close

पेन्सन अब सोझै बैंक खातामा पठाइने

टेकपाना टेकपाना

जेठ २५, २०७८ ७:२५

पेन्सन अब सोझै बैंक खातामा पठाइने

काठमाडौं । सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीको मासिक निवृत्तिभरण रकम (पेन्सन) विद्युतीय कोष हस्तान्तरण (ईएफटी) बाट सोझै सम्बन्धित व्यक्तिको खातामा पठाउने व्यवस्था गरिएकाे छ । निवृत्तिभरण व्यवस्थापन कार्यालयले विगतमा बैंक लेखापढी र बैंककाे केन्द्रीय प्रणालीमार्फत पठाउँदा धेरैसमय लाग्ने गरेकाले अब साेझै खातावालाकाे खातामा साेझै रकम पठाउने व्यवस्था गरेकाे जनाएकाे छ ।

यसबाट निजामती, प्रहरी, जंगी र शिक्षकतर्फ करिब २ लाख ७६ हजार सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीहरुका लागि झण्डै ४ अर्ब निवृत्तिभरणका लागि निकासा हुन्छ । हाल निवृत्तिभरण व्यवस्थापन कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत यो रकम कर्मचारीको घरपायक स्थानको बैङ्कमा पठाउने गरेको छ ।

याे प्रणालीमार्फत केही दिनमै अवकाशप्राप्त राष्ट्रसेवक कर्मचारीको खातामा रकम पठाइने निवृत्तिभरण व्यवस्थापन कार्यालयका शाखा अधिकृत राजभाइ श्रेष्ठले बताए ।

निवृत्तिभरण व्यवस्थापनमा सरकारको ठूलो रकम खर्च हुने र सो रकम समयभित्रै सम्बन्धित व्यक्तिको खातामा नै सरकारी कोषबाट भुक्तानी हुने भएकाले सरकारको नगद प्रवाह व्यवस्थापनमा समेत प्रभावकारिता बढ्ने अपेक्षा गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१