close

थोक बिक्रेताबाट सामान अर्डर गर्न मिल्ने भोटाहिटी डटकम

हिक्मत आचार्य हिक्मत आचार्य

असार १३, २०७९ १४:१६

थोक बिक्रेताबाट सामान अर्डर गर्न मिल्ने भोटाहिटी डटकम

काठमाडौं । अलटपका संस्थापक गाइ कावासाकीले भनेका छन्, “कुनै पनि कुराको आइडिया निकै सहज हुन्छ । तर, जब त्यसलाई कार्यान्वयन गर्ने कुरा आउँछ, तब मात्र मानिसहरूलाई गाह्रो लाग्न थाल्छ ।”

त्यस्तै आफ्नो मनमा आएका विचारलाई आत्मसाथ गरेर त्यसैलाई अगाडि बढाउने मानिसहरू नै वास्तविक जीवनको यात्रामा सफल भएका छन् । भनिन्छ नि ‘कि नयाँ काम सफल हुन्छ, कि त नयाँ तरिकाले गरेको काम सफल हुन्छ ।’ 

विभिन्न व्यापारीहरूले होलसेल वा खुद्रामा सामान खरिद गर्दा आइपरेका समस्या मुगुका देवेन्द्र जङ्गले नजिकबाट नियाली रहेका थिए । उनले देशका विभिन्न भूभागमा रहेका व्यापारीलाई नयाँ तरिकाले थोक (होलसेल) सामान उपलब्ध गराउने विचार गरे ।

त्यही उपायको खोजीमा उनले राम्रै तलब आउने अन्तर्राष्ट्रिय संस्थाको जागिर छाडे । “व्यापारीहरूलाई भौतिक रूपमा सामान खरिद गर्दा धेरै समस्या आइरहेको देखेको थिएँ,” उनी सुनाउँछन् ।

“यता डिजिटल रूपान्तरणका कुरा पनि आइरहेका थिए । अनि विभिन्न किसिमका व्यापारीलाई डिजिटल प्रविधिमा किन नजोड्ने भन्ने विचार आयो । त्यही विचारको एउटा रूप भोटाहिटी डटकम तयार भयो ।”

पुस्तकका लागि काठमाडौं स्थित भोटाहिटी नेपालको सबैभन्दा पुरानो होलसेल बजार हो । देवेन्द्रले पहिले गरिरहेको व्यापार पनि पुस्तकसँग सम्बन्धित थियो । जसलाई उनी नयाँ परियोजनामा समावेश गर्ने विचारमा थिए ।

काठमाडौंको भोटाहिटी र महाबौद्ध होलसेल बजारका रूपमा परिचित छन् । “हाम्रो कामसँग बढी सुहाउँदो र अक्षरमा पनि महाबौद्धभन्दा छोटो भएकाले भोटाहिटी डटकम नाम रोज्यौँ,” देवेन्द्र भन्छन् ।  

सन् २०१८ बाट सुरु भएको भोटाहिटीको परिकल्पना विभिन्न कारणले अघि बढ्न सकेन । कोभिड-१९ को महामारी कम हुँदै गएपछि सन् २०२१ बाट उनले वेबसाइट निर्माणको काम सुरु गरे ।

“नेपालमा एउटा त्यस्तो साइटको आवश्यकता महसुस गरेको थिएँ, जसले खुद्रा व्यापारीलाई अनलाइन मार्फत थोकमा सामान उपलब्ध गराउन सकोस् । त्यसमा के कस्ता सामग्री समावेश गर्ने ? नेपालको बजारको माग के छ ? भन्ने कुराको अध्ययन र साइट निर्माणको काम चलिरहेकै बेला कोभिड महामारी सुरु भयो,” उनी भोटाहिटी डटकमका सुरुवाती दिन स्मरण गर्दै भन्छन् ।

“कोभिडले अनलाइन होलसेल साइटको माग कति रहेछ भन्ने कुरा खुलस्त पारिदियो । हामीले लकडाउनको समय सदुपयोग गर्दै यसका लागि आवश्यक हरेक सामग्री व्यवस्थापन गर्न थाल्यौँ ।” भोटाहिटी डटकम ई-कमर्सकै परिकल्पनामा निर्माण गरिएको भए पनि त्यसलाई ई-कमर्सभन्दा फरक तरिकाले सञ्चालन गर्ने योजना देवेन्द्रले बनाएका छन् ।

सुरुवाती दिनमा भोटाहिटी डटकममा अविनाश काफ्ले, सुजन थापा, शैलेन्द्रजंग शाही र सुदीप भुजेल साझेदारका रूपमा देवेन्द्रसँग जोडिए । यसरी विभिन्न क्षेत्रमा आफ्नो स्तरको विज्ञता हासिल गरेको टिम तयार भयो । त्यससँगै भोटाहिटी डटकमको सफलताको यात्रा सुरु भएको महसुस देवेन्द्रले गरे ।

