close

अमेरिकामा फाइभजी लागू भएपछि एकैदिन सयौं उडान रद्द

टेकपाना टेकपाना

माघ ६, २०७८ १४:४७

अमेरिकामा फाइभजी लागू भएपछि एकैदिन सयौं उडान रद्द

काठमाडौं । अमेरिकामा फाइभजी सेवाको व्यवसायिक सुरुवात भएपछि अमेरिकासँग सम्बन्धित धेरै उडान रद्द भएको छ । बुधबार बेलुकीसम्म अमेरिकाबाट उड्ने र अमेरिका जाने तय भएका ३२० भन्दा बढी उडान रद्द भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

फाइभजी सिग्नलले विमानको नेभिगेसन प्रणालीमा अवरोध पुर्‍याउने चेतावनी आएपछि विभिन्न देशका विमानले अमेरिकासँग सम्बन्धित उडान रद्द गरेका हुन् ।

यसअघि फाइभजीले विमानमा असर पुग्ने रिपोर्ट सार्वजनिक भएपछि फाइभजी सेवाको अनुमति पाएका भेरिजोन र एटी एण्ड टीले विमानस्थल नजिकका टावरमा दुई हप्ता ढिलो सेवा सुरु गर्न सहमति जनाएका थिए ।

सो समय बुधबारबाट सकिएपछि विमान कम्पनीहरूले सम्भावित जाेखिमबाट बच्न उडान स्थगित गरेका हुन् । यसबाट हजारौं यात्रु प्रभावित भएका छन् ।

यसअन्तर्गत भारतीय वायुसेवा एयर इन्डियाले ट्वीट गर्दै अमेरिकामा फाइभजी सेवा लागू भएका कारण बुधवारको उडान रद्द भएको जानकारी दिएको छ ।

त्यस्तै इमिरेट्स एयरलायन्सले पनि अमेरिकाका विमानस्थलहरूमा फाइभजी मोबाइल नेटवर्क सेवा लागू भएकाे भन्दै बुधबारदेखि बोस्टन, शिकागो, डलास, मियामी, ओर्लान्डो, सान फ्रान्सिस्को, सिएटल लगायतका लागि तय भएका उडानहरू अनिश्चितकालका लागि स्थगित गरेको छ ।

त्यस्तै ब्रिटिश एयरवेजले पनि न्यू याेर्क सान फ्रान्सिस्को, बाेस्टाेन लगायतका गन्तव्यमा तय भएकाे उडान रद्द गरेकाे जनाएकाे छ । जापान, जर्मनी, दक्षिण काेरियालगायतका एयरवेजहरूले पनि उडान रद्द गरेकाे राेयटर्सले जनाएकाे छ ।

यसैबीच बुधबार विमान उडान अवरुद्ध भएपछि भेरिजोन र एटी एण्ड टीले केही विमानस्थलमा फाइभजी सेवाको रोलआउट तत्कालका लागि स्थगित गरेका छन् ।

‘४० देशले सफलतापूर्वक गरिसकेको काम अमेरिकामा संघीय उड्डयन प्रशासन (एफएए) ले गर्न नसकेकोमा हामी निराश छौं । ती देशहरूले एयरलाइन्सलाई अवरोध नगरी फाइभजी प्रविधि लागू गरेका छन् । हामी यहाँ पनि समयमै फाइभजी कार्यान्वयन गर्न अनुरोध गर्दछौं,’ एटी एण्ड टीले जारी गरेकाे वक्तव्यमा भनिएकाे छ ।

साथै फाइभजीका सन्दर्ममा तथ्य बंग्याएर त्रास उत्पन्न गर्ने काम गरेको आरोप एटी एण्ड टीले लगाएकाे छ । उसले फाइभजी प्रविधि पूर्ण रुपमा सुरक्षित रहेको दावीसमेत गरेकाे छ । 

यसैबीच अमेरिकाका १० ठूला विमान सेवाप्रदायकका कार्यकारीहरूले राष्ट्रपनि जो बाइडेन नेतृत्वको प्रशासनलाई देशका मुख्य विमानस्थल नजिक फाइभजी प्रविधि प्रयोगमा ल्याउने योजनामा हस्तक्षेप गर्न आग्रह गरेका छन् । एक पत्र लेख्दै उनीहरूले यसले परिवहन र अर्थतन्त्रमै गम्भीर असर पुर्‍याउने चेतावनी दिएका छन् ।

मोबाइल सेवाको पछिल्लो पुस्ता फाइभजी कार्यान्वयनलाई लिएर अमेरिकामा विगत केही महिनादेखि विवाद चलिरहेको छ । साथमा अन्य देशमा पनि यसको सहज कार्यान्वयन हुनेमा संशय पैदा भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२