close

मध्यपहाडी लोकमार्गमा बिछ्याइयो ९ सय ७९ किलोमिटर फाइबर, लक्ष्य अनुसार भएन काम

टेकपाना टेकपाना

जेठ १८, २०७८ १५:४१

मध्यपहाडी लोकमार्गमा बिछ्याइयो ९ सय ७९ किलोमिटर फाइबर, लक्ष्य अनुसार भएन काम

काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी लोकमार्गलाई आधार मानेर सूचना महामार्ग निर्माण गर्ने सरकारको अभियानले लक्ष्य अनुसार गति लिन सकेको छैन । सूचना महामार्गका रुपमा लोकमार्गसहित सबै जिल्लाहरुका सदरमुकाम र नगरपालिकासम्म कुल ५ हजार ५ सय ३१ अप्टिक फाइबर बिछ्याउने गरी यो परियोजना अघि बढाइएको थियो ।

यद्यपि बैशाखसम्म केवल ९ सय ७९ किलोमिटर फाइबर बिछ्याउने काम सम्पन्न भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । करिब दश अर्ब रुपियाँको यो परियोजनालाई विभिन्न तीन ओटा प्याकेजमा छुट्याएर त्यसै अनुसार सेवा प्रदायकहरुलाई प्राधिकरणले फाइबर बिछ्याउने जिम्मा दिएको छ ।

जसमध्ये पूर्वका प्रदेश एक, दुई र बागमतीको जिम्मा नेपाल टेलिकमले पाएको थियो । नेपाल टेलिकमले मात्र नै हालसम्म सो क्षेत्रमा अप्टिकल फाइबर बिछ्याएको छ । यी तीन प्रदेशमा गरी कुल २ हजार १ सय ७९ किलोमिटर फाइबर बिछ्याउने सम्झौता भएको थियो । सम्झौता अनुसार हालसम्म करिब ४३ प्रतिशत मात्र काम सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

अघिल्लो बर्ष कोरोना संक्रमणका कारण लामो समय उपकरण र मजदुर नहुँदा प्रभावित बनेको पहिलो प्याकेज अन्तर्गतको यस्तो काममा पुनः कोरोनाकै प्रभाव देखिन थालेको टेलिकमले जनाएको छ । अन्य दुई ओटा प्याकेजमध्ये गन्डकी र लुम्बिनी तथा सुदूरपश्चिम र कर्णालीमा भने अहिलेसम्म कुनै भौतिक प्रगति हासिल भएको छैन ।

प्याकेज दुई अन्तर्गत यूटीएलले पाएको जिम्मेवारी समयमै सम्पन्न नगरेपछि ठेक्का रद्ध भएर त्यसको अदालतमा मुद्धा परेपछि हालसम्म टुंगो नलागेको स्थिति छ । त्यस्तै प्याकेज तीन अन्तर्गतको ठेक्का सम्झौता पाएको स्मार्ट टेलिकमले पनि तोकिएको समयमै काम सम्पन्न नगरेपछि ठेक्का रद्ध भएको थियो ।

लामो समय काम नै नभएपछि उक्त ठेक्का नेपाल टेलिकमले प्राप्त गरेको थियो । त्यस अन्तर्गत आवश्यक उपकरणका लागि टेलिकमले उपकरण खरिदको बोलपत्र लगायतका प्रक्रिया अघि बढाएको जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३