विशेषगरी व्यापारीहरूले भोटाहिटी डटकममार्फत आफ्नो व्यवसायका लागि आवश्यक विभिन्न सामग्री होलसेल रूपमा मगाउन सक्छन् । यसमा हाल विभिन्न क्याटेगोरी (वर्ग) का ११ हजारभन्दा बढी सामग्री उपलब्ध छन् । 

जसमा स्टेसनरी, फर्निचर, कस्मेटिक, फुटवेयर, विद्युतीय उपकरण, किरानाका सरसामान, फेन्सी, फार्मेसी, जिम, घरायसी सामग्री, भान्छामा प्रयोग हुने भाँडाकुँडा लगायतका चिजबिज, मोबाइल तथा एक्सेसरिज, इनामेल जस्ता विभिन्न सामग्री उपलब्ध छन् ।

भोटाहिटी डटकममा हाल अढाई करोड रुपैयाँ लगानी भइसकेको छ । कम्पनीमा विभिन्न तहका २५ भन्दा बढी कर्मचारी छन् ।भोटाहिटी डटकमले प्रचलित तथा व्यापारको परम्परागत तरिकालाई विस्थापित गर्दै व्यापारीहरूलाई बढीभन्दा बढी मुनाफा दिलाउन सक्ने उनको विश्वास छ ।

पहिले आपूर्तिकर्ता वा उद्योगले सामग्री ल्याउँछन् । त्यसपछि उनीहरूले वितरकलाई उपलब्ध गराउँछन् । वितरकले मुख्य सहरका होलसेलर कहाँ पठाउँछन् । होलसेलरले विभिन्न जिल्लाका सहायक होलसेलरलाई बिक्री गर्छन् ।

त्यसपछि मात्र खुद्रा व्यापारीले पाउँछन् । “हाम्रो उद्देश्य भनेको यो बीचमा हुने खर्चलाई घटाउन होलसेलर वा खुद्रा व्यापारीलाई उद्योग तथा आपूर्तिकर्तासँग जोड्नु हो,” उनी भन्छन्, “यसो गर्दा बीचको मार्जिन पनि कम हुन्छ । समयको पनि बचत हुन्छ ।” 

यसले थोक तथा खुद्रा व्यापारीलाई पनि फाइदा हुने भयो । उनी यसरी बीचमा हुने खर्च कटौती गरी गुणस्तरीय सामान बजारभन्दा सस्तो मूल्यमा थोक तथा खुद्रा व्यापारीलाई उपलब्ध गराउन चाहन्छन् ।

कुनै पनि ग्रामीण भेगका व्यापारीले भोटाहिटी डटकममार्फत मुख्य सहरकै मूल्यमा अनलाइनबाट सामान पाउन सक्ने देवेन्द्रको दाबी छ । आवश्यक सम्पूर्ण तयारी पूरा गरेर भोटाहिटी डटकम औपचारिक रूपमा सञ्चालनमा आउन बाँकी नै छ । तर अनौपचारिक रूपमा भने यसको सेवा सुरु भइसकेको छ । 

भोटाहिटी डटकमले मार्केटिङका लागि फेसबुक पेज खोल्ने बाहेक कुनै काम गरेको छैन । यत्तिकै भरमा कम्पनीको एप दुई हजारभन्दा बढी पटक डाउनलोड भइसकेको छ । एक हजार पाँच सय भन्दा धेरैले दर्ता गरेका छन् । दैनिक औसतमा तीन ओटा अर्डर आइरहेको देवेन्द्र सुनाउँछन् । 

सुरुवाती चरणमा उचित मूल्यमा गुणस्तरीय सामान उपलब्ध गराउने कार्यमा केन्द्रित हुँदा बजार व्यवस्थापनमा त्यति धेरै काम हुन नपाएको उनी बताउँछन् । यसरी अहिले भएको दैनिक व्यापारलाई लिएर उनी सन्तुष्ट नै देखिन्छन् ।

“हाल दैनिक ३० देखि ५० हजार रुपैयाँ जतिको अर्डर आइरहेको छ,” उनी भन्छन्, “अन्य देशका लागि फ्लिपकार्ट, अमेजन अनलाइन होलसेल साइट भए जस्तै नेपालमा भोटाहिटी डटकमलाई स्थापित गर्ने हाम्रो उद्देश्य हो ।” 

यसका साथै स्थानीय उत्पादनलाई पनि उत्तिकै प्राथमिकता दिएर अन्तर्राष्ट्रिय स्तरमा लैजाने योजना भोटाहिटी डटकमले बनाएको छ । भोटाहिटीले उद्योगबाट सोझै थोक तथा खुद्रा व्यापारीकहाँ समाग्री उपलब्ध गराउने भएकाले सामानको स्टक सम्बन्धित उद्योगमै हुन्छ ।

तर, थोक तथा खुद्रा व्यापारीको सम्पर्क भने उद्योगीसँग हुन पाउँदैन । किनभने त्यहाँको सबै प्रक्रिया भोटाहिटी डटकमले मिलाइरहेको हुन्छ ।

