close

डेटिङ एपमा भेटिएको मान्छे क्रिप्टो ठग निस्केपछि एक महिलाको गुम्यो सारा श्रीसम्पत्ति

टेकपाना टेकपाना

फागुन १०, २०७८ १७:४९

डेटिङ एपमा भेटिएको मान्छे क्रिप्टो ठग निस्केपछि एक महिलाको गुम्यो सारा श्रीसम्पत्ति

काठमाडौं । पछिल्लो समय युवा प्रयोगकर्तामाझ डेटिङ एप लोकप्रिय भइरहेको छ । अनलाइनबाट प्रेमी-प्रेमिका बनाउन सघाउने यस्ता प्लेटफर्मका दुर्बल पक्ष पनि छन् । विभिन्न प्रलोभन देखाई रकम ठगी गर्ने घटना बारम्बार आइरहेका छन् ।

हालै अमेरिकाकाे एक राज्यमा पनि यस्तै एउटा घटना भएको छ । टेन्नेसीमा बस्दै आएकी २४ वर्षीया निकी हटचिन्सन नामकी एक युवतीले डेटिङ एपमा भेटिएका व्यक्तिलाई विश्वास गर्दा तीन लाख डलर (साढे तीन कराेड रूपैयाँ बढी) गुमाउन पुगेकी छन् ।

वास्तवमा डेटिङ एपमा भेटिएका ती व्यक्ति स्क्यामर थिए । स्क्यामरले आफ्नो परिचय लुकाई ठगी गर्ने नियतले नक्कली अकाउन्ट बनाउँछन् । एक वर्षअघि युवती र हाओ नाम गरेका स्क्यामरको हिन्ज (Hinge) नामको डेटिङ एपबाट चिनजान भयो ।

हाओले आफूलाई कपडाको व्यापारी बताएका थिए । केही समयको चिनजानपछि उनीहरूबीच ह्वाट्सएपमै दिनहुँ कुरा हुन थाल्यो । निकी हटचिन्सनले हाओलाई आफू चीनबाट आएर टेन्नेसीमा बस्न थालेको भनेकी थिइन् ।

हाओले पनि निकी हटचिन्सनलाई पहिले आफू पनि चिनिँया नागरिक भएको भनेका थिए । चिनजान हुँदै जाँदा उनीहरू पहिले एउटै ठाउँमा बस्ने गरेको खुल्यो । त्यसपछि उनीबीच दाइ-बहिनीको सम्बन्ध भयो ।

आमाको मृत्युपश्चात निकी हट्किन्सनले आमाको नाममा रहेको सबै सम्पत्ति पाएकी थिइन् । आफूसँग भएको पैसा कहाँ लगानी गर्ने भन्नेबारे उनी अनविज्ञ थिइन् ।

त्यसैका बारेमा जान्न उनले हाओलाई केही उपाय बताइदिन आग्रह गरिन् । स्क्याम गर्न खप्पिस हाओले हालको चल्ती लगानी क्षेत्र क्रिप्टोमा लगानी गर्न सुझाव दिए ।

क्रिप्टो कारोबारमा आफू पहिलेबाटै सक्रिय भएकाले आवश्यक पर्दा सक्दो सहयोग गर्ने वचन पनि दिए । त्यसपछि सबैभन्दा पहिले युवतीले हाओले सुझाव गरेको क्रिप्टो वालेट एड्रेसमा थोरै पैसा पठाइन् ।

‘आईसीएसी’ नामको क्रिप्टो एक्सेन्ज वेबसाइटमा आफूले पठाएको पैसा देखेपछि उनी ढुक्क भएर लगानी गर्न थालिन् । लगानी गर्दागर्दै आफूसँग भएको सबै सम्पति सकियो । सम्पत्ति सकिएपछि विभिन्न बैंकबाट ऋण लिएर लगानी गर्न थालिन् ।

सबै हिसाब गर्दा उनले तीन लाख अमेरिकी डलर लगानी गरेको खुल्यो । सरल र मिठो कुरा गर्ने हाओको व्यवहारले निकी निकै प्रभावित थिइन् । जसले गर्दा हाओको सुझाव अनुसार लगानी गर्दै गइन् ।

गत डिसेम्बरमा आफ्नो खाताबाट पैसा निकाल्न खोज्दा निकीले खातामा रातो झण्डा देखिन् । त्यसबाट पैसा निकाल्न नसक्ने भएपछि उनले ‘आईसीएसी’ का ग्राहक प्रतिनिधिसँग बुझ्न खोजिन् । ती प्रतिनिधिले कर नतिरेको भएर रातो झण्डा देखाएको खुलाए ।

त्यसपछि उनलाई कर तिर्नुपर्ने भयो । कर रकम हजारौं डलर थियो । संयोगवश धेरै समयदेखि हाओसँग पनि उनको कुरा भइरहेको थिएन ।

प्रायः कल र टेक्स्टबाट मात्र उनीहरूबीच कुरा हुन्थ्यो । हाओले एकपटक भिडिओ कलमा आफ्नो आधि अनुहार मात्र देखाएका थिए ।

निकीले हाओसँग भिडिओ च्याटमा कुरा गर्न अनुरोध गर्थिन्, तर हाओ भिडियो कलमा कुरा गर्न मान्दैन थिए । निकीलाई हाव लजालु स्वभावको भएकाले भिडिओमा कुरा नगरेको भन्ने लागेको थियो ।

उनलाई हाओको स्क्यामिङको योजनाबारे कहिल्यै थाहा पाइनन् । धेरै प्रयास गर्दा पनि हाओसँग सम्पर्क नभएपछि आफू स्क्यामिङमा परेको जानकारी पाइन् ।

प्रहरीमा बुझ्न खोज्दा त्यस्ता घटनाकाे संख्या हजाराैं भएको थाहा भयाे । जसमा अर्बाैं रकम ठगी भएकाे थियो ।

निकीसँग भएका हाओका सबै जानकारी केलाउँदा पनि प्रहरी उनलाई भेट्टाउन असमर्थ छ । यसरी अपरिचित व्यक्तीको भनाइमा लागेर निकीले आफ्नो सबै पुर्ख्यौली सम्पत्ति सकिन् ।

साथसाथै बैङ्कमा पनि लाखौं डलर ऋण बाँकी छ । बैंककाे ऋणभार र घर-परिवारको दबाबले उनको जिन्दगी नै डामाडोल भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२