close

यस्तो छ ५३ करोड फेसबुक प्रयोगकर्ताको डेटा लिकको असली कारण

टेकपाना टेकपाना

चैत २६, २०७७ १२:११

यस्तो छ ५३ करोड फेसबुक प्रयोगकर्ताको डेटा लिकको असली कारण

काठमाडौं । केही दिनअघि फेसबुकको ५३ करोड ३० लाख प्रयोगकर्ताहरुको डेटा इन्टरनेटमा लिक भयो । ती डेटाहरुमा उनीहरुको प्रोफाइल नेम, फेसबुक आइडी नम्बर, ईमेल एड्रेस र फोन नम्बरहरु थिए ।

फेसबुकले आफ्नो प्रारम्भिक प्रतिक्रियामा ती डेटा २०१९ मै लिक भइसकेको बताएको थियो । जुन बगको कारणले ती डेटा लिक भएका थिए, त्यसको सेक्युरिटी प्याच कम्पनीले त्यसै वर्षको अगस्टमा ल्याइसकेको बताएको बतायो ।

फेसबुकले यो समाचारलाई पुरानो घटनासँग जोडेर सामान्यीकरण गर्न खोजे पनि पछिल्लो घटनाले समग्र सुरक्षा क्षेत्रको अध्यारो चित्र हामीमाझ प्रस्तुत गरेको छ । ती डेटा सर्वप्रथम २०१९ मा क्रिमिनल डार्क वेबमा देखा परेको थियो । तर त्यसबेला सो घटनालाई लिएर फेसबुकले विस्तृतरुपमा केही पनि खुलासा गरेको थिएन ।

तर दुई दिनअघि मंगलबार मात्र फेसबुकका प्रोजेक्ट म्यानेजमेन्ट निर्देशन माइक क्लार्कले आफ्नो ब्लगपोस्ट मार्फत उक्त घटना घटेको कुरा स्वीकार गरेका छन् ।

तर यहाँ एउटा दुविधा के छ भने फेसबुकको डेटा ब्रिच तथा एक्सपोजरका धेरै घटनाहरु छन् । यसैले हाल सार्वजनिक भएको डेटाको उत्पत्ति कुन ब्रिचको घटनासँग जोडिएको छ भन्ने कुराको यकिन छैन ।

२०१९ को अप्रिलमा थर्ड पाटीले एक्सपोज गरी सेक्युरिटी फर्म अपगार्डले खुलासा गरेको ब्रिचको घटना हो वा २०१८ मा फेसबुले आफ्नो नीति परिवर्तन गर्न अघि ह्याकरहरुले सार्वजनिक गरेको लाखौं डेटा हो ? वा टेकक्रन्चले २०१९ को सेप्टेम्बरमा रिपोर्ट गरेको घटना हो वा २०१८ मा क्याम्ब्रिज एनालिटिकासँग जोडिएको थर्ड पार्टी डेटा शेयरिङ काण्डसँग सम्बन्धित छ ?

तर अनुसन्धानको क्रममा पछिल्लो समय सार्वजनिक भएको डेटा माथिका कुनै घटनासँग पनि सम्बन्धित नभएको कुरा बाहिर आएको छ । मंगलबारको ब्लगमा पाँच दिनअघि सार्वजनिक भएको त्यति ठूलो ५३ करोड ३० लाख डेटा यसअघिका घटनासँग नजोडिएर फरक डेटासेट भएको फेसबुकले स्वीकार गरेको छ ।

ह्याकरहरुले फेसबुकको एड्रेस बूक कन्ट्याक्ट्स इम्पोर्ट फिचरमा रहेको त्रूटिलाई दुरुपयोग गरी त्यति ठूलो डेटामा एक्सेस पुर्‍याएका थिए ।

फेसबुकले अगस्ट २०१९ मै भल्नरेबिलिटीका लागि प्याच उपलब्ध गराइसकेको बताए पनि यस अघि त्यो कतिपटक दुरुपयोग भइसकेको थियो भन्ने कुराको कुनै यकिन छैन ।

१०६ मुलुकका ५३ करोडभन्दा धेरै फसबुक प्रयोगकर्ताहरुको सो डेटामा फेसबुक आईडी, फोन नम्बरलगायत फेसबुकका सुरुवाती प्रयोगकर्ता मार्क जुकरवर्ग र अमेरिकी यातायातमन्त्री पेट बुट्टिगिग तथा डेटा प्रोटेक्सनका लागि यूरोपियन यूनियन आयुक्त डिडियर रेन्डर्सको समेत डेटा रहेको छ ।

पछिल्लो डेटा ब्रिचमा शिकार हुने हाई प्रोफाइल सूचीमा अमेरिकी संघीय व्यापार आयोगबाट ६१ जना र अटोर्नी जनरलबाट ६५१ जना रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१