close

कनेक्ट आईपीएसबाटै अब ट्राफिक जरिवाना तिर्न सकिने, यस्तो छ तरिका

टेकपाना टेकपाना

माघ २१, २०७७ १६:१२

कनेक्ट आईपीएसबाटै अब ट्राफिक जरिवाना तिर्न सकिने, यस्तो छ तरिका

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा अन्तर्गत ट्राफिक नियम उल्लंघन गरे बापतको कसुरमा बुझाउनुपर्ने जरिवाना रकमकाे भुक्तानी अब कनेक्ट आईपीएस प्रणालीबाट गर्न सकिने भएकाे छ ।

उक्त सेवासँग सम्बन्धित सम्झौता पत्रमा बुधबार महानगरीय ट्राफिक प्रहरी महाशाखाका तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र नेपाल क्लियरिङ हाउस लिमिटेड ( एनसीएचएल)का प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिहं प्रधानले हस्ताक्षर गरे ।

भुक्तानीको लागि सेवाग्राहीले कनेक्ट आईपीएसको वेबसाइटमा लगइन गरी आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी ड्यासबाेर्डमा रहेको “सरकारी भुक्तानी” भित्र “नेपाल ट्राफिक पुलिस” छनोट गर्नुपर्ने हुन्छ ।

त्यसपछि भुक्तानी गर्ने आफ्नो बैंक खाता छनोट गरी ट्राफिकले दिएको चिट नम्बर र आर्थिक वर्ष दाखिला गरी सजिलै भुक्तानी गर्न सकिन्छ ।

यसरी गरिएको भुक्तानी महाशाखाको तोकिएको बैंकमा सिधै जम्मा हुन्छ भने ट्राफिकको सिस्टममा पनि उक्त भुक्तानीको विवरण जान्छ ।

ट्राफिक जरिवानाको भुक्तानी अनलाइनबाट भएलगतै अब सेवाग्राहीले बैंक शाखा नै पुगेर जरिवाना रकम जम्मा गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

यस सेवालाई आगामी दिनमा एनसीएचएलमा आबद्ध बैंक वित्तीय संस्थाका मोबाईल/इन्टरनेट बैंकिङ्ग एवम् अन्य आबद्ध पीएसपी/वालेट मार्फत पनि भुक्तानी गर्न सकिने गरी विस्तार गरिने जनाइएको छ ।

कनेक्ट आईपीएस प्रणालीमा ५३ बैंक तथा वित्तीय संस्थाहरु सदस्यको रुपमा आबद्ध रहेका छन् ।

हाल यस प्रणाली मार्फत नेपाल सरकारको विभिन्न निकायहरु, महालेखा परीक्षक कार्यालय, आन्तरिक राजस्व कार्यालय, लोक सेवा आयोग, कम्पनी रजिष्ट्रारको कार्यालय, राहदानी विभाग, नेपाल राष्ट्र बैंकको परिक्षाको आवेदन शुल्क, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायतका निकायहरुको भुक्तानी संकलन तथा भुक्तानीका कारोबारहरु हुदै आएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१