close

स्टार्टअपका लागि लगानीकर्तासँग जोडिने सुनौलो अवसर, यसरी दिनुहोस आवेदन

टेकपाना टेकपाना

बैशाख ५, २०७८ १३:६

स्टार्टअपका लागि लगानीकर्तासँग जोडिने सुनौलो अवसर, यसरी दिनुहोस आवेदन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले लगानीकर्ताहरुसँग जोडिन चाहने स्टार्टअपहरुसँग आवेदन माग गरेको छ । महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिको कार्ययोजना अनुसार मेन्टरसिप सहयोगसहित महासंघका लगानीकर्तासँग आवद्ध हुन इच्छुक उद्यमी (स्टार्टअप) हरूसँग शुक्रबारदेखि आवेदन आह्वान गरेको हो ।

महासंघले कृषि, उत्पादनमूलक, सूचना प्रविधि, सेवालगायतका क्षेत्रका लागि आवेदन खुला गरेको हाे । महासंघका अनुसार स्टार्टअप इकोसिस्टममा रुचि राख्ने स्टार्टअप एण्ड इनोभेशन समितिसँग आवद्ध रहेका लगानीकर्ताहरूसँग यसमार्फत जोडिन सकिने छ ।

जसले उद्यमी व्यवसायीलाई आफ्नो व्यवसाय विस्तारका लागि सहकार्य तथा सहजीकरण गर्न मद्धत पुग्ने अपेक्षा गरिएको छ । महासंघका अनुसार यो कुनै निश्चित फण्ड भने होइन । यसमा लगानीको सुनिश्चितता भने हुने छैन ।

तर, नवप्रवर्तनीय वस्तु, सेवा वा प्लेटफर्मको परिवेश वा उपयोगमा सम्भाव्य व्यवसायिक मोडेलको स्थापना/स्तरोन्नति गर्ने प्रक्रियामा रहेका उद्यम वा व्यवसायहरूको लागि यो आवेदन माग गरिएको हो ।

यसमा आवेदन दिनका लागि कम्तीमा एक वर्षअघिबाट सञ्चालनमा आएको हुनुपर्नेछ । कम्तीमा पनि एक वर्षको लेखा परीक्षण प्रतिवेदन भएको, कानूनी रुपमा दर्ता व्यवसाय योग्य मानिने छन् ।

आफ्नो व्यवसायमा सीप, ज्ञानको आधार र दह्रो प्रतिवद्धता प्रदर्शन गर्नसक्ने सशक्त समूहले यसमा आवेदन दिनसक्ने महासंघले जनाएको छ ।

आवेदनका साथ कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा कम्पनीको विधान (प्रबन्धपत्र, मेमोरेन्डम अफ एशोशिएसन, आर्टिकल अफ एशोशिएसन र सम्बन्धित अन्य रजिष्ट्रेशनहरू, प्यान/भ्याट दर्ता, कर चुक्ता प्रमाणपत्रहरु, कम्पनीको सञ्चालक समितिको माइन्युट, कम्पनीका प्रवर्द्धक/संस्थापकको बायोडेटा लगायतका आवश्यक दस्तावेज संलग्न हुनुपर्ने बताइएको छ ।

आवेदन दिन यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१