close

बजारमा साओमी स्मार्टफोनको माग बढेपछि गम्भीर समिक्षा गर्दै सामसङ

टेकपाना टेकपाना

साउन २३, २०७८ २१:४६

बजारमा साओमी स्मार्टफोनको माग बढेपछि गम्भीर समिक्षा गर्दै सामसङ

काठमाडौं । विश्व बजारमा चिनियाँ कम्पनी साओमीको व्यापार हिस्सा बढेपछि सामसङले आफ्नो स्मार्टफोनको व्यापार व्यवस्थापनको समिक्षा गर्ने भएको छ ।

यो समिक्षा अन्य समयको सामान्य समिक्षाभन्दा फरक हुने अनुमान गरिएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार यो समिक्षाले कम्पनीको बजारमा व्यापार हिस्सा, व्यापारमा देखिएका चुनौती लगायतका विषय सम्बोधन गर्नेछ ।

स्मार्टफोनको बजारमा सामसङले धेरै राम्रा एन्ड्रोइड फोनहरू उत्पादन गरेको भए पनि कम्पनीको व्यापार अघिल्लो त्रैमासिकभन्दा हालको त्रैमासिकमा घटेको छ ।

पछिल्लो समयमा कम्पनीले सार्वजनिक गरेको एस २१ सिरिजको स्मार्टफोनले पहिलेको ‘एस’ सिरिजका फोनहरूले जस्तै बजार व्यापारको लक्ष्य भेटाउन सकिरहेको छैन । यो विषयमा कम्पनीले कुनै आधिकारिक धारणा भने राखिसकेको छैन ।

विश्व बजारमा चिपको अभाव भएपछि अन्य कम्पनीहरू लगायत सामसङको बजार आपूर्तिमा पनि नराम्रो असर गरेको थियो । फलस्वरुप सामसङको उत्पादन पनि घटेको थियो र फाइभजी फोनको व्यापारमा सामसङ पछि नै रह्यो ।

हुन त सामसङले नै बजारमा सबैभन्दा सुरुमा फाइभजी फोन त्यो पनि कम मूल्यमा सार्वजनिक गरेको थियो । यद्यपि घटेको व्यापारलाई पहिले कै लयमा ल्याउनको लागि सामसङसँग अझै समय भने छ ।

आउने हप्ता सामसङ ग्यालेक्सिले बजारमा केही उत्कृष्ट फोल्डेबल फोनसहित अन्य नयाँ फोनहरू सार्वजनिक गर्दैछ ।

तर सामसङले ग्यालेक्सी एस २१ एफई भने केही समयपछि मात्र सार्वजनिक गर्ने आँकलन गरिएको छ । सही समयमा उत्कृष्ट मूल्यको राम्रा फिचर भएका फोनहरू सार्वजनिक गरेर सामसङले आफ्नो बजार हिस्सा पुनः फिर्ता नलेला भन्न सकिन्न । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३