close

ईसेवामा नयाँ सुविधा, अबदेखि नचिनेको मानिसलाई पनि सामान डेलिभरी गर्न सकिने

टेकपाना टेकपाना

पुस २५, २०७८ ११:३

ईसेवामा नयाँ सुविधा, अबदेखि नचिनेको मानिसलाई पनि सामान डेलिभरी गर्न सकिने

काठमाडौं । ईसेवाले नेपालमै पहिलो पटक ‘सेक्योर्ड ट्रान्सफर’ सेवा उपलब्ध गराएको छ । यो फिचरबाट नचिनेको मानिसलाई समेत सुरक्षित रूपमा रकम तथा सामान उपलब्ध गराउन सकिने कम्पनीले जनाएको छ ।

नयाँ फिचरबारे ईसेवाका चिफ म्यानेजर आशिष गौतमले भने ‘अहिले मैले तपाईंलाई सामान दिन्छु भन्ने ईसेवामा पैसा हाल्न लगाउने, तर सामान नदिने काम भइरहेको छ,’ ‘त्यस्तो कामलाई कम गर्न सेक्याेर्ड ट्रान्सफर फिचर आएको हो, जहाँ सामान डेलिभर भएपछि मात्र रकम रिलिज हुनेछ ।’

यो फिचरबाट ईसेवा प्रयोगकर्ताले अर्को ईसेवा वालेटमा सुरक्षित रूपमा पैसा पठाउनसक्ने छन् । यो फिचर एक हजारभन्दा माथिको रकम पठाउँदा प्रयोग गर्न सकिने छ ।

यो सेवामा सामान डेलिभर भइसकेपछि पैसा पाउने व्यक्तिले रिक्वेस्ट बटनमा क्लिक गर्नुपर्नेछ, त्यो सूचना पैसा पठाउने व्यक्तिलाई जानेछ । सामान वा सेवा पाएपछि मात्रै पैसा पठाउने व्यक्तिले उक्त रकम रिलिज गर्नुपर्नेछ ।

साथै यदि सामान पठाएको र नपाएको विवाद भएमा प्रमाणसहित कम्प्लेन गर्न सकिने छ । यसले फ्रड कारोबार पनि कम गर्ने ईसेवाको विश्वास छ । यो फिचर सःशुल्क उपलब्ध रहेको छ । एक हजारभन्दा माथिको कारोबारमा सेक्योर्ड ट्रान्सपर फिचर प्रयोग गर्न सकिने छ ।

एक हजारदेखि पाँच हजारसम्मको कारोबार गर्दा पाँच रूपैयाँ शुल्क लाग्ने छ भने पाँच हजारदेखि माथिको पैसा पठाउँदा १० रूपैयाँ शुल्क लाग्ने छ । तर यदि सामान नपाएको र पठाएको विवाद भएमा त्यस्तो अवस्थामा सय रूपैयाँ शुल्क लाग्ने बताइएकाे छ ।

यो अटो वा म्यानुअल रूपमा प्रयोग गर्न सकिने छ । यदि तपाईंले नचिनेको व्यक्तिलाई पैसा पठाउँदै हुनुहुन्छ भने सेक्योर्ड ट्रान्सफर फिचर प्रयोग गर्न ईसेवाले आग्रह गरेकाे छ ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ईसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४५ लाख नाघेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले ईसेवामार्फत सेवा लिइरहेका छन् ।

हाल ईसेवाका देशभर करिब एक लाख २५ हजारभन्दा बढी एजेन्ट (ईसेवा जोन तथा पोइन्ट) रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५