close

जीपीएसबाट नियन्त्रण हुँदैछ हाम्रो जीवन

टेकपाना टेकपाना

असार २१, २०७८ १६:३२

जीपीएसबाट नियन्त्रण हुँदैछ हाम्रो जीवन

काठमाडाैं । हाम्रो दैनिकीमा ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) को नियन्त्रण रहँदै आएको छ । गत महिनामा मात्रै स्पेस एक्सले आफ्नो फाल्कन ९ रकेटमा जीपीएस स्याटेलाइटलाई मिडियम अर्थ अर्बिटमा पठाएको छ । केही समयपछि यसले तपाईंलाई लोकेसन सिग्नल दिन सुरु गर्नेछ ।

जसको मद्दतमा तपाईं आफूले चाहेको ठाउँमा सजिलै पुग्न सक्नुहुन्छ । त्यस्तै तपाईंले एटीएममा गएर पैसा झिक्नुहुदाँ तपाईंले कहाँबाट पैसा झिक्नुभयो लगायतका सम्पूर्ण विवरण तपाईंको बैंकमा जान्छ । ती विवरणहरु जीपीएस थर्ड स्याटेलाइट (GPS III satellite) को माध्यमबाट आइरहेको हुन्छ । जीपीएस थर्ड स्यालाइटहरुको सबैभन्दा नयाँ सदस्य हो ।

आजको दिनमा आएर देशको महत्वपूर्ण पूर्वाधारका लगभग सबै क्षेत्रहरुका लागि जीपीएस महत्वपूर्ण भएको छ, यद्यपि यसको धेरैजसो काम पर्दा पछाडि भइरहेको छ, र सम्भवतः तपाईंले महसुस गर्नुभए भन्दा धेरै हदसम्म । सामान्य भाषामा बुझ्दा जीपीएसले हामीलाई हामी कहाँ छाैं र कहाँ जाँदैछौं भनेर थाहा पाउन मद्दत गर्दछ ।

यसले आर्थिक लेनदेन र स्टक कारोबार, मौसमको पूर्वानुमान, भूकम्प निगरानी लगायत अन्य हाम्रो दैनिकीमा महत्वपूर्ण भूमिका खेल्छ ।

सन् २०१९ को जुन महिनामा नेसनल इन्सटीच्युट अफ स्ट्यान्डर्डस् एण्ड टेक्नोलोजीले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनअनुसार अमेरीकामा जीपीएसको आर्थिक प्रभाव प्रतिदिन एक अर्ब अमेरीकी डलरको रहेको छ ।

सन् २०१६ मा प्रकाशित पिनपोइन्ट (Pinpoint) भन्ने किताबमा ग्रेग मिलनरले लेखका छन्, ‘जीपीएसको समग्र मूल्य अनुमान गर्नु लगभग असम्भव छ । अन्य कुराको तुलनामा जीपीएसको महत्त्वको अनुमान गर्नु कठिन छ ।

यद्यपि जीपीएस ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टमको एउटा सानो अंग मात्र हो । पृथ्वीमा अझ राम्रो सिग्नल पठाउने र स्याटेलाइटलाई अझ सुदृढ गराउने कुरामा विश्वका शक्तिशाली देशहरु लागिपरेका छन् ।

यो कुरा सेना, उबर ड्राइभर, पाइलट, बैंकर, भूगर्भविद, किसान, ड्रोन प्रयोगकर्ता, सेल्फ ड्राइभिङ कार लगायत सबैको लागि एउटा खुसीको खबर पनि हो । जीपीएस प्रणाली जति सुदृढ बन्दै जान्छ, यसले मान्छेको दैनिकीलाई अझ सहज बनाइदिन्छ । 

जीपीएसले कसरी काम गर्छ ?

जीपीएस नक्षत्रमा ३१ वटा स्याटेलाइट छन्, जसमध्ये २४ वटा स्याटेलाइट ६ वटा अर्बिटमा फैलिएको हुन्छ । सो २४ वटामध्ये तपाईं करिब चार वटा स्याटेलाइटको सम्पर्कमा कुनै पनि बेला भइरहनुहुन्छ । त्यस्तै बाँकी सातवटा भने अनिवार्य रुपमा घुमिरहेका हुन्छन् ।

त्यो स्यटेलाइटले प्रत्येक पल पृथ्वीमा तपाईंले फोन उठाउँदा होस् वा अन्य प्रयोजनका लागि सो सिग्नल प्रयोग भइरहेको होस्, ती स्याटेलाइटलाई थाहा हुन्न कि तपाई कहाँ हुनुहुन्छ भनेर । अन्तरिक्षमा रेडियो स्टेसन जस्तै यसले एकतर्फी सिग्नल पठाउने काम मात्र गर्छ ।

त्यसपछि तपाईंको जीपीएस रिसिभर, जुन तपाईंको फोन वा अन्य कुनै उपकरणमा भएको जीपीएस चिपले सो चार वा त्योभन्दा बढी स्याटेलाइटबाट पठाएको सिग्नल रिसिभ गर्छ । सिग्नलहरुको आगमनको समयमा भएका केही भिन्नतालाई मापन गरेर, नानोसेकेन्डभित्रमा, यसले गणना गर्न सक्दछ कि तपाईं कहाँ हुनुहुन्छ र तपाईं गतिमा हुनुहुन्छ कि हुनुहुन्न ।

ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टमका अध्यक्ष स्कट बर्गेट भन्छ्न, ‘कुनै पनि स्थानको आधारमा नै जीपीएस प्रणालीले काम गर्ने गर्छ र यसैको आधारमा फिटनेस ट्रयाकर र स्मार्टवाच तयार हुने गर्छन् । सबै स्याटेलाइटले सिग्नल पठाउँछन् र ती सबै एकदम ठीकसँग मिलेका हुन्छन् । यद्यपि तपाईंले वास्तवमै आफ्नो स्थिति भने जीपीएस स्याटेलाइटले यात्रा गर्ने समय र दूरीमा निर्भर हुन्छ ।’

सिग्नल आगमनको समय विशेषगरी अक्षांस, देशान्तर र उचाई सँगसँगै गति र दिशामा पनि निर्भर हुने गर्दछ । यसैको आधारमा गुगल म्याप, एप्पल म्याप र अन्य भौगोलिक सूचना प्रणालीहरुले काम गर्दछ, जसले हामीलाई हाम्रो गन्तव्यसम्म पुग्न कति टाढा छ, कति समय लाग्छ लगायतका सूचना दिएर मद्दत गर्दछ ।

सीनेटबाट ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३