close

डिओआईटीको सर्भरमा समस्या आउँदा सरकारी कार्यालयका काम कारबाही अवरुद्ध

टेकपाना टेकपाना

साउन ८, २०७८ १२:४१

डिओआईटीको सर्भरमा समस्या आउँदा सरकारी कार्यालयका काम कारबाही अवरुद्ध

काठमाडौं । दुई दिनदेखि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयअन्तर्गत रहेको सूचना प्रविधि विभागको क्लाउड सर्भरमा समस्या आएको छ । जसले गर्दा सरकारी काम कारबाही नै अवरुद्ध भइरहेको पाइएको छ । उक्त सर्भरमा राखिएका विभिन्न सरकारी सेवामा समस्या देखिएको हो ।

विभागका अनुसार दुई दिनअघि उक्त सर्भरमा समस्या देखिएको थियो, जसले गर्दा पहिलो चरणमा सरकारी कार्यालयका वेबसाइट नै अवरुद्ध भएको थियो ।

उक्त समस्या पहिलो दिन नै समाधान भएपनि दोस्रो दिन अर्थात् बिहीबार विद्युतीय समस्याका कारण सर्भरमा पुनः समस्या आएको थियो । जसले गर्दा निरन्तर रुपमा सरकारी कार्यालयमा हुने काम कारबाहीमा समस्या आइरहेको छ ।

विशेषगरी उक्त सर्भरमा राखिएको डिजिटल सिंग्नेचरले काम गरिरहेको छैन, जसले गर्दा सम्पूर्ण काम अटोमेसनमा गएका सरकारी कार्यालयको काम कारबाही आज पनि प्रभावित भइरहेको बताइएकाे छ ।

यसअन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणको काम कारबाही पनि तीन दिनदेखि प्रभावित भइरहेको छ । पूर्ण अटोमेसनमा आधारित भएकाले डिजिटल सिंग्नेचर बिना काम गर्न नसकिने हुँदा काम प्रभावित भएको हो ।

तेस्रो दिनसम्म पनि उक्त सर्भरले काम नगरेकाले आजबाट भने अटोमेसनलाई डिसेवल गरेर अर्थात् बाइपास गरेर काम अघि बढाइएको प्राधिकरणले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५