close

व्यवसायको हिसाबकिताब राख्न सघाउने 'कारोबार' एपलाई स्टार्टअप अवार्ड

टेकपाना टेकपाना

कात्तिक २६, २०७९ ९:२८

व्यवसायको हिसाबकिताब राख्न सघाउने 'कारोबार' एपलाई स्टार्टअप अवार्ड

काठमाडौं । युवा उद्यमीहरूको संस्था नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)ले प्रदान गर्ने एनवाईईएफ स्टार्टअप अवार्ड २०२२ मा बाइटकेयर टेक्नोलोजी (काराेबार एप) विजेता बनेकाे छ । शुक्रबार सोल्टी होटेलमा आयोजित एक कार्यक्रममा बाइटकेयर टेक्नोलोजीले डेलिश डेरिजसँगै स्टार्टअप अवार्ड जित्न सफल भएकाे हाे ।

अन्तिम सात प्रतिस्पर्धीबाट यी कम्पनी संयुक्त रूपमा सर्वाेत्कृष्ट घाेषित भएका हुन् । ​देशभरबाट छानिएका १५६ भन्दा बढी विभिन्न स्टार्टअपमध्ये गत साता उत्कृष्ट १५ र त्यसपछि उत्कृष्ट सात स्टार्टअप छनाेट गरिएको थियो ।

अन्तिम सात प्रतिस्पर्धीमा जेरो सर्कुलर, बगभी, दियो एआई, बाइट केयर टेक्नोलोजी, डार्क म्याटर प्रोडक्सन, डेलिश डेरीज, च्याउ बायो रहेका थिए ।

बाइटकेयर टेक्नोलोजीको कारोबार एप र डेलिश डेरिजले प्रथम पुरस्कार स्वरूप कुल छ लाख रुपैयाँ पुरस्कार पाएका छन् । कारोबार एपबाट विशेषतः अनलाइन तथा अफलाइनमा कारोबारको जानकारी राख्न, खरिद बिक्रीको रिपोर्ट राख्न, खरिद बिल राख्न, आफूसँग भएको क्यास र बैङ्कमा भएको रकमको जानकारी, आम्दानी र खर्चको रिपोर्ट राख्न सकिन्छ ।

त्यस्तै डेलिश डेरिजले दहीको गुणस्तर विविधीकरणमा गर्ने काम गर्छ । ​यसैगरी साे कार्यक्रममा कम्पनी तथा कार्यालयका सूचनाहरू नेपाली भाषामा आर्टिफिसियल इन्टलिजेन्समार्फत प्रदान गर्ने एप 'दियो एआई'ले तेस्रो स्थान हासिल गरेको छ ।

उक्त प्रतियोगिताबाट सोसल इन्टरप्राइज अवार्ड 'जिरो सर्कुलर'ले जितेको छ ।

नेपाली उद्यमीलाई थप प्रोत्साहन र साथ प्रदान गर्ने उद्देश्यका साथ मञ्चको काठमाडौं च्याप्टरले याे कार्यक्रम गरेकाे हाे ।

पछिल्लो अध्यावधिक: कात्तिक २६, २०७९ ९:३५