close

दूरसञ्चार क्षेत्रको आम्दानीमा उतारचढाव, यस्तो छ पछिल्लो ५ वर्षको तथ्याङ्क

टेकपाना टेकपाना

बैशाख ५, २०७८ १५:४५

दूरसञ्चार क्षेत्रको आम्दानीमा उतारचढाव, यस्तो छ पछिल्लो ५ वर्षको तथ्याङ्क

काठमाडौं । फेसबुक म्यासेन्जर, भाइबर, ह्वाट्सएपजस्ता ओभर दि टप (ओटीटी) सेवाप्रदायकको बढ्दो प्रयोगले पछिल्ला वर्षहरुमा टेलिकम कम्पनीको आम्दानीमा निकै ठूलो असर परिरहेको छ ।

यस्ता ओटीटी सेवाप्रदायक मार्फत हुने कलको बढ्दो संख्याले विशेषगरी अन्तराष्ट्रिय कलमार्फत हुने आम्दानी घटिरहेको छ ।

यसको असर सम्पूर्ण दूरसञ्चार क्षेत्रमै परिरहेको छ । नेपालको दूरसञ्चार क्षेत्रमा आम्दानी र ग्राहकको हिसाबले टेलिकम कम्पनीकै ९५ प्रतिशतभन्दा बढी हिस्सा रहेको छ ।

टेलिकम कम्पनीको आम्दानीमा आएको गिरावटको असर सम्पूर्ण दूरसञ्चार क्षेत्रको आम्दानीमा पर्ने स्वभाविक पनि हो ।

अझ गत वर्ष महामारिको रुपमा आएको कोभिड १९ का कारण टेलिकम कम्पनीका साथै इन्टरनेट सेवाप्रदायकको आम्दानीमा समेत असर पर्‍यो । जसले गर्दा नेपालको दूरसञ्चार क्षेत्रको आम्दानी गत आवमा अर्बमै सीमित हुने आँकलन गरिएको थियो ।

कोभिड १९ का कारण बजार चलायमान नहुँदा गत वर्ष दूरसञ्चार क्षेत्रको आम्दानी ९० अर्बको हाराहारीमै सीमित हुने आँकलन गरिएको थियो ।

गएको पुस मसान्तसम्म नेपाल दूरसञ्चार प्राधिकरणमा सेवाप्रदायकले बुझाएको आर्थिक विवरण अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा दूरसञ्चार सेवा प्रदायकको कुल आम्दानी ८७ अर्ब ३० करोड रहेको छ ।

जसमा ५७ वटा कम्पनीको मात्रै आर्थिक विवरण रहेको थियो । त्यसमा पछिल्लो समय केही कम्पनीले विवरण उपलब्ध गराएको हुनसक्छ । पुस मसान्तसम्म अधिकांश ठूलो सेवाप्रदायकले विवरण बुझाई सकेकाले बढीमा ९० अर्बको बजार आँकलन गरिएको थियो ।

प्राधिकरणले आव २०७६/०७७ मा भएको कुल आम्दानीबारे पूर्ण जानकारी हालसम्म पनि उपलब्ध भने गराएको छैन ।

तर, सेवाप्रदायकले आफ्नो कुल आम्दानीको दुई प्रतिशतले हुन आउने रकम ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) मा र ४ प्रतिशत रकम रोयल्टीको रुपमा बुझाउनुपर्ने हुन्छ ।

आव २०७६/०७७ मा आरटीडीएफमा कुल २ अर्ब ३७ लाख संकलन भएको प्राधिकरणको तथ्याङ्क छ । कुल आम्दानीको दुई प्रतिशतले हुन आउने रकम आरटीडीएफमा बुझाउने हुँदा आव २०७६/०७७ मा १ खर्ब १८ करोडको हाराहारीमा आम्दानी भएको अनुमान भने गर्न सकिन्छ ।

जुन आर्थिक वर्ष २०७५/०७६ को तुलनामा झन्डै १ अर्ब कम हो । प्राधिकरणको तथ्याङ्कअनुसार उक्त आवमा दूरसञ्चार क्षेत्रको आम्दानी १ खर्ब १ अर्ब ३५ करोडभन्दा बढी रहेको थियो ।

विगत पाँच वर्षमा दूरसञ्चार क्षेत्रको अवस्था :

आजभन्दा पाँच वर्षअघिको नेपालको दूरसञ्चार क्षेत्रको आम्दानी अर्बमै सीमित थियो । आर्थिक वर्ष २०७१/०७२ मा दूरसञ्चार क्षेत्रमा कुल ९८ अर्ब ९८ करोड आम्दानी भएको थियो ।

उक्त वर्ष आरटीडीएफमा १ अर्ब ९९ करोडभन्दा बढी सेवाप्रदायले बुझाएका थिए । त्यसपछिका वर्षहरुमा नेपालको दूरसञ्चार क्षेत्रको आम्दानीले खर्ब छुन थालेको हो ।

आव २०७२/०७३ मा दूरसञ्चार क्षेत्रको आम्दानी कुल १ खर्ब २ अर्ब ६५ करोड भएको थियो । त्यस्तै आव २०७३/०७४ मा पनि सोही अंकको आम्दानी हासिल गर्न दूरसञ्चार क्षेत्र सफल भएको थियो । उक्त आवमा १ खर्ब २ अर्ब ५६ करोड आम्दानी भएको प्राधिकरणको तथ्याङ्क उल्लेख छ ।

आव २०७३/०७४ मा आम्दानी केही खस्किएको भएता पनि आव २०७४/०७५ मा भने दूरसञ्चार क्षेत्रमा आम्दानीको हिसाबले राम्रो भएको तथ्याङ्कले देखाउँछ । उक्त आवमा कुल १ खर्ब ५ अर्ब ४० करोडभन्दा बढी आम्दानी भएको थियो ।

तर, आर्थिक वर्ष २०७५/०७६ मा भने उक्त रफ्तार कायम हुन सकेन । झण्डै ४ अर्बले बजार घट्दै उक्त आवमा दूरसञ्चार क्षेत्रको आम्दानी १ खर्ब १ अर्ब ३५ करोडभन्दा बढीमात्रै रहेको थियो ।

अझ आर्थिक वर्ष २०७६/०७७ मा उक्त आम्दानी १ अर्बले घट्दै १ खर्ब १८ करोडमै सीमित भएको थियाे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१