनिको अँध्यारो खेप्न विवस छन् ।’

त्यस्तै सांसदहरूले क्षमता नै नभएका सेवाप्रदायकलाई ठेक्का दिँदा ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गतका परियोजना समयमै सम्पन्न हुन नसकेको बताएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार राजधानीमा आयोजना गरेको छलफलमा सांसदहरूले यस्तो बताएका हुन् ।

प्रतिनिधिसभाको अर्थ समिति सभापति समेत रहेका सांसद कृष्णप्रसाद दाहालले सूचना महामार्ग परियोजना सम्पन्न भइसक्नुपर्ने बेलामा समेत कार्यप्रगति निकै कम भएको बताए ।

‘परियोजना पूर्वको तयारी नगरिकनै हतारमा आयोजना अगाडि बढाउने प्रवृत्तिले आयोजना नै सम्पन्न नहुनेसम्मको अवस्था आएको छ,’ उनले भने, ‘अर्कोतिर क्षमता नै नभएका सेवाप्रदायकलाई ठूला परियोजना जिम्मा लगाउने गरिएको छ । यसले पनि परियोजनामा ढिलाइ भइरहेको छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३