close

एप्पलको चिप निर्माता टीएसएमसीले भन्यो: ‘चीन-ताइवान युद्ध सबैका लागि घातक’

टेकपाना टेकपाना

साउन १९, २०७९ १८:४५

एप्पलको चिप निर्माता टीएसएमसीले भन्यो: ‘चीन-ताइवान युद्ध सबैका लागि घातक’

काठमाडौं । चीनले ताइवानमाथि आक्रमण गरेको खण्डमा विश्वकै सबैभन्दा सेमिकन्डक्टर निर्माता कम्पनी ‘टीएसएमसी’ को सञ्चालनमै असर पर्ने देखिएको छ ।

टीएसएमसी विश्वव्यापी रुपमा सप्लाई चेनमा आधारित कम्पनी भएकाले ताइवानमा हुने आक्रमण सबैका लागि घातक हुने कम्पनीका प्रमुख मार्क लुईले चेतावनी दिएका छन् ।

यतिबेला चीन र ताइवानबीच विवाद चुलिएको छ । गएको मंगलबार अमेरिकी सभामुख नेन्सी पेलोसीले ताइवान भ्रमण गरी त्यहाँका शीर्ष नेताहरूसँग भेटवार्ता गरेकी थिइन् । पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सिमाना वरपर सैन्य अभ्यास गरिरहेकाे छ ।

बिहीबारमात्रै चिनियाँ जनमुक्ति सेवाले ताइवान नजिक मिसाइल प्रहारसमेत गरेकाे छ ।

यसैलाई लिएर लुईले चीनले ताइवानमा आक्रमण गरे यो सबैका लागि घातक हुने अभिव्यक्ति दिएका हुन् ।

सीएनएनसँगकाे एक अन्तर्वार्तामा उनले भने, ‘यदि सैन्य शक्ति लगाएर आक्रमण गरियो भने टीएसएमसी सञ्चालन हुने अवस्था रहँदैन,’ लुईले भनेका छन्, ‘किनकि कम्पनीकाे विभिन्न सामग्री र केमिकलका लागि याे कारखाना युरोप, जापान, अमेरिका लगायतका देशमा आश्रित छ ।’

विश्वकै सबैभन्दा परिष्कृत चिप निर्माताकाे छवि बनाएकाे टीएसएमसीले अमेरिकी कम्पनी एप्पल, क्वालकम लगायतलाई प्रोसेसर उपलब्ध गराउँदै आएको छ ।

एप्पलको ‘ए’ सिरिज र ‘एम’ सिरिजको निर्माण गर्ने यो कम्पनीले विश्व सेमिकन्डक्टर बजारको ५० प्रतिशत हिस्सा ओगट्छ ।

टीएसएमसीका प्रमुख लुईले भनेका छन्, ‘यो युद्धले विजेता पाउने छैन, बरु सबै हार्नेछौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३