close

टेलिकम प्रबन्ध निर्देशक नियुक्तिको विरोधमा कर्मचारी, निर्णय सच्याउन सरकारलाई चेतावनी

टेकपाना टेकपाना

चैत २५, २०७८ २०:३०

टेलिकम प्रबन्ध निर्देशक नियुक्तिको विरोधमा कर्मचारी, निर्णय सच्याउन सरकारलाई चेतावनी

काठमाडौं । नेपाल टेलिकममा भएको प्रबन्ध निर्देशक नियुक्तिको विषयलाई लिएर कर्मचारी युनियनले आपत्ति जनाएका छन् । सत्तारुढ दल नेपाली काँग्रेस निकट नेपाल टेलिकम वर्कर्स युनियनले शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै नियुक्तिको निर्णय सच्याउन चेतावनी दिएको हो । 

बिहीबारको मन्त्रिपरिषद्‌ले पहिलो पटक कम्पनीभन्दा बाहिरबाट राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेललाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । पौडेलले नियुक्तिपत्र बुझ्दै शुक्रबार नै टेलिकम पुगेर आफ्नो पदभार समेत ग्रहण गरिसकेका छन् । 

युनियनले टेलिकममा खुला प्रतिस्पर्धाबाट प्रबन्ध निर्देशक नियुक्ति गर्दा योग्य, सक्षम, अनुभवी, स्पष्ट कार्ययोजना र लक्ष्य भएको व्यक्ति नियुक्त गर्नुपर्ने माग उठाउँदै आएको थियो । ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक नियुक्ति तथा सेवा सुविधा सम्बन्धी निर्देशिका २०७२’ मा परिवर्तन गरी स्वार्थ केन्द्रित उद्देश्यका साथ प्रायोजित व्यक्ति नै प्रबन्ध निर्देशक नियुक्त गरिएको युनियनको आरोप छ ।

‘सत्तामा रहेकाहरूले अनुचित रुपमा स्वार्थ प्रेरित भई तथा नियोजित व्यक्ति ल्याउन उद्धत रहँदै बारम्बार कार्यविधि परिवर्तन गरिनुले सुशासनको समेत धज्जी उडाएको छ,’ युनियनले भनेको छ ।

‘नेपाली नागरिकको सम्पत्ति तथा नासोको धरोहर नेपाल टेलिकम माथि यसरी खुलमखुल्ला सत्ताको दुरुपयोग गरी अनुचित हस्तक्षेप हुनु नेपालको शासन पद्धतिमाथि समेत हमला हो । यसले सम्पूर्ण न्यायप्रेमी जनसमुदाय तथा श्रमिकको आस्थामाथि पनि कुठाराघात गरेको छ ।’ 

‘चैत २४ का दिन नेपाल सरकार मन्त्रिपरिषद्‌को निर्णयले नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्णयप्रति यस युनियन घोर भर्त्सना र निन्दा गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘संस्थामा अप्रिय स्थिति आउन नदिन सरकारले यस्तो अपरिपक्व र विवादास्पद निर्णय सच्याओस् भन्ने आग्रह गर्दछौँ ।’

अन्यथा आफ्नो धर्म निर्वाह गर्दै कार्यक्षेत्र संरक्षण र श्रमिकको हकहितका लागि गर्नुपर्ने जुनसुकै कदम चाल्न बाध्य हुने चेतावनी समेत युनियनले दिएको छ । ‘यसबाट सिर्जित हुनसक्ने अप्रिय परिस्थिति प्रति सम्बन्धित पक्ष नै जिम्मेवार रहनेछ,’ युनियनले जारी गरेको विज्ञप्तिमा अगाडि भनिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५