close

नेपालमै ३ युवाले बनाए सेन्सरयुक्त सेनिटाइजर मसिन

टेकपाना टेकपाना

बैशाख २४, २०७८ १७:५९

नेपालमै ३ युवाले बनाए सेन्सरयुक्त सेनिटाइजर मसिन

काठमाडौं । नुवाकोटका तीन युवाले सेन्सरयुक्त सेनिटाइजर मसिन निर्माण गरेका छन् । विज्ञान विषयका शिक्षक काजी खान र अन्य दुई इन्जिनियर युवाहरु नरेश्वर पाण्डे र यशराज खड्काले जारी निशेधााज्ञाबीच एक हप्ताको अवधिमा यस्ताे मसिन निर्माण गरेका हुन् ।

नुवाकोट साइन्स क्लबका यी तीन युवाले निर्माण गरेको ‘अटोमेटिक सेनिटाइजर डिस्पेन्सर’ गुणस्तरीयताको हिसाबले अन्तराष्ट्रिय उत्पादनभन्दा कम नभएको काजी बताउँछन् ।

विदेशी बजारबाट आउने मसिन एसीको मद्दतले मात्र चल्छ भने यो मसिनमा एसी, डीसी दुवै किसिमको ब्याट्री ब्याकअप रहेको उनले बताए ।

यस्तै अन्य मसिनमा सेन्सर भए पनि हात नहटाएसम्म सेनिटाइजर झरिरहन्छ । तर यस मसिनमा एक पटकमा एक सेकेण्डका लागि एक मिलिलिटर सेनिटाइजर झर्दछ ।

यसमा हात राखेको तीन सेकेण्डमा एक मिलिलिटर स्यानिटाइजर निस्किएर स्वतः बन्द हुन्छ । साथै यस मसिनबाट निस्कने सेनिटाइजरको परिमाण पनि आवश्यकताअनुसार बढाउन तथा घटाउन सकिने गरी निर्माण गरिएको छ ।

अरु मसिनमा आईआर सेन्सर प्रयोग गरिएको हुन्छ । यस मसिनमा अल्ट्रासोनिक सेन्सर प्रयोग गरिएको छ । यसको उचाइको आकारसमेत बच्चा, वयस्क तथा बुढाबुढीका लागि बढाउन तथा घटाउन सकिन्छ ।

दुई लिटर क्षमताको सेनिटाइजर कन्टेनर भएको (आवश्यकताअनुसार सेनिटाइजर भण्डारणमा पाइप जोडेर बढाउन सकिने) उक्त मसिनमा सेन्सरको प्रयोग गरिएको छ । यसमा माइक्रो कन्ट्रोलर सर्किट प्रयोग गरिएको काजी खानले बताए ।

सो कन्टेनरमा सेनिटाइजरको अलावा साबुनपानी वा स्याम्पुसमेत राखेर प्रयोग गर्न सकिने काजीले टेकपानालाई बताए ।

स्थानीय सामग्रीहरुको प्रयोग गरेर निर्माण गरिएको यो मसिन अन्तर्राष्ट्रिय ब्राण्डभन्दा धेरै प्रभावकारी रहेको काजीकाे दाबी छ ।

बाल्ट्रा जस्ता अन्तर्राष्ट्रिय ब्राण्डहरुले हाल यस्तो किसिमको अटोमेटिक सेनिटाइजर मसिन प्रति युनिट १० हजारमा बिक्री गरिरहेको अवस्थामा यो मसिन बजार मूल्यभन्दा सस्तोमा उपलब्ध गराउने काजी बताउँछन् ।

सेन्सरयुक्त मसिनबाट आफैं सेनिटाइजर खस्ने हुँदा मसिनमा हात छोएर संक्रमण फैलिने जोखिम न्यून हुन्छ । साथै मसिनबाट प्रति सेकेण्ड एक मिलिलिटर सेनिटाइजर झर्ने हुँदा खपत पनि कम हुन्छ । हाल यो मसिनको परीक्षण पूर्ण रुपमा सफल भइसकेको छ ।

आफूहरुले निर्माण गरको यो मसिन नवीन विशेषतासहितको नेपालको पहिलो सेन्सरयुक्त सेनिटाइजर मसिन भएको उनीहरुले बताएका छन् ।

मसिनकाे माग भए व्यवसायिकरुपमा पनि अगाडि लिएर जाने यी युवाहरुको योजना छ । तर हाल निषेधाज्ञाको कारण मसिनको बजारीकरणमा उनीहरूले समस्या देखेका छन् । तर बजारमा माग भए सय वटा मसिन बनाउन सक्षम रहेकाे उनीहरु सुनाउँछन् ।

नुवाकोटका स्थानीय तह तथा सरकारी कार्यालयले आफूहरुको सेटिनाइजर मसिन खरिद गरिदिए मात्रै पनि यस्ताे विज्ञान प्रविधि प्रवर्द्धनात्मक कार्यलाई हौसला मिल्ने उनीहरुको अपेक्षा छ ।

सेन्सरयुक्त ह्याण्ड सेनिटाइजर मसिनबाहेक यी युवाहरुले हालसम्म स्वचालित हाेम कन्ट्रोल मसिन, अटोमेटिक वाटर ट्यांक कन्ट्रोल प्रणालीलगायत उपकरणहरुको व्यवसायिक उत्पादन गरिसकेका छन् ।

आफूहरुले निर्माण गरेको उक्त मसिनलाई कसैले खरिद गर्न चाहेमा प्रि-अर्डर दिनसक्ने साथै लगानीका लागि इच्छुक हुनेहरुले समेत सम्पर्क गर्नसक्ने काजीले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१