close

नक्कली फोटो र भिडिओ सामाजिक सञ्जालमा राख्दै हुनुहुन्छ ? सावधान !

टेकपाना टेकपाना

जेठ २४, २०७८ १३:३९

नक्कली फोटो र भिडिओ सामाजिक सञ्जालमा राख्दै हुनुहुन्छ ? सावधान !

काठमाडौं । पछिल्लो समयमा मानिसहरु सामाजिक सञ्जालमा अधिकांश समय बिताउने गरेका छन् । यसको प्रयोग बढेसँगै विभिन्न समस्या र विकृति पनि देखिन थालेका छन् । भाइरल हुन र अरुको चरित्रहत्या गर्न फेसबुक, युट्युव, टिकटक जस्ता सामाजिक सञ्जालमा नक्कली फोटो तथा भिडिओ पोस्ट भइरहेको छ । यस्ता गतिविधि बढिरहेपछि प्रहरीले सामाजिक सञ्जालका प्रयोगकर्तालाई सजग रहन आग्रह गरेको छ ।

फोटोशप र मल्टिलेट गरी व्यक्तिहरुको तस्वीर तथा भिडिओ दुरुपयोग भइरहेकाे भन्दै सजगता अपनाउन साइबर ब्यूराेले आग्रह गरेकाे हाे । साेमबार एक सूचना जारी गर्दै ब्यूराेले नक्कली फोटाे तथा भिडियो बनाई फेसबुक, टिकटक, युट्युव लगायतका सामाजिक सञ्जालमा राख्ने कार्य कानून विपरित भएकाले सचेत रहन आग्रह गरेको छ ।

‘तस्वीर, भिडिओ दुरुपयोग गर्ने खालका सामग्री प्रचलित कानूनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएको छ,’ ब्युरोकाे सूचनामा भनिएको छ, ‘सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने उद्देश्यबाट प्रकाशन, प्रसारण गरेको पाइए त्यस्ता गतिविधी गर्ने उपर प्रचलित कानून बमोजिम कारवाही हुँदै आएको छ ।’

यस्ता घटनासम्बन्धी प्राप्त निवेदन र उजुरीउपर निरन्तर अनुसन्धान भइरहेकाे समेत ब्यूराेले जनाएकाे छ । यो क्रम अहिलको बन्दाबन्दी, संक्रमणकालीन समयमा अझ बढी फैलिएकाले त्यस्ता कार्यहरु नगर्न/नगराउन ब्युरोले अनुरोध गरेको छ । साथै त्यस्ता गतिविधी गरेको पाइएमा विद्युतिय कारोवार ऐन, २०६३ अन्तर्गत कारबाही हुने साे सूचनामा उल्लेख छ ।

उजुरी कसरी गर्ने ?

यदि कसैले सामाजिक सञ्जालमा यस्ता सामग्री पाेस्ट गरिरहेका छन् भने तपाईंले साइबर ब्यूराेमा उजुरी दिन सक्नुहुन्छ । अनलाइनबाटै उजुरी गर्न यस्ताे छ प्रक्रिया:

  • ईमेलमार्फत ब्युरोमा उजुरी गर्न सुरुमा यहाँ क्लिक गर्नुहोस् ।
  • प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोलाई सम्बोधन गर्दै निवेदन लेख्नुहोस् र आफ्नो नाम तथा सम्पर्क नम्बर राखेर हस्ताक्षर गर्नुहोस् ।
  • यहाँ  गरी निवेदनको नमूना डाउनलोड गरेर आवश्यक विवरणहरु भर्न पनि सक्नुहुन्छ । अंग्रेजीमा निवेदनको नमूना आवश्यक भए यहाँ क्लिक गर्नुहोस् । 
  • साथमा आफ्नो नागरिकता तथा सवारी चालक अनुमति पत्र वा अन्य परिचय खुल्ने सरकारी परिचय पत्रको दुवै पट्टीको फोटोकपी अट्याच गर्नुहोस् । 
  • प्रमाणको रुपमा उजुरीसँग सम्बन्धित स्क्रीनसट तथा लिंकहरु समावेश गर्नुहोस् ।
  • यति गरेपछि सेन्ड बटन थिचेर साइबर ब्युरोलाई ईमेलमार्फत उजुरी टिपाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३