close

८४ भन्दा बढी देशका फेसबुक म्यासेञ्जर प्रयोगकर्ता स्क्यामको सिकार

टेकपाना टेकपाना

बैशाख १०, २०७८ ११:५२

८४ भन्दा बढी देशका फेसबुक म्यासेञ्जर प्रयोगकर्ता स्क्यामको सिकार

काठमाडौं । युरोप, एसिया, उत्तर तथा दक्षिण अमेरिका लगायतका ८४ भन्दा बढी देशका फेसबुक म्यासेञ्जर प्रयोगकर्ता स्क्यामको सिकार बनेका छन् । डिजिटल रिक्स प्रोटेक्सन एनालिस्ट ग्रुपले गरेको अध्ययनले फेसबुक म्यासेञ्जरमा भइरहेको ठूलो स्क्यामको घटना सार्वजनिक गरेको हो

ग्रुपका अनुसार साइबर अपराधीहरुले फेसबुक म्यासेञ्जरको नयाँ भर्सन अपडेट भन्दै विज्ञापनको रुपमा यस्तो स्क्याम चलाइरहेका छन् । जसमार्फत उनीहरुले प्रयोगकर्ताको महत्वपुर्ण जानकारी संकलन गरिरहेको जनाइएको छ ।

ग्रुपले यो घटनाको विषयमा फेसबुकलाई जानकारी समेत गराइसकेको जनाएको छ । ‘यो स्क्याम सन् २०२० को गर्मी सिजनदेखी नै सुरु भएको थियो,’ उनीहरुले भनेका छन्, ‘जसमा एक हजार भन्दा बढी नक्कली फेसबुक आईडी प्रयोगमा ल्याइएको छ ।’

संस्थाका अनुसार यही अप्रिलसम्म ५७ सय भन्दा बढी पोस्ट भएका छन् । उनीहरुले यस्ता पोष्टमा प्रयोगकर्तालाई आकर्षित गर्न ‘म्यासेन्जर, म्यासेन्जर, म्यासेन्जर…’ जस्ता मिमिक्रि बनाएर पोस्ट गरिरहेका छन् ।

त्यस्तै, फेसबुकको आधिकारिक लोगो, म्यासेञ्जरको लोगो प्रयोग गरिरहेका छन् । उक्त लिंकमा क्लिक गर्दा एउटा अर्को लिंक खुल्ने र उक्त लिंकमा लगईन गर्न लगाएर प्रयोगकर्ताको डेटा संकलन गरिरहेको उक्त अध्ययन ग्रुपले जनाएको छ ।

नेपालमा पनि त्यस्तै प्रकारका थुप्रै घटना सतहमा आएका छन् । खासगरी नेपाल टेलिकम, एनसेल, नेपाल दूरसञ्चार प्राधिकरण लगायतका कम्पनी तथा संस्थाको नाम र लोगो दुरुपयोग गरी त्यस्तै किसिमका स्क्यामका गतिविधि भइरहेका छन् ।

जसप्रति सचेत रहन आग्रह गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक सूचना समेत प्रकाशित गरेको छ । सोसल इन्जिनियरिङको रुपमा कसरी प्रयोगकर्तामाथि ठगी भइरहेको भन्ने बारेमा प्राधिकरणको सूचना मूलक सामग्री हेर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१