close

अपटेकको आयोजनामा ‘स्कुल डिजिटलाइजेसन’ वर्कसप सम्पन्न

टेकपाना टेकपाना

जेठ १६, २०७९ ९:१८

अपटेकको आयोजनामा ‘स्कुल डिजिटलाइजेसन’ वर्कसप सम्पन्न

काठमाडौं । विद्यालयलाई कसरी डिजिटलाइज बनाउन सकिन्छ भन्ने विषयमा कार्यशाला आयोजना गरिएको छ ।

अपटेक सिसको आयोजनामा शनिबार गोदावरी भिलेज रिसोर्टमा भएको सो कार्यक्रममा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका ६० बढी स्कुलका प्रधानाध्यापक एवं शिक्षकको सहभागिता रहेको थियो ।

प्याब्सन केन्द्रीय समितिका अध्यक्ष डी.के. ढुंगानाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्याब्सन महासचिव आर.बी. कटवाल, ललितपुर प्याब्सन अध्यक्ष निरज महर्जन लगायत अन्य प्याब्सन अधिकारीकाे उपस्थिति थियो ।

कम्पनीका प्रोग्राम डिरेक्टर नेत्रलाल भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गेहेन्द्र शाह र आईटी कन्सल्ट्यान्ट राकेशकुमार शाहले १० वर्षयता स्कुलमा के-कस्ता प्रविधिको प्रयोग भयो, कति सफल भए, के-कस्ता समस्या देखिए र त्यस्ता समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्नेबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

बजारमा सफ्टवेयर उपलब्ध गराउने मात्र नभई आईटी कन्सल्ट्यान्टकै रुपमा काम गर्दा विद्यालयमा वास्तविक समस्या के छ भन्नेबारे बुझ्न सहज भएको र सोहीअनुसार काम गर्दा प्रभावकारी पनि भएको कुरा कम्पनीका सीईओ शाहले बताए ।

कार्यक्रमको औचित्य मूल्यांकन गर्दै प्याब्सन ललितपुरका अध्यक्ष निरज महर्जनले समयसँगै आएको डिजिटल परिवर्तनलाई स्वीकार्न नसके शिक्षा क्षेत्र निकै पछि पर्ने बताए ।

कोभिड महामारीको अवधिमा प्रविधिको अत्याधिक प्रयोग भएको, तर भौतिक कक्षा सञ्चलान भएलगतै फेरि पुरानै परम्परागत शैलीमा अधिकांश स्कुलहरु फर्किएको भन्दै विद्यालयहरुले प्रविधि स्वीकार्न नसकेको उनले भनाइ राखे ।

विगत तीन वर्षदेखि काठमाडाैं, चितवन, बुटवल, दाङ, झापा, विर्तामोड लगायतका क्षेत्रका निजी, सामुदायिक, सरकारी गरी ६८ विद्यालयलाई डिजिटल रूपान्तरणमा सघाउँदै आएको कम्पनीका प्रबन्ध निर्देशक विजय कार्कीले बताए ।

डिजिटल रुपान्तरणका लागि सफ्टवेयर उपलब्ध गराउने मात्र नभई विद्यालयलाई आवश्यकता अनुसार सबै आईटी टुल चलाउन सिकाउन जनशक्ति पनि उपलब्ध गराउँदै आएको हुनाले राम्रो प्रतिक्रिया पाएको उनले जानकारी गराए ।

प्रमुख अतिथिका रूपमा बाेल्दै प्याब्सन केन्द्रीय अध्यक्ष ढुंगानाले भने, ‘सफ्टवेयरको प्रयोग गर्नुमात्र स्कुल डिजिटलाइजेसन हाेइन, कत्तिको प्रभावकारी ढंगमा प्रयोग भएको छ भन्ने कुराले फरक पार्छ ।’

सहभागी हरेक स्कुललाई डिजिटल हुन सुझाव दिँदै आवश्यक परे प्याब्सनले सघाउने कुरामा समेत उनले प्रतिबद्धता जनाए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४