close

समाचार प्रभावः स्काइप-भाइबरबाट मोबाइल नम्बरमा कल गर्न नपाइने, रिचार्ज बिक्री गरे कारबाही

टेकपाना टेकपाना

साउन १९, २०७८ ११:१८

समाचार प्रभावः स्काइप-भाइबरबाट मोबाइल नम्बरमा कल गर्न नपाइने, रिचार्ज बिक्री गरे कारबाही

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्रधिकरणले भाइबर र ह्वाट्सएप जस्ता एपबाट मोबाइल नेटवर्क तथा ल्यान्डलाइनमा कल गर्ने कार्य अवैधानिक रहेको ठहर गरेको छ । टेकपानाले यस्तो सेवाबाट नम्बर नदेखिने कल समेत सिर्जना हुने गरेको समाचार प्रकाशित गरेपछि नियमनकारी निकायले यस्तो सूचना जारी गरेको हो ।

नेपालभित्र भाइबर र ह्वाट्सएप जस्ता एपहरुबाट मोबाइल नम्बर तथा ल्यान्डलाइन नम्बरमा कल गर्न मिल्ने रिचार्ज कार्ड बिक्री हुँदै आएका छन् । भाइबर आउट तथा स्काइप आउट जस्ता फिचरबाट नेपालका दूरसञ्चार सेवा प्रदायकहरुको मोबाइल नेटवर्क तथा ल्यान्डलाइन टेलिफोनमा कुराकानी हुने गरेको बुझिन आएको भन्दै प्राधिकरणले त्यस्तो कार्य दूरसञ्चार ऐन, नियम विपरीतको कार्य हुने स्पष्ट पारेको छ ।

यस किसिमको कार्य नगर्न/नगराउन सचेत गराउँदै नियामकले अटेर गरेको अवस्थामा कानून अनुसार कारबाही अगाडि बढाउने चेतावनी समेत दिएको छ । यसअघि आइतबार टेकपानाले ‘खुलेआम बिक्री हुँदै कल र म्यासेज आउदा नम्बर नदेखिने फोनको रिचार्ज, सरकार बेखबर‘ शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

पछिल्लो समय नेपालमा अननोन तथा प्राइभेट नम्बर (कल गर्दा रिसिभ गर्नेको मोबाइलमा नम्बर नदेखिने)  बाट आउने कलको आतंक चिन्ताजनक रुपमा बढेको छ । कल आउँछ, नम्बर देखिँदैन । मेसेज आउँछ, तर कसले पठाएको यकिन हुँदैन । 

यस्ता नम्बरहरुबाट कल तथा मेसेज गरी सर्वसाधारणलाई डर, धम्की र अनेक किसिमका ब्ल्याकमेलिङ गर्ने घटनाहरू बढेको नेपाल प्रहरीको साइबर ब्यूरोले बताउँदै आएको छ । नेपालका केही अनलाइन बजारमार्फत नम्बर नदेखिने कल गर्न तथा म्यासेज पठाउन सकिने रिचार्ज खुलेयाम रुपमा बिक्री हुँदै आएको छ । जसको नाम हो, ‘स्काइप क्रेडिट’ ।

यस्तो ‘क्रेडिट’ खरिद गर्दा म्यासेजिङ तथा भिडिओ कलिङका लागि परिचित माइक्रोसफ्टको स्काइप एपबाट नै सजिलै नम्बर नदेखिने गरी कल गर्न र मेसेज पठाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१