close

कोरोनाबाट बच्न घरबाटै डिजिटल कारोबार

टेकपाना टेकपाना

बैशाख १८, २०७८ ८:८

कोरोनाबाट बच्न घरबाटै डिजिटल कारोबार

काठमाडौं । कोभिड–१९ संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै बैंक तथा वित्तीय संस्थाहरूले सम्भव भएसम्म डिजिटल बैंकिङ सेवा बढीभन्दा बढी प्रयोगमा जोड दिन थालेका छन् ।

सरकारले कोभिड–१९ संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै मुलुकमा विषम परिस्थिति सिर्जना हुन थालेपछि बिहीबारदेखि काठमाडौँ उपत्याकालगायतका केही जिल्लामा १५ दिनसम्म निषेधाज्ञा जारी गरिएकाे छ ।

निषेधाज्ञाको समयमा पनि बैंक तथा वित्तीय संस्थाका कार्यालय र शाखाहरू खुला रहने भए पनि अत्यावश्यक कामबाहेक कार्यालयमा भीडभाड नगर्न आग्रह गरिएकाे छ ।

अघिल्लो वर्ष कोराेना संक्रमणको जोखिम न्यूनीकरण गर्न गरिएकाे बन्दाबन्दीयता सर्वसाधारण अनलाइनमा केन्द्रित हुँदा अनलाइन प्रयोगकर्ता ह्वात्तै बढेको समरण गर्दै राष्ट्र बैंकक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल अहिलेको विषम परिस्थितिमा अनलाइन काराेबारमा जोड दिनुको विकल्प नरहेको बताउँछन् ।

फागुन महिनामा मोबाइल बैंकिङमार्फत ४० अर्ब ३५ कराेड ९० लाख रुपैयाँ बराबरकाे काराेबार भएको तथा क्यूआर कोडमार्फत दुई अर्ब पाँच कराेड ५० लाख रुपैयाँ बराबरकाे काराेबार भएको जानकारी दिँदै बैंकले डिजिटल काराेबारलाई विस्तार गर्ने क्रममा पछिल्लो समय क्यूआर कोडको माध्यमबाट डिजिटल बैङ्किका लागि अभियानकै रूपमा विस्तार गरिरहेकाे उनले बताए ।

भुक्तानी प्रक्रियामा डेबिट/क्रेडिट कार्डको प्रयोग गर्दा नेपाली पैसा विदेशिने भएकाले क्यूआर कोडमार्फत भुक्तानी गर्दा नेपालको पैसा नबाहिरिने भन्दै उनले अहिलेको विषम परिस्थितिमा यसको महत्व बढेको बताए ।

हातमा स्मार्टफोन र इन्टरनेटको पहुँच पुगेपछि नगद नचाहिने भन्दै उनले एटीएम बुथ खोज्दै हिँड्ने र कोराेना लाग्ला कि भन्ने त्रासका बीच नगद झिक्नु नपर्ने भएपछि त यसले देशको डिजिटाइजेसन प्रक्रियामा योगदान दिने उनकाे भनाइ छ ।

समग्र अर्थतन्त्रलाई प्रविधिमैत्री तुल्याउने सन्दर्भमा क्यूआर कोड विस्तारले ठूलो योगदान पुग्ने भन्दै उनले यो प्रविधिको प्रयोगले नगदरहित काराेबारलाई प्रोत्साहनका साथै मुलुकको आर्थिक र सामाजिक रूपान्तरणमा समेत ठूलो योगदान पुग्ने बताए ।

दुई काराेबार निःशुल्क
अघिल्लो कोभिडका बेला अन्तरबैंक एटीएम काराेबार गर्दा छुट दिइए पनि त्यसलाई परिमार्जन गरी अन्तरबैंक काराेबार गर्दा प्रतिमहिना दुईवटा काराेबार निःशुल्क गरिएको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक कँडेल बताउँछन् ।

यसमा तत्काल फेरबदल गर्ने योजना नभएको उनको भनाइ छ अघिल्लो वर्ष कोराेना संक्रमण सुरु भएयता निःशुल्क प्रयोग हुँदै आएको अन्तरबैंक एटीएम काराेबार गत माघ महिनादेखि सःशुल्क भएको थियो ।

नेपाल राष्ट्र बैंकले कोराेना महामारीयता निःशुल्क गरिएकाे अन्तरबैंक एटीएम कारेबमर माघदेखि सशुल्क गराएको थियो । राष्ट्र बैंकले गत माघ १ गतेदेखि एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेकाे एटीएम कार्ड स्वदेशभित्रै अर्को बैंकको एटीएममा न्यूनतम दुुईवटा काराेबार निःशुुल्क गर्न सकिने व्यवस्था गरेकाे थियाे ।

‘घरबाटै काराेबार गराैं’
वाणिज्य बैंकहरूका सीईओहरूको छाता संगठन नेपाल बैंकर्स असोसिएसनले घरबाटै काराेबार गराैं, आफू र अरुलाई सुरक्षित राखाैं भन्ने नाराका साथ ग्राहकलाई डिजिटल बैंकिङ सेवाको उच्च सदुपयोग गर्न आग्रह गरेकाे छ ।

सरकारले कोभिड–१९ को दोस्रो लहरको प्रकोप नियन्त्रणका लगि उपत्यकालगायत देशका अन्य ठाउँमा समेत निषेधाज्ञा जारी गरेका कारण कोभिड–१९ को प्रभावबाट बच्न तथा जोखिम न्यूनीकरणका लागि असोसिएसनले डिजिटल बैंकिङका सेवाबाटै हुने कामका लागि बैंकमा नआउन आग्रह गरेकाे छ ।

बीकमा सेवा पनि अनलाइनबाटै

बीमा कम्पनीहरूको नियामक निकाय बीमा समितिले पनि कम्पनीहरूको कार्यप्रणाली सम्भव भएसम्म अनलाइनमार्फत गर्न आग्रह गरेकाे छ ।

जीवन तथा निर्जीवन बीमा कम्पनीहरूलाई निषेधाज्ञा अवधिभर अनलाइनमार्फत बीमालेख जारी गर्न समितिले निर्देशन दिएको हाे

समितिले सर्कुलर नै जारी गर्दै इजाजत प्राप्त सबै बीमा कम्पनीलाई बीमालेख अनलाइनबाट जारी गर्दा अनिवार्य रूपमा समितिबाट जारी भएका ऐन नियम र निर्देशिकाका साथै बीमकको अन्डराइटिङ म्यनलुममा अधिनमा रहनुपर्नेमा पनि ध्यानाकर्षण गराएकाे छ ।

बीमालेखको प्रस्ताव फाराम अनलाइनमार्फत भराउने र पर्याप्त रूपमा बीमा जोखिमांकन गरी बीमालेख जारी गर्न सकिने समितिले जनाएको छ । बीमालेख प्रस्तावको फाराम भर्दा ग्राहक पहिचान फाराम, फोटोलगायत अन्य जानकारीसमेत मिलाउनुपर्ने समितिको भनाइ छ । अनलाइनबाट नवीकरण गर्न सकिने व्यवस्था मिलाउन पनि समितिको निर्देशन छ । -गाेरखापत्र

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१