close

१६० देशबाट अब सहजै ईसेवा वालेटमा रेमिट्यान्स पठाउन सकिने

टेकपाना टेकपाना

असार १६, २०७८ १६:४९

१६० देशबाट अब सहजै ईसेवा वालेटमा रेमिट्यान्स पठाउन सकिने

काठमाडौं । विश्वकै अग्रणी रेमिट्यान्स् सेवाप्रदायक तथा युरोनेट वर्ल्डवाइड इंकको सब्सिडेरी कम्पनी रिया मनी ट्रान्स्फर र एफवानसफ्टको भगिनी कम्पनी ईसेवा मनी ट्रान्स्फरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।

यो सम्झौतासँगै नेपालीहरूले रियाको सञ्जालमा रहेका विश्वका एक सय ६० देशका ४ लाख ७५ हजारभन्दा धेरै स्थानहरूबाट सहजै ईसेवा वालेटमा रेमिट्यान्स् पठाउन सक्ने बताइएकाे छ ।

यो सम्झौताले यसले ‘डिजिटल भुक्तानी इकोसिस्टम’ तीव्र रूपमा निर्माण भएका नेपालजस्ता देशहरुमा रेमिट्यान्स्कोे क्षेत्रमा ठूलो सहयोग पुग्ने विश्वास गरिएकाे छ ।

रियासँग अब नेपालको पहिलो र अग्रणी डिजिटल वालेट सेवाप्रदायक ईसेवाका ४२ लाख बढी ग्राहकसम्म पहुँच हुनेछ ।

रिया मनी ट्रान्स्फरका ग्लोबल सीईओ शौन फिल्डरले भने, ‘हामी नेपालमा ईसेवा मनी ट्रान्स्फरसँग साझेदारी गर्न पाउँदा निकै उत्साहित छौं । हाम्रो सहकार्यले यस क्षेत्रमा नयाँ अवसरहरु ल्याउनेछ र सुलभ, सुविधाजनक र किफायती रेमिट्यान्स् सेवामार्फत प्रवासी समुदायलाई सहयोग गर्ने हाम्रो प्रतिवद्धतालाई जारी राख्न सहयोग पुर्याउनेछ ।’

एफवान सफ्ट इन्टरनेशनलका प्रमुख विश्वास ढकालले भने ‘अन्तरदेशीय रेमिट्यान्स्मा विश्वको अग्रणी कम्पनी रियासँग साझेदारी गर्नु २००९ देखि नेपालमा दिगो डिजिटल भुक्तानी इकोसिस्टम निर्माण गर्ने हाम्रो यात्राको महत्वपूर्ण कोसेढुङ्गा हो । हामी वैकल्पिक भुक्तानी सेवाहरू प्रदान गर्ने र वित्तीय सेवामा अधिक पहुँच पुर्याउने मात्र होइन, विश्वभरी रहेका नेपालीहरूका लागि पैसा पठाउँदा लागत घटाउने दिशामा काम गर्न उत्साहका साथ लाग्नेछौं ।’

यस सहकार्यले नेपाललाई फिन्टेकमा आधारित रेमिट्यान्स सेवाका लागि उदयीमान बजारका रूपमा स्थापित गरेको छ जहाँ, डिजिटल रेमिट्यान्स्ले जटिल भूगोल र ३ करोड जनसंख्यालाई परम्परागत किसिमको रेमिट्यान्स् कारोबारमा भइरहेका चुनौतीहरुको समाधान गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५