close

हतारमा विण्डोज ११ डाउनलोड नगर्न कास्परस्काईको चेतावनी

टेकपाना टेकपाना

साउन १२, २०७८ १४:१४

हतारमा विण्डोज ११ डाउनलोड नगर्न कास्परस्काईको चेतावनी

काठमाडौं । विण्डोज ११ आधाकारिक रुपमा सार्वजनिक हुन बाँकी नै छ । तर प्रयोगकर्तामा यसप्रति कौतुहलता बढ्दै गएको छ । त्यतिमात्र होइन, विण्डाेज ११ प्रयोग गर्नको लागि मान्छेहरू आतुर भएका छन् ।

माइक्रोसफ्टले विण्डाेज ११ को आधिकारिक सार्वजनिक गरिसकेको छैन । यद्यपि यो नयाँ अपरेटिङ सिस्टम प्रिभियुको लागि उपलब्ध छ । हुन त विभिन्न आधिकारिक माध्यमबाट परीक्षणका लागि विण्डाेज ११ प्रयोग गर्न सकिन्छ ।

अर्काेतर्फ स्क्यामरले भने मान्छेहरूको विण्डाेज ११ प्रतिको यो उत्सुकताको फाइदा उठाइरहेका छन् ।

यही विषयलाई लिएर सुरक्षा फर्म कास्परस्काईले विण्डाेज ११ डाउनलोड गर्नुअघि सावधानी अपनाउन आग्रह गर्दै एक सूचना जारी गरेको छ ।

अनाधिकृत माध्यमबाट सफ्टवेयर डाउनलोड गर्दा विभिन्न समस्या देखिएको कास्परस्काईले जनाएको छ । विशेषगरी १.७५ जीबीको ८६३०७_windows11 इन्स्टल गर्दा कम्प्युटरको सिस्टम मालवेयर र एडवेयरबाट संक्रमित भएको पाइएको कास्परस्काईले सूचनामार्फत बताएको छ ।

यस्तो प्रकारको फाइल डाउनलोड गर्दा प्रयोगकर्ताले चाहेको फाइल डाउनलोड त हुँदैन नै, साथमा उल्टै प्रयोगकर्ताको कम्प्युटरमा मालवेयर इन्स्टल गरिदिएर समस्या बनाइदिन्छ ।

मानिसहरूको उत्सुकताको फाइदा उठाउँदै स्क्यामरले विण्डाेज ११ को लोभ देखाएर प्रयोगकर्ताको कम्प्युटरमा एडवेयर र स्पाइवेयरदेखि किलगर प्रयोग गरेर मालवेयर इन्स्टल गरिरहेका छन् ।

विण्डाेज ११ को परीक्षण  भर्सन सार्वजनिक भए यता यसकाे सयभन्दा बढी इन्स्टलर प्रोग्रामहरूलाई असफल बनाएको कास्परस्काईले बताएको छ ।

यससँगै कास्परस्काईले प्रयोगकर्तालाई आधिकारिक स्रोतबाट मात्रै अपरेटिङ सिस्टम डाउनलोड गर्न अनुरोध गरेको छ । हालसम्म माइक्रोसफ्टले विण्डाेज ११ विण्डाेजको इन्साइडर प्रोग्रामका प्रयोगकर्ताको लागि मात्र उपलब्ध गराएको छ ।

यदि अहिले विण्डाेज १० प्रयोग गरिरहनु भएकाे छ भने भने त्यसलाई विण्डाेज ११ मा अपग्रेड गर्न सकिन्छ ।

विण्डोजको ‘सेटिङ’ मा गएर त्यहाँ भएको ‘अपडेट एण्ड सेक्युरिटी’ अप्सनमा क्लिक गरेर विण्डाेज इन्साइडर प्रोग्राममा क्लिक गर्नुहाेस् । यसपछि डेभ च्यानल एक्टिभेट गरेर नयाँ अपडेट पाउन सकिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१