close

आयल निगममा एसएपीको ‘ईआरपी’, ५० प्रतिशतले घट्ने भयो कार्यालयको बोझ

टेकपाना टेकपाना

साउन ११, २०७८ १६:१५

आयल निगममा एसएपीको ‘ईआरपी’, ५० प्रतिशतले घट्ने भयो कार्यालयको बोझ

काठमाडौं । नेपाल आयल निगमले हालै विश्व प्रतिष्ठित स्याप (SAP) ईआरपी (इन्टरप्राइज रिसोर्स प्लानिङ) सफ्टवेयर सिस्टम प्रयोगमा ल्याएको छ । १ साउनदेखि सञ्चालनमा आएको यो डिजिटल प्रविधिले आयल निगमलाई स्वचालित युगतर्फ रुपान्तरण गर्ने अपेक्षा छ ।

आयल निगमले एक वर्ष अघि यो सिस्टम जडान तथा सञ्चालनका लागि नियो सफ्टसँग सम्झौता गरेको थियो । उक्त कम्पनीले कोभिड १९ को महामारीका बावजुत निर्धारित अवधिमै परियोजना सम्पन्न गरेको हो ।

२२ करोड रुपैयाँ लगानीको यो परियोजना सरकारी क्षेत्रको अहिलेसम्मकै सबैभन्दा ठूलो ईआरपी परियोजना हो । जसमा आयल निगमका सबै विभाग देखि देशभरका २७ ओटै डिपो अनलाइनबाट जोडिएका छन् ।

आयल निगमलाई ‘पेपरलेस’ बनाउने लक्ष्य अनुरुप अगाडि बढाइएको यो परियोजनाले पेट्रोल पम्पदेखि ग्यास डिलरसम्म सबैलाई अनलाइनमार्फत सिस्टममा जोडेको छ । यसअघि डिलरले बिहान फोन गरेर डिपोमा डिमान्ड टिपाउनुपर्ने हुन्थ्यो ।

इन्धन स्टकमा भए/नभएको बुझेर बैंकमा पुगेर आयल निगमको खातामा रकम जम्मा गर्नुपर्थ्यो । आयल निगमको सम्बन्धित डिपोमा पुगेर भौचर बुझाएको भौचर स्वीकृत भएपछि मात्र ट्याङ्करलाई इन्धन लिन पठाउनुपर्दथ्यो ।

तर ईआरपी सिस्टम प्रयोगमा आएसँगै यी सबै झन्झट हटेका छन् । आयल निगमले एनओसी नामक छुट्टै मोबाइल एप बनाएको छ । त्यसमा लगईनका लागि देशभरका पेट्रोल पम्प तथा डिलरहरूलाई आईडी तथा पासवर्ड उपलब्ध गराइएको छ ।

यो आईडी तथा पासवर्डबाट सोझै वेबसाइटमा लग ईन गर्न पनि मिल्छ । सिस्टममा लगईन गरिसकेपछि अनलाइनबाटै सम्बन्धित डिपोमा अर्डर पठाउन सकिन्छ । अनलाइन भुक्तानीका लागि कनेक्ट आईपीएस लगायतका माध्यमलाई यसमा जोडिएको छ ।

कपिलवस्तुको शुद्धोदन गाउँपालिकामा रहेको रिया आयल स्टोरका  प्रोप्राइटर नारायणबहादुर विष्ट यो नयाँ सिस्टमबाटै निकै सहज भएको अनुभव सुनाउँछन् । ‘बैंकमा गएर रकम जम्मा गर्न र भौचर लगेर डिपोमा डिमान्ड स्वीकृत गराउनकै लागि एक जना छुट्टै मान्छे राख्नुपर्ने अवस्था थियो,’ उनी भन्छन्, ‘तर यो नयाँ सिस्टम आएपछि त्यस किसिमको बाध्यताको अन्त्य भएको छ । अर्डर स्वीकृत भएको र कति तेल पाइन्छ भन्ने कुरा पनि अनलाइनबाटै हेर्न मिल्ने भएको छ ।’

जसले गर्दा रकम जम्मा गर्न बैंक पुग्नेदेखि डिपोमा इन्धन स्टक भए नभएको बुझेर भौचर स्वीकृत गराइरहनुपर्ने सबै झन्झट हटेका छन् । यसरी पेट्रोल, डिजल, मट्टितेल, ग्याँस, हवाई इन्धन सबै अनलाइनबाटै अर्डर तथा भुक्तानी गर्न सकिने भएको छ । डिलर व्यवसायीले अनलाइनमै बैंक स्टेटमेन्ट हेरेजस्तै आफ्नो अर्डरकव लेजर हेर्न सक्छन् ।

निगममा लिन/दिन बाँकी रकम रियल टाइम (तुरुन्ता तुरुन्तै) थाहा पाउन सकिन्छ । यो सिस्टमले आयल निगममा आमूल परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । पुरानो ढड्डा, अकाउन्ट, बिलिङमात्रै होइन, निगमका सबै शाखा तथा कार्यालय केन्द्रीकृत अनलाइन प्रणालीमा जोडिएका छन् ।

