close

नेपालमै पहिलो पटक रोबोट सर्जरी सुरु गर्दै केएमसी अस्पताल

टेकपाना टेकपाना

चैत २३, २०७७ २०:४१

नेपालमै पहिलो पटक  रोबोट सर्जरी सुरु गर्दै केएमसी अस्पताल

काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) ले नेपालमै पहिलो पटक ‘रोबोटिक सर्जरी’ सुरु गर्ने भएको छ । अत्याधुनिक रोबोट मसिन ल्याएर ‘रोबोटिक सर्जरी’ थाल्ने तयारी अन्तिम चरणमा पुगेको अस्पतालले जनाएको छ ।

अत्याधुनिक रोबोटिक सर्जरीका लागि अस्पतालले करिब १० करोडको लागतमा सिन खरिद गरेको छ । जसबाट अबको केही महिनामा ‘रोबोटिक सर्जरी’ सुरु गरिने केएमसीका अध्यक्ष डा. सुनिल शर्माले जानकारी दिए ।

नेपालमै पहिलो पटक आफूहरुले नै रोबोटिक सर्जरी सुरु गर्न लागेको उनको दाबी छ । ‘अमेरिकाबाट मसिन खरिद गरिसकेका छौं,’ उनले भने, ‘अब आवश्यक प्राविधिक तयारी पुरा भएपछि नेपालमै पहिलो पटक सर्जरीमा रोबोट प्रयोग हुनेछ ।’

अत्याधुनिक र भरपर्दो उपचारका लागि न्यूरोलोजी सम्बन्धित शल्यक्रियामा रोबोट प्रयोग गर्न लागिएको अस्पतालले जनाएको छ । त्यसपछि अन्य शल्यक्रियामा पनि रोबोटको प्रयोग गरिने बताइएको छ ।

रोबोटिक सर्जरीमा चिकित्सकले बनाएको योजनामा रोबोटको सहायताले लिएर अप्रेसन गरिन्छ । सुक्ष्म एवम् जटिल शल्यक्रियामा रोबोटको प्रयोग गर्दा शल्यक्रियामा धेरै हदसम्म सहजता र सफलता मिल्ने अस्पतालका वरिष्ठ न्यूरो सर्जन प्रा.डा. अमित थापाले बताए ।

‘यसमा रोबोटले नै सबै शल्यक्रिया गर्ने भने होइन,’ उनले अगाडि भने, ‘सर्जनले योजना तयार पारेर रोबोटको सहायतामा अपरेसन गर्ने हो ।’ स–साना अगंमा पुगेर गरिने सुक्ष्म अप्रेशनमा सर्जनको हात काप्न सक्छ । त्यस्तो अवस्थामा रोबोटको सहायता लिएको खण्डमा उपचार सफल पार्न सजिलो हुन्छ ।

सानो प्वाल बनाएर गर्नुपर्ने अपरेसन र शरीरको संवेदनशील अंगमा गरिने जटिल अपरेसनहरुमा रोबोटको प्रयोग निकै महत्वपूर्ण मानिन्छ । केएमसीको दाबी अनुसार नेपालका कुनैपनि अस्पतालमा हालसम्म ‘रोबोटिक सर्जरी’ सुरु भएको छैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१