close

आईफोन परिवर्तन गर्दै हुनुहुन्छ ? ख्याल राख्नुहोस् यी ५ महत्वपूर्ण कुरा

टेकपाना टेकपाना

पुस ३, २०७८ १८:३३

आईफोन परिवर्तन गर्दै हुनुहुन्छ ? ख्याल राख्नुहोस् यी ५ महत्वपूर्ण कुरा

काठमाडौं । एक दशक अघिसम्म फोनभित्रका डेटा हराउनु कुनै ठूलो कुरा थिएन । तर अब भने दैनिक जीवनमा आवश्यक चिजदेखि संवेदनशील जानकारीसमेत तपाईंकै फोनभित्र हुन्छन् ।

यसकारण अब तपाईंले आफ्नो फोनभित्रको कुनै पनि डेटा हराउनु भनेको व्यक्तिगत जानकारी सार्वजनिक हुनु पनि हो । यस्तै कारणले धेरै मानिसहरु फोन फेर्न डराउँछन् । फोन फेर्दा पुरानो फोनमा भएका डेटा हराउने हो कि ? च्याटहरु डिलिट हुने हन् कि ? भन्ने डर धेरैमा हुन्छ ।

यदि तपाईं नयाँ आईफोनमा अपग्रेड हुन चाहनुहुन्छ भने कुनै पनि डेटा नगुमाएरै यो काम गर्न सक्नुहुन्छ ।

एउटा यस्तो तरिका छ, जसबाट तपाईं आफ्नो फोटो, सम्पर्क नम्बर, भिडियो, म्यासेज हिस्ट्री, म्युजिक, क्यालेण्डर, ईमेल अकाउन्ट र अन्य एपहरु पुरानो डिभाइसबाट नयाँ डिभाइसमा सुरक्षित रुपमा सार्न सक्नुहुन्छ ।

१. तपाईको पुरानो आईफोन वा आईप्याडलाई ब्याकअप गर्नुहोस्

सबैभन्दा पहिले तपाईं आफ्नो पुरानो फोनलाई ब्याकअप गर्नुहोस् । यसका लागि तपाईंले आफ्नो आईक्लाउड वा कम्प्युटरलाई माध्यमको रुपमा प्रयोग गर्न सक्नुहुन्छ ।

आईक्लाउडबाट आईफोन ब्याकअप गर्न सबैभन्दा पहिले आफ्नो डिभाइसलाई वाईफाईसँग कनेक्ट गर्नुहोस् । त्यसपछि आफ्नो फोन सेटिङमा गएर सबैभन्दा माथि रहेको तपाईंको नाममा क्लिक गर्नुहोस् ।

त्यसले तपाईंलाई ‘एप्पल आईडी पेज’ मा लिएर जान्छ । त्यहाँ रहेको ‘आईक्लाउड’ चयन गर्नुहोस् । त्यहाँभित्र ‘आईक्लाउड ब्याकअप’, त्यसपछि ‘ब्याकअप नाउ’मा जानुहोस् ।

यो काम तपाईंले प्रयोग गर्ने फोनमा समेत निर्भर हुने भएको हुँदा अर्को उपाय अपनाउन पनि सक्नुहुन्छ । जस्तैः तपाईंको एप्पल आईडी पेजमा क्लिक गरिसकेपछि त्यहाँ तपाईंले ती डिभाइसहरुको सूची देख्नुहुन्छ, जहाँ तपाईंको एप्पल आईडी साइन ईन भएको छ ।

सूचीमा रहेका डिभाइसमध्ये ‘आईफोन’ चयन गर्नुहोस् । त्यहाँबाट ‘आईक्लाउड ब्याकअप’ चयन गर्नुहोस् । अब टोगलको सहयोगबाट अन गर्नुहोस् र ‘ब्याकअप नाउ’ मा क्लिक गर्नुहोस् ।

त्यसपछि वाईफाई कनेक्सनमै राखेर तपाईंको फोनलाई केही समय ब्याकअप हुन दिनुहोस् । आफ्नो आईफोनलाई दैनिक अटोमेटिकल्ली ब्याकअप हुने सेटिङ बनाउँदा अझ फाइदाजनक हुन्छ ।

तर याद राख्नुहोस्, क्लाउडमा पाँच जीबीभन्दा धेरै डेटा निःशुल्क रुपमा स्टोर गर्न भने सकिँदैन । म्याक कम्प्युटरबाट आईफोन ब्याकअप गर्न तपाईंको फोनलाई म्याकबुक वा आईम्याकसँग कनेक्ट गर्नुहोस् र फाइन्डर ओपन गर्नुहोस् ।

त्यसपछि बायाँपट्टी रहेको लोकेसनपछि तपाईंले आफ्नो डिभाइस देख्न सक्नुहुन्छ । त्यहाँ तपाईंले आफ्ना सबै सेभ भएका म्युजिक, पोडकास्ट, फोटो र फाइल लगायतका सबै डेटाहरु देख्नुहुनेछ । तर यदि तपाईंले आफ्ना फोटोहरु आईक्लाउडबाट सेभ गर्नु भएको छ, भने तपाईंले उक्त फिचरलाई बन्द नगरेसम्म त्यो देखिदैंन ।