यसबाट कुनै एउटा शाखा वा कार्यालयको कर्मचारीले अपडेट गर्ने विवरण तुरुन्तै मुख्य सर्भरमा ठोक्किन्छ । निगमको सम्पत्ति व्यवस्थापन, कस्टमर रिलेसन म्यानेजमेन्ट (डिलर म्यानेजमेन्ट), बैंक इन्टिग्रेसन, आईओसी इन्टिग्रेसन सबै ईआरपीमा समेटिएका छन् ।

उदाहरणका लागि रक्सौल पुगेर नेपाली ट्याङ्करले तेल भर्दाको बिलिङ कति के भयो तुरुन्तै आयल निगमको डेटाबेसमा स्वचालित किसिमले अपडेट हुन्छ । कुन ट्याङ्करले कति तेल बोकेर कुन समयमा त्यहाँबाट हिँड्यो, निगमका डिपोबाटै थाहा पाउन सकिन्छ ।

साथै यसमा मानव संसाधन (एचआर) व्यवस्थापन प्रणाली समेत रहेको छ । जसले आयल निगमको कुन कर्मचारी कहाँ के काममा व्यस्त छ अथवा कति दिनको विदामा छ भन्ने कुरा यकीन रुपमा निगरानी गर्न सघाउँछ । हवाई क्षेत्रका लागि एभीआर प्रणाली तयार पारिएको छ ।

यस अघि कुनै हवाई जहाजमा तेल राखेपछि हस्त लिखित रुपमा बिल काट्ने प्रचलन रहेको थियो । तर अब भने डिपोमा हुने कर्मचारीको हातमा रियलटाइम डेटाबेस हुनेछ ।  कति तेलको अनुरोध आएको हो, हवाईजहाज कहाँ जान आँटेको छ, सबै विवरण त्यही ट्याब्लेटबाटै अपडेट गर्न सकिन्छ ।

यति मात्र होइन आयल निगमसँग देशभर कति इन्धन स्टकमा छ भन्ने कुराको रियलटाइम जानकारी समेत यो ईआरपी सिस्टमले राख्नेछ । जुन आयल निगमको कार्यालयमा रहेको ड्याशबोर्डमा देखिन्छ । हाल निगमका देशभर रहेका डिपोहरुमा कति इन्धन मौज्दात छ भन्ने कुरा थाहा पाउन व्यक्तिले गएर स्केलबाट नाप्नुपर्ने हुन्छ ।

यस किसिमको अवस्थाको अन्त्य गर्न निगमले अब राडार गज (Radar Gauge) प्रयोग गर्नेछ । हरेक स्टोरेज ट्याङ्कमा यस किसिमको गज राखेपछि त्यसले स्वचालित रुपमा नियमित ईआरपी सिस्टममा इन्धनको मात्रा यकिन गरी अपडेट गर्नेछ ।

नेपालभर कुन डिपोमा कति इन्धनको भण्डारण छ, आज कति बिलिङ भयो, कति ट्याङ्कर बाटोमा छन्, कति थन्किएका छन्, कति तेल भर्न गएका छन्, यस्ता सबै जानकारी ईआरपी सिस्टमबाटै हेर्न सकिन्छ । आईओसीबाट ट्याङ्कर हिँड्दाको टेम्प्रेचर डेन्सिटी क्यालिब्रेसन समेत निगमको सर्भरमा देख्न सकिन्छ ।

यसले गर्दा निगमको डिपोसम्म आइपुग्दा कति चुहावट हुन्छ भन्ने कुरा स्वचालित तवरमै यकिन तथा पूर्वानुमान गर्न सकिनेछ । क्रमशः ट्याङ्करको जीपीएस ट्र्याकिङ पनि यही सर्भरमा राख्ने योजना रहेको आयल निगमले जनाएको छ । हाल आयल निगमबाट इन्धन लिन निस्किने ट्याङ्करले पीडीओ (पर्चेज डेलिभरी अर्डर) लिएर जाने गरेका छन् । 

अब यो प्रक्रिया पनि अनलाइनबाटै सम्पन्न हुनेछ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले समेत एसएपीकै ईआरपी प्रणाली प्रयोग गरिरहेको छ । जसमा नेपाल आयल निगमको ईआरपीलाई इन्टिग्रेट गरिएको (जोडिएको) छ । यसबाट आयल निगमको डिपोबाट कुन ट्याङ्कर, कहिले, कुन इन्धन, कति मात्रा लिन हिँडेको छ, आईओसीले अनलाइनबाट तुरुन्तै थाहा पाउन सक्छ ।