यसरी उद्योग तथा आपूर्तिकर्ताको सामग्री बिक्री गरिदिए बापत् सामानको माग, आपूर्ति हेरेर भोटाहिटीले उनीहरूबाट ६ देखि १० प्रतिशतसम्म सेवा शुल्क लिने गर्छ । यसमा महिला उद्यमीहरूलाई प्रोत्साहन गर्न थप सहुलियतको व्यवस्था गरिएको छ । 

ग्राहक सन्तुष्टिको सवाल अनलाइन व्यापारमा निकै नै चुनौतीपूर्ण हुने गर्दछ । राइड शेयरिङदेखि ई-कमर्श र फुड कम्पनीसम्म उपभोक्ताले दैनिक गुनासो गरिरहेकै भेटिन्छ । तर यो मामिलामा आफूहरूलाई कम चुनौती हुने देवेन्द्रको बुझाई छ । 

“अन्य प्लेटफर्ममा एक दिनमा थोरै सामान लिने हजारौं ग्राहक हुन्छन्,” उनी भन्छन्, “निश्चित रुपमा हामीले पनि ग्राहकलाई सन्तुष्ट पार्नै पर्ने हुन्छ । तर, हामीबाट थोरै ग्राहकले धेरै सामान लिने भएकाले ग्राहकलाई सन्तुष्ट पार्न हामी सफल हुन्छौं भन्नेमा ढुक्क छौँ ।”

उद्योगी तथा आपूर्तिकर्ताबाट सामान लिने कुरामा पनि कम्पनी उत्तिकै सचेत रहेको देवेन्द्र बताउँछन् ।

“कुनै पनि बिक्रेताको सामग्री राख्न पर्‍यो भने हामी त्यसको गुणस्तर जाँच गर्छौं,’ उनी भन्छन्, “यदि गुणस्तरका हिसाबले सामग्री राम्रो छ भने बिक्रीका लागि अनुमति दिन्छौँ । यसका लागि हामीसँग विभिन्न क्षेत्रका विज्ञहरू पनि हुनुहुन्छ । हामी आम उपभोक्ताको स्वास्थ्य र खर्चको विषयलाई लिएर संवेदनशील छौँ ।”

कुनै पनि बिक्रेता वा उद्योगीले आफ्नो सामान भोटाहिटीमार्फत बिक्री गर्न चाहेको खण्डमा वेबसाइटमा रहेको ‘बिकम भेन्डर’ (Become Vendor) सेक्सन जानुपर्ने हुन्छ । त्यसपछि चार ओटा चरणहरू पार गरिसकेपछि सामानको विवरण साइटमा अपलोड गर्न र व्यवस्थापन गर्न सकिन्छ । 

फर्म भरिसकेपछि सामान जाँचको प्रक्रिया सुरु हुन्छ । उनीहरूलाई कम्पनीले भोटाहिटी भेन्डर नामक छुट्टै एप उपलब्ध गराउँछ । जहाँबाट बिक्रेताले आफ्नो सामानको व्यवस्थापन गर्न सक्छन् । 

त्यस्तै कुनै पनि व्यक्ति भोटाहिटी डटकमको एजेन्ट बन्न सक्ने विकल्प पनि छ । त्यसका लागि वेबसाइटमा गएर रजिस्ट्रेसन प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । 

यस्ता एजेन्टले सामान बिक्री गरेको आधारमा कमिसन पाउँछन् । त्यसबाहेक भोटाहिटीमा बिजनेस सपोर्ट सर्भिस, व्यापारसँग सम्बन्धित नियम कानुनहरू, व्यापारिक समाचार पढ्ने आदि सुविधा पनि रहेका छन् । 

जसको माध्यमबाट कम्पनी दर्ताको प्रक्रियादेखि त्यसलाई नियमित चलायमान बनाइ राख्न केके कुरामा ध्यान दिनुपर्ने हुन्छ भन्ने कुराको जानकारी पाउन सकिन्छ । व्यापारका लागि आवश्यक पर्ने सहायता समेत उपलब्ध गराउन यस्तो व्यवस्था गरिएको देवेन्द्र बताउँछन् । 

यसका साथै विभिन्न बैङ्कहरूसँग सहकार्य गरेर व्यवसायीहरूलाई ऋण उपलब्ध गराउने सम्मको योजना भोटाहिटीले बनाएको छ । ईकमर्सका लागि सबैभन्दा ठूलो चिन्ताको विषय डेलिभरी सिस्टमकै हो ।

“नेपालमा बाटोघाटो सहज नहुनु नै हाम्रो सबैभन्दा ठूलो चुनौतीको विषय हो,” उनी भन्छन्, “यसको समाधानका लागि नेपालमा हुलाक सेवा व्यवस्थित तरिकाले सञ्चालन गर्नुपर्छ । यसो गर्दा सरकारलाई त फाइदा हुन्छ नै, सँगसँगै ईकमर्स व्यवसायका साथै आम उपभोक्ता पनि लाभान्वित हुन्छन् ।” 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३