अब जनरल ट्याबमा गएर ब्याक अप नाउ चयन गर्नुहोस् । ह्येल्थ र एक्टिभिटी सेभ गर्न इन्क्रिप्ट योर ब्याकअप अप्सन चयन गर्नुहोस् । अन्यथा यो सेभ हुने छैन । डेटा इन्क्रिप्सन आईक्लाउडको डिफल्ट प्राइभेसी फिचर हो ।

विण्डोज टेन अपरेटिङ सिस्टम भएको कम्प्युटरबाट आईफोन ब्याकअप गर्न यूएसबीको माध्यमबाट तपाईं‌को आईफोनलाई डेस्कटप वा ल्यापटपसँग कनेक्ट गर्नुहोस् । दायाँपट्टी माथितिर रहेको ‘आईफोन’ बटनमा क्लिक गर्नुहोस् । त्यहाँबाट ‘समरी’ हुँदै ‘ब्याकअप नाउ’ मा जानुहोस् ।

इन्क्रिप्ट लोकल ब्याकअप क्लिक गरेर आफ्नो ब्याकअपलाई इन्क्रिप्ट गर्नुहोस् र पासवर्ड सेट गर्नुहोस् । इन्क्रिप्सनले तपाईंको हेल्थ र एक्टिभिटी डेटालाई पनि ब्याकअप गर्न अनुमति दिन्छ ।

आफ्नो ब्याकअप खोज्न अब एडिटमा क्लिक गर्नुहोस् । त्यसपछि प्रिफरेन्सेस अनि डिभाइस हुँदै जानुहोस् ।

२. पुरानो फोनलाई टर्न अफ गर्नुहोस्

एकपटक फोनलाई पूर्णरुपमा ब्याकअप गरिसकेपछि पुरानो फोनलाई टर्न अफ गर्नुहोस् । यदि तपाईं पुरानै सिम कार्ड प्रयोग गर्न चाहनुहुन्छ भने नयाँ फोनमा राख्नुहोस् ।

३. नयाँ डिभाइसलाई टर्न अन गर्नुहोस्

नयाँ फोन टर्न अन गर्नुहोस् । त्यसपछि स्क्रीनको कमाण्ड फलो गर्दै जानुहोस् । स्क्रीनले वाईफाई नेटवर्कमा कनेक्ट हुन दिएको सल्लाहलाई पछ्याएर कनेक्ट हुनुहोस् ।

४. ब्याकअपलाई रिस्टोर गर्नुहोस्

वाईफाईमा आईंसकेपछि तवाईंले डेटालाई यसरी ब्याकअप गर्न सक्नुहुन्छः

आईंफोन वा आईंप्याड ब्याकअप गर्नका लागि एप र डेटा स्क्रीनमा नपुगेसम्म सेटअप प्रोसेसबाट निरन्तर जानुहोस् । त्यहाँ पुगेर आईंक्लाउड ब्याकअप अप्सनबाट रिस्टोर गर्न ट्याप गर्नुहोस् । आफ्नो एप्पल आईडीमा साइन ईन गर्नुहोस् ।

त्यहाँ आफूले ब्याकअप गर्न चाहेको डेटा चयन गर्नुहोस् । ब्याकअप डेटामा टाइम पनि राखिएको हुन्छ । यदि तपाईं आफ्नो फोन निरन्तर ब्याकअप गर्नुहुन्छ भने त्यहाँ टाइम र साइज हेरेर सही डेटा चयन गर्न सक्नुहुन्छ ।

कम्प्युटरमा तपाईंको डेटा छ भने फोनलाई कम्प्युटरसँग जोड्नुहोस् । यदि तपाईको क्याटालिया १०.१५ रन भइरहेको म्याक प्रयोग गर्नुहुन्छ भने फाइण्डर ओपन गर्नुहोस् र डिभाइस सेलेक्ट गर्नुहोस् ।

यदि तपाईंको म्याकले पुरानो अपरेटिङ सिस्टम प्रयोग गरिरहेको छ वा तपाईसँग पर्सनल कम्प्युटर छ भने आई ट्युन ओपन गर्नुहोस् । विण्डोजमा, जहाँ आईफोन देखिन्छ, त्यसलाई चयन गर्नुहोस् । जनरल ट्याबमा रिस्टोर ब्याकअप क्लिक गर्नुहोस् र सही डेट चयन गर्नुहोस् ।

५. वाईफाई कनेक्टसन स्थिर राख्नुपर्छ

जबसम्म ब्याकअप पूर्णरुपमा सम्पन्न हुँदैन, तबसम्म वाईफाई कनेक्सनलाई टुट्न नदिनुहोस् । कथमकदाचित डिस्कनेक्ट भयो भने ब्याकअप प्रक्रिया नै रोकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२