जसले गर्दा ट्याङ्करहरुले इन्धन भर्ने स्थानमा सहजै प्रवेश पाउने र कुर्नु नपर्ने स्थिति बन्नेछ । इन्धन भरेर फर्किएका ट्याङ्करको समय गणना समेत यो सफ्टवेयरले गर्न सक्छ । यसबाट कति ट्याङ्कर कहिलेसम्ममा आयल निगमको डिपोमा आइपुग्छन् भन्ने पूर्वानुमान समेत निस्किनेछ ।

यसका साथै पाइपलाइनबाट अमलेखगञ्जमा आइपुग्ने इन्धनको परिमाण समेत यो सर्भरमा स्वचालित रुपमा अपडेट हुने बताइएको छ । यसबाट इन्धन चुहावट नियन्त्रणमा सहयोग पुग्ने नेपाल आयल निगमका प्रोजेक्ट म्यानेजर राजन नेपालले बताए ।

एसएपीको ईआरपी सिस्टमका लागि देशभर रहेका आयल निगमका सबै डिपोलाई ५० एमबीपीएस ब्याण्डविथ क्षमताको अप्टिकल फाइबरले जोडिएको छ । परियोजना सम्पन्न भए पनि नियो सफ्टले थप दुई वर्षसम्म सपोर्ट मेन्टिनेन्स (मर्मत सम्भार) गर्नुपर्ने छ ।

यो प्रणाली स्थापना गर्न सफ्टवेयरसँगै डिजास्टर रिकभरी सेन्टर, फायरवाल, स्टोरेज डिभाइस, पीसी, डिस्प्ले तथा मनिटर लगायतका हार्डवेयर समेत राखिएका छन् । नेपालमा एसएपीको ईआरपी सिस्टम केही बहुराष्ट्रिय कम्पनीले मात्रै राखेका छन् ।

सरकारी र अन्य निजी क्षेत्रमा यस किसिमको सफ्टवेयरको परियोजना संभवतः यो नै पहिलो हो । नेपाली कम्पनीले नै कस्टमाइज गरेर जडान कार्य सम्पन्न गरेको यो परियोजनाबाट ठूलो रकम विदेश जानबाट समेत जोगिएको ईआरपी इम्लिमेन्टेसन प्रमुख निरज थापा बताउँछन् ।

‘सुरु गर्दा हामीलाई कोभिडको चुनौति थियो । त्यसलाई अवसरको रुपमा सदुपयोग गर्दै हामीले काम थाल्यौं । यसबीच भारत तथा सिङ्गापुरमा रहेका विज्ञ तथा परामर्शदातासँग भर्चुअल रुपमा नै सहकार्य गर्‍यौं,’ उनले भने । सरकारी परियोजना भएकाले एसएपी कम्पनीले समेत यसलाई उच्च प्राथमिकतामा राखेको थापाको भनाई छ ।

‘यो परियोजनामा हाम्रो ४० जनाभन्दा बढी सदस्य रहेको टिम संलग्न भएर काम गरेको छ,’ उनले भने, ‘त्यसमा ९० प्रतिशतभन्दा बढी जनशक्ति नेपालकै हो । जुन नियोसफ्टले स्थानीय स्तरमै तयार पारेको थियो ।’

स्थानीय जनशक्ति प्रयोग गर्न सकेकै कारण महामारीको चुनौति बीच यो परियोजना समयमै सम्पन्न गर्न सकेको थापाले बताए । कोभिडको समयमा हरेक डिपोमा पुगेर त्यहाँको आवश्यकता अनुसार सिस्टम इम्लिमेन्ट गर्नु आफैंमा चुनौतिपूर्ण रहेको उनको अनुभव छ ।

आयल निगमका प्रोजेक्ट म्यानेजर राजन नेपालका अनुसार १ साउनबाट एभिएसन स्टेसनबाट सुरु गरिएको यो प्रणाली साउन ३ बाट निगमका सबै शाखा कार्यालयमा लागु भएको छ । ‘यसबाट डिलरहरुको दुई तीन घण्टाको समय जोगिएको छ,’ उनले भने, ‘यतातर्फ निगमको कार्यबोझ पनि आधाले घटाइदिएको छ । अबको एक वर्षभित्र यो परियोजनाको लागत प्रतिफलको रुपमा फिर्ता हुनेमा हामी ढुक्क छौं ।’

हाल करिब ५५० जना स्थायी कर्मचारीले आयल निगमको आपूर्ति व्यवस्थापन नियमित गर्दै आएका छन् । कुनै कुनै कर्मचारी १८ घण्टासम्म फिल्डमा खिटिनुपर्ने अवस्था रहेकोमा ईआरपी सिस्टमले त्यस्तो अवधि नौ घण्टामा सीमित गरिदिएको नेपालले बताए । ‘यसबाट कर्मचारी कटौति हुने भन्दा पनि उनीहरुको पर्फर्मेन्समा सुधार ल्याउने आशा हामीले गरेका छौं,’ उनले भने, ‘यसबाट ओभर हेड कस्ट स्वतः घट्नेछ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१