close

‘ईसेवा प्रतिनिधि हुँ’ भन्दै तपाईंलाई कतै फोन त आएन ?

टेकपाना टेकपाना

असार २, २०७९ १६:५६

‘ईसेवा प्रतिनिधि हुँ’ भन्दै तपाईंलाई कतै फोन त आएन ?

काठमाडौं । भुक्तानी सेवा प्रदायक ईसेवाले आफ्ना प्रयोगकर्तालाई ‘ईसेवाको प्रतिनिधि’ भन्दै आउने कुनै पनि फोनमा सजग रहन आग्रह गरेको छ ।

एक सूचना जारी गर्दै कम्पनीले ईसेवाको प्रतिनिधित्व गरी फोनमार्फत अनेकौं बहानामा ओटीपी, पासवर्ड, एमपिन वा कुनै पनि व्यक्तिगत विवरण माग गरिएको खण्डमा यस्ता विवरण कहिले पनि नदिन अनुरोध गरेको छ ।

ईसेवा अकाउन्ट नवीकरण, भेरिफिकेसन अथवा अन्य कामका लागि भन्दै फोन गरेर प्रयोगकर्ताको कोड माग्नेजस्ता गतिविधि बढिरहेको भन्दै कम्पनीले प्रयोगकर्तालाई सचेत रहन आग्रह गरेको हो ।

कम्पनीले डबल अथेन्टिकेशन सुरु गरेसँगै स्क्यामरहरूले फोन फिशिङ सुरु गरिरहेकाे पाइएकाे छ ।

‘डबल अथेन्टिकेशन सुरु गरेपछि स्क्यामरहरूले फोनमार्फत प्रयोगकर्ताको पासवर्ड अथवा कोड माग्ने काम सुरु गरेका छन् । हुन त समय-समयमा हामीले प्रयोगकर्तालाई सचेत गराउने उद्देश्यले विभिन्न पोस्ट राखिरहेका हुन्छौं,’ ईसेवाका सीओओ (चिफ अपरेशन्स अफिसर) रोशन लामिछानेले भने, ‘तर पछिल्लो समयमा भने फोनबाट यसरी पासवर्ड मागेर अकाउन्टको गलत प्रयोग गर्ने क्रम बढेकाले हामीले सूचना जारी गरेका हौं ।’

ईसेवाले कहिले पनि फोन अथवा म्यासेजबाट कुनै पनि प्रकारको कोड वा ओटीपी माग नगरेको भन्दै कम्पनीको प्रतिनिधिको नाममा आएका फोनकल अथवा म्यासेजहरूमा आफ्नो कुनै पनि विवरण उपलब्ध नगराउन प्रयोगकर्तालाई कम्पनीले आग्रह